ब्राजिलका कारण नेपाली व्यवसायीहरु मारमा

काठमाडौँ,भदौँ २३ । ब्राजिल खेलसँगै आर्थिक रूपमा बलियो भएको राष्ट्र हो । ब्राजिल भन्ने बित्तिकै सबैलाई फुटबलको याद आउँछ । नेपालमा लाखौँ दर्शकहरु ब्राजिलियन फरवार्ड नेयमारका फ्यान छन् । त्यो स्वभाविकै हो । नेपालदेखि कोशौ सीमापारिको राष्ट्र ब्राजिलको अर्थतन्त्रको प्रभाव नेपालमा पर्छ भन्दा केहीलाई विश्वास नलाग्न पनि सक्छ ।

यदाकदा हामीले सुन्ने गरे पनि त्यो कुरा पत्याउन गाह्रो भइरहेको छ । अहिले ब्राजिलमा चिनीको उत्पादन बढेसँगै नेपाली व्यवसायीहरु चिनीको मूल्यको मारमा परेका छन् । ६ महिना अगाडि विश्व बजारमा चिनीको मूल्य प्रति टन ५ सय ३० अमेरिकी डलर थियो । आजको दिनमा चिनीको मूल्य अन्तर्राष्ट्रिय मूल्य प्रति टन ३ सय ८० अमेरिकी डलरमा झरेको छ ।

रिलायन्स स्पिनिङ मिल्सका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको असर नेपाली उद्योगीलाई परेको बताउँछन् । ‘अहिले स्वदेशी उद्योगबाट चिनी किन्नुभन्दा आयात गरेर बिक्री गर्नु फाइदा हुने अवस्था छ,’ अग्रवालले भने,‘सरकारले भन्सार दरमा पुनरावलोकन नगरेमा स्वदेशी चिनी उद्योगको भविष्य सङ्कटमा पर्छ।’

नेपालमा चिनीको माग स्वदेशी उद्योगबाट उत्पादन हुने चिनी तथा साल्ट ट्रेडिङले आयात गर्ने र निजी क्षेत्रबाट आयात भएर आउने चिनीबाट पुरा हुँदै आएको छ । साल्ट ट्रेडिङले चिनी आयात गरिसकेको छ । सरकारले १ प्रतिशत भन्सार महशुलमा चिनी आयात गर्न साल्ट ट्रेडिङलाई दिने गर्छ । निजी क्षेत्रबाट चिनी आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गर्छ ।

चिनी उद्योगीले अन्तर्राष्ट्रिय रूपमा चिनीको मूल्य घट्दै गएको हुँदा चिनीमा लाग्ने भन्सार शुल्क बढाउन माग गरेका छन् । ‘भारतले पनि चिनी आयातमा लाग्ने भन्सारलाई बढाइसकेको छ’,अग्रवालले भने,‘स्वदेशी चिनी उद्योगी बचाउनको लागि चिनी आयातमा लाग्ने भन्सारलाई ४० प्रतिशतसम्म पुर्याउनुपर्ने हुन्छ।’

उनले चिनीको मूल्य अन्तर्राष्ट्रिय क्षेत्रमा हुने सानो उतारचढावले पनि घट्ने बढ्ने विषय सरकारले बुझ्न नसकेको बताए । ‘आयात गरिएको चिनी यहाँ उत्पादन भएको भन्दा महँगो हुने अवस्था छ’अग्रवालले थपे,‘सरकारले समयमा निर्णय नगरेमा चिनी उद्योग धरासायी हुन्छ।’

चिनीको उत्पादन ब्राजिल,अर्जेन्टिना लगायत देशमा बढी हुन्छ । अहिले ब्राजिलको अर्थतन्त्र समस्यामा छ । ब्राजिलबाट निर्यात हुने वस्तुमा चिनी अग्रस्थानमा पर्छ । चिनीको कमोडिटीज बजारमा सूचिकृत भएर कारोबार हुने गर्छ । मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेस सुरेन्द्रन ब्राजिलले चिनीको उत्पादन बढाएको कारण विश्व बजारमा चिनीको मूल्य घटेको बताउँछन् ।

‘विश्वभर नै अहिले चिनीको मागभन्दा आपूर्ति बढी भएको छ,’ सुरेन्द्रनले क्लिकमाण्डूसँग भने,‘तत्काल चिनीको मूल्य बढ्ने सम्भावना देखिएको छैन।’ उनलको विश्लेषणमा ब्राजिल अर्थतन्त्रमा सुधार ल्याउनको लागि निर्यात बढाउनेमा जोड दिएको हुँदा चिनीको उत्पादन बढ्दा मूल्य घटेको हो ।

चिनीको विश्व बजारमा हुने राजनीति र विश्व अर्थतन्त्रको प्रभाव भने चिनी उद्योगमा पर्छ । चिनी आयातको लागि भन्सार शुल्क १५ प्रतिशतको नीति परिवर्तन नगर्दा देशमा चिनी उद्योगमा भएको लगानी पनि डुब्ने र यसको मार किसानदेखि सबैलाई पर्ने उद्योगी अग्रवाल बताउँछन् । ‘अहिले चिनीको मूल्य घटेको मार व्यवसायीलाई परेको देखियो,’उनले भने । क्लिकमाण्डुबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *