कुन माइक्रोफाइनान्स कति सुरक्षित ? हेर्नुहोस्, वित्तीय विवरण

भदाै २२, काठमाडाै । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण माइक्रोफाइनान्स (लघुवित्त) कम्पनीहरूले नेप्सेमा पेस गरेका छन् । जसलार्इ मध्यनजर गर्दा समग्रमा लघुवित्त कम्पनीहरूको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ । नेप्सेमा सूचीकृत ३२ वटा लघुवित्तमध्ये निधर्न उत्थान विकास बैङ्कको खुद नाफा निकै राम्रो देखिएको छ । निर्धनले झन्डै आफ्नो चुक्ता पुँजीकै हाराहारीमा नाफा गरेको छ ।

हाल निर्धनको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । भने, सबैभन्दा धेरै चुक्ता पुँजी रहेको छिमेक लघुवित्तको ८३ करोड ४० लाख ७१ हजार रुपैयाँ छ । हालैमात्र नेप्सेमा सूचीकृत भएको महुली सामुदायिक लघुवित्तको प्रतिसेयर नेटवर्थ भने अरू सबै माइक्रोफाइनान्सको भन्दा धेरै छ । यसको प्रतिसेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ । महुलीको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा छ । यो लघुवित्त कम्पनीहरुमध्ये दोस्रो बढी प्रतिसेयर आम्दानी हो । यता, प्रतिसेयर आम्दानीमा फरवर्ड कम्युनिटी सबैभन्दा अघि देखिन्छ । फरवर्डको प्रतिसेयर आम्दानी १२५ रुपैयाँ ३४ पैसा छ । फरवर्ड हालै मात्र नेप्सेमा सूचीकृत भएको हो ।

माइक्रोफाइनान्सहरू मध्य सिभिल लघुवित्त सबैभन्दा कमजोर फाइनान्सका रूपमा देखिएको छ । उसको रिजर्भ कोष, नाफा, प्रति सेयर आम्दानी र नेटवर्थ निराशाजनक देखिएको हो । सिभिलले ६२ लाख ७४ हजार आम्दानी गरेता पनि रिजर्भ कोषमा १८ लाख ६५ हजार रूपैयाँमात्र जम्मा गरेको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९८ पैसा र नेटवर्थ १०१ रुपैयाँ ७८ पैसा छ ।

माइक्रोफाइनान्स कम्पनीहरूको सेयर मूल्यमा उतारचढाव धेरै हुने गरेको छ । माइक्रोफाइनान्सको एकै दिनको कारोबारमा पनि सेयर मूल्यमा उल्लेख्य वृद्धि वा गिरावट हुने गरेको छ । यसले गर्दा अल्पकालीन कारोबारीलाई पनि माइक्रोफाइनान्सप्रति आकर्षण हुने गरेको पाइन्छ । आम लगानीकर्तालाई पनि यी कम्पनीको वित्तीय विवरणमा उत्तिकै चासो हुने गरेको छ । लघुवित्त कम्पनीको भाउमाथि नै रहेकाले केही जोखिम भए पनि फाइदा पनि उच्च हुने हुँदा लगानीकर्ताको आकर्षण यसमा बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *