चितवनमा ‘स्क्रब टाइफस’ र ‘स्वाइनफ्लु’बाट १६ जनाको मृत्यु, १ हजार १४६ संक्रमित

चितवन, भदौ १९ । नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो । एक हजार १४६ जनामा ती रोगको संक्रमण भेटिएका छन् ।

गत माघदेखि आजसम्मको तथ्यांकबारे जानकारी दिँदै महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.विवेककुमार लालले मौसमी ज्वरोमध्ये पनि ‘इन्फ्लुएन्जा–ए’ को प्रकोप बढी देखिएको बताए । उनका अनुसार ‘स्क्रब टाइफस’ नेपालका ३२ जिल्लामा देखिएको र ३०० जनामा रोगको संक्रमण फेला परेको छ ।

‘स्क्रब टाइफस’बाट स्याङ्जामा दुई र चितवनमा दुईजनाको मृत्यु भएको छ । नवलपरासी घर भएका दुई महिलाको चितवनमा उपचारका क्रममा साउन २२ र भदौ १० गते मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीको भनाइ छ ।

‘माइट’ नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा ‘स्क्रब टाइफस’ सर्दछ । यो रोग मुसाको कानमा बस्ने गर्छ । नेपालमा २०७२ सालमा पहिलोपटक रोग देखापरेको थियो भने चितवनमा २०७३ सालमा देखिएको थियो ।

अघिल्लो वर्ष यहाँ मुसा र ‘माइट’मा गरिएको परीक्षणमा दुवैमा ‘स्क्रब टाइफस’ संक्रमण पुष्टि भइसकेको छ । समयमै अस्पताल पुगेमा कुनै पनि रोगको ठूलो जोखिम भने नभएको चिकित्सकको भनाइ छ ।

मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने भएकाले काम गर्दा सावधानी अपनाउनुपर्ने र मुसा नियन्त्रणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ ।

यस्तै मौसमी रुघाखोकीबाट मृत्यु भएका १२ जनामध्ये सबैभन्दा बढी कास्कीका छन् । विभिन्न अस्पतालमा उपचार गरिएका कास्की घर भएका चार जनाको मौसमी रुघाकोकीबाट मृत्यु भएको तथ्यांक छ ।

यस्तै, अन्य मृत्यु हुनेमा पाल्पाका दुई, स्याङ्जाका, बुटवल, ललितपुर र कास्कीका एक–एक तथा झापाका दुईजना बिरामीको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.लालले जानकारी दिए ।

उनका अनुसार पछिल्लो आठ महिनामा दुई हजार ५३१ जनाको परीक्षणमा ८४६ जनामा मौसमी रुघाखोकीको संक्रमण भएको पाइएको छ । तीमध्ये १२ जनाको ज्यान गएको हो । दुई जनाको भारतमा उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना भने नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।

काठमाडौंको सुविधायुक्त अस्पतालमा उपचारका क्रममा अधिकांश बिरामीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

चितवनको भरतपुर अस्पतालका फिजिसियन डा.कालिदास अधिकारीका अनुसार ‘फ्ल’ुमा ‘ए पोजिटिभ’ भएका बिरामी बढी देखिएका छन् । उनीहरुमा ‘ए एच–१ एन–१’ को बढी जोखिम हुने गरेको उनी बताउँछन् । यसलाई सर्वसाधारणले ‘स्वाइनफ्लु’ भनेर चिन्ने गर्छन् । ‘स्वाइनफ्लु’ लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण देखिन्छ ।

ज्वरो रुघाखोकी आएर दुई–तीन दिनमा ठीक नभए विशेषज्ञ चिकित्सक भएको असपतालमा उपचार गराउनुपर्ने सुझाव चिकित्सकको छ ।

ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको इपिडिमियोलोजी शाखा प्रमुख डा.गुणनिधि शर्मा बताउँछन् । दुवै रोगको बढी संक्रमण भने चितवनमै छ । आजसम्म चितवनमा स्क्रब टाइफसबाट १३९ र मौसमी रुघाकोकीबाट ३०९ जनामा संक्रमण फेला परिसकेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *