उत्तर कोरियाद्वारा हाईड्रोजन बमको परीक्षण, परीक्षणका क्रममा कम्पन

एजेन्सी । आइतबार उत्तर कोरियाले हाईड्रोजन बमको परीक्षण गरेको छ । साथै कोरियाले उक्त हाईड्रोजन बमलाई मिसाइलमा लोड गर्न सकिने दाबी पनि गरेको छ । यही परीक्षणका क्रममा उत्तर कोरिया लगायतका आसपासका क्षेत्रमा ५.६ रेक्टर स्केलको भूकम्पको ठुलो झड्का आएको थियो ।

आइतबार उत्तर कोरियाले परीक्षण गरेको उक्त आणविक बम १९४५ मा जापानको नागासाकी सहरमा विस्फोट गरिएको बमभन्दा चार–पाँच गुणा बढी शक्तिशाली रहेको दक्षिण कोरियाको सरकारी समाचार सेवाले जनाएको छ । दक्षिण कोरियाको सरकारी समाचार सेवा योनहेपले यो हाईड्रोजन बम गत वर्ष परीक्षण गरिएका पाँचै वटै आणविक बम भन्दा निकै शक्तिशाली भएको अनुमान गरेको छ ।

सन् २०१६ को सेप्टेम्बर मा गरिएको परीक्षणमा १० किलोटन ऊर्जा उत्पन्न भएको थियो । एक किलोटन बराबर १००० टन टिएनटी हुन्छ । कम यङ्ग वू ले भने, “उत्तर कोरियाको परीक्षणबाट १०० किलोटन ऊर्जा उत्पन्न भइसकेको छ, जबकि यो सुरुवाती रिर्पोट मात्र हो ।”

यो भन्दा पहिला पनि उत्तर कोरियाले २००६, २००९, २०१३ र २०१६ मा आणबिक हतियारहरूको परीक्षण गरिसकेको छ । आइतबार गरिएको उक्त बम परीक्षण यति शक्तिशाली थियो कि यसको कम्पन रुसको पूर्वी सहर व्लादिवोस्टकसम्म महसुस गरिएको थियो । त्यस्तै, जापानको मौसम विभागका अनुसार भूकम्पको कम्पन जापानमा पनि महसुस गरिएको थियो ।

आइतबार गरिएको उक्त आणविक बमको कारण आएको भूकम्प पछिल्ला परिक्षणहरुबाट हुने कम्पनभन्दा १० गुना शक्तिशाली रहेको जापानको मेट्रोलोजिकल एजेन्सीले जनाएको छ । रक्षा विशेषज्ञ मेलीसा हेनहेमका अनुसार अमेरिकी भूगर्भ विज्ञान केन्द्रले सुरुवातमा भूकम्पको तीव्रता ५.६ बतायता पनि पछि त्यसलाई बढाएर ६.३ बताएको थियो ।

मेलीसाले यदि यो सटीक भएको खण्डमा यो विस्फोट उत्तर कोरियाकै सबैभन्दा शक्तिशाली विस्फोट भएको बताएका छन् । रक्षा विशेषज्ञ ब्रुस बेनेटले भूकम्पको तीव्रता ६.३ हुनु भनेको उत्तर कोरियाले निकै शक्तिशाली हतियारको परीक्षण गरेको बुझ्न सकिने बताए ।

राष्ट्रिय सुरक्षा परिषदको बैठक पछि जापानका विदेश मन्त्री टारो कोनोले उक्त कम्पनको कारण भूकम्प नभएर आणविक परीक्षण नै रहेको नतिजामा पुगेको बताएका थिए । जापानले आणविक विकरण पत्ता लगाउनको लागि ३ वटा सैन्य विमानहरु परीक्षण केन्द्र माथिको आकाशमा उडाएको समेत थियो ।
बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *