निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्रति नेताहरूको असन्तुष्टी

भदाै १६, काठमाडाै । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदन प्रति राजनीतिक दलका नेताहरुले असन्तुष्टी जनाएका छन् । आयोगले राजनीतिक प्रभावमा प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन क्षेत्र निर्धारण गरेको भन्दै नेकपा एमाले र संघीय समाजवादी फोरमका नेताले असन्तुष्टी जनाएका हुन् ।

चितवनको भरतपुरमा भएको पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जनसंख्या, भूगोल, सुविधा, मतदाता, सामथ्र्य, पहुँच, जातीय विविधिकरण लगायतका विषयमा आयोगले ध्यान दिन नसकेको टिप्प्णी गरे । आयोगको प्रतिवेदनमा धेरै कुरा नमिलेको बताउँदै नेपालले राजनीतिक प्रभावबाट मुक्त भएर क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिए ।

यसैगरि, संघीय समाजवादी फोरम नेपालका संयोजक उपेन्द्र यादवले पनि आज विज्ञप्ती निकालेर क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको बताए । आयोगले प्रतिवेदनमा संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशमा मधेशी बाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेशी बहुल क्षेत्रमा गाभ्ने काम गरी मधेशमैं मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको र मधेशी समुदायप्रति पूर्णरुपले विभेद गरेको आरोप विज्ञप्तीमा लगाइएको छ ।

आयोगले संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन अस्ती सरकारलाई बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *