नवराज सिलवालको मुद्दामा भदौ २७ गते फैसला हुने

काठमाडौं, भदौ १५ । प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुने भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले वादी र प्रतिवादी दुवै पक्षको बहस सुनेको थियो । बिहीबार (आज) सुनुवाइ सकिएको छ ।

सिलवालले कार्यसम्पादन र मूल्यांकनमा आफू पहिलो स्थानमा हुुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको जनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

गत साउन १९ गते बहस नसिकएपछि बिहीबार (आज)का लागि पेशी तोकिएको थियो । सिलवालका पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट तथा अधिवक्ता टीकाराम भट्टराई, दीपेन्द्र झालगायत बहस गरेका थिए । सरकारका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमण श्रेष्ठले समेत बहस गरेका थिए ।

सरकारले प्रहरी महानिरीक्षकमा चन्दलाई बढुवा गरेपछि सिलवालले आफूलाई अन्याय भएको जनाई निवेदन भएको थियो । त्यसको सुनुवाइमा अदालतले कार्यसम्पादन र मूल्यांकनका आधारमा बढुवा गर्न परमादेश दिएको थियो । अदालतको उक्त आदेशपछि सरकारले प्रहरी महानिरीक्षकमा अर्याललाई बढुवा गरेको थियो ।

अर्यालविरुद्ध पनि सिलवालले निवेदन दायर गरेका थिए । त्यसको सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो । त्यसपछि आज बहस सकिएर निर्णय सुनाउने तय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *