बेलायतमा नेपालीहरूको अवस्था र एनआरएनको भूमिका

“
गैर आवासीय नेपाली सङ्घ (एनआरएन) विश्वका विभिन्न मुलुकहरूमा बसोबास र काम गर्दै आएका नेपालीहरूको संर्वोत्तम हितका लागि सङ्गठित भएको संस्था हो । एनआरएन स्वतन्त्र, गैर नाफामुलक, गैर राजनीतिक, गैर सरकारी संस्थाको रूपमा स्थापित भएकोले यसले आम प्रवासी नेपालीहरूलाई एउटै छातामुनी सङ्गठित गर्ने काम गरिरहेको छ । विश्वका विभिन्न देशमा यसले आफ्नो सङ्गठन विस्तार गरिरहेको अवस्थामा प्रजातान्त्रिक पद्धतिको अनुपम नमुना रहेको बेलायतमा समेत यसको उपस्थिति महत्त्वपूर्ण छ ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) यूकेको ९ सेप्टेम्बरमा हुने अधिवेशन आउन करिब एक साता बाँकी रहँदा अबको नेतृत्व कस्तो हुनुपर्छ भनेर आम बेलायतमा रहेका नेपालीहरुमा चासो बढेको छ ।
बेलायतमा नेपालीहरूको प्रवेश
विश्व आर्थिक क्रान्तिमा अग्रसर भइरहँदा हामी नेपालीका पुर्खाहरू पहिलो र दोस्रो विश्वयुद्धसँगै ब्रिटिस सेनामा जान थाले । फलस्वरुप बिस्तारै बेलायतमा उनीहरूको उपस्थिति बढ्दै गयो । सन् १९९० सम्म आइपुग्दा बेलायत विकासको पथमा लम्किसकेको थियो । बेलायतको यो विकास र आर्थिक क्रान्तिबाट नेपाल पनि अछुतो रहन सकेन । ब्रिटिस आर्मीमा भर्ती भएर आउने नेपालीहरुसँगै यहाँ आएर उच्च शिक्षा हासिल गर्ने र करियर बनाउने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ । अहिले २०१७ को सेरोफेरोमा बेलायतमा करिब दुई लाख भन्दा बढी नेपालीहरूको सङ्ख्या रहेको देखिन्छ ।
नेपालीहरूको अवस्था
बेलायतमा रहेको अधिकांश नेपालीहरू अध्ययनका सिलसिलामा आएका छन् । ब्रिटिस सरकारले बेलायती भूपू गोर्खाहरुका परिवारलाई आवासीय सुविधा प्रदान गरेपछि धेरै भूपू गोर्खाहरु यहाँ आएका भए पनि उनीहरूको अनुपातमा विद्यार्थीहरूको सख्या बढ्दो छ । त्यसपछि अध्ययनको सिलसिलामा बेलायत आएर यहीँ व्यवसाय, रोजगारी गरेर स्थापित भएका नेपालीहरूको सङ्ख्या पनि पछिल्लो समयमा बढ्दो छ । विद्यार्थी, भूपू आर्मीका परिवार र ब्यवसायीहरु मध्ये कुनको सङ्ख्या बढी छ भनेर कोहीसँग पनि यकिन तथ्याङक नभएको अवस्था छ ।
बेलायतमा अध्ययन गर्न आएका विद्यार्थीहरू मध्ये अधिकांशहरु यहीँ सेटल हुने सोचमा आएको हुन्छन् । भूपू ब्रिटिस आर्मीका परिवारमा भने, आफ्नो रिटायर्ड जीवन सहज बनाउने तथा आफ्ना छोराछोरीको भविष्य उज्वल बनाउने अभिलाषा रहेको छ । पछिल्लो समय व्यापारिक, व्यावसायिक रूपमा पनि बेलायत प्रवेश गर्नेहरुको सङ्ख्या थपिँदो छ । खास गरी एनआरएनको बेलायतमा उपस्थितिसँगै यहाँ नेपाली व्यापारी, उद्योगीहरुको उपस्थिति बढेको छ ।
बेलायतमा अध्ययनको क्रममा आएका अधिकांश विद्यार्थीहरू विभिन्न रोजगार मूलक क्षेत्रमा पनि छन् । यहाँ नेपालीहरू व्यापार व्यवसायसँगै शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग कलकारखाना, पर्यटन क्षेत्रमा आबद्ध छन् । बेलायत प्रजातन्त्रको उद्गम स्थल भएकोले यहाँ काम र श्रमलाई सबैले सम्मान गर्ने भएकोले जुनसुकै क्षेत्रमा आबद्ध भएकाले पनि एक अर्कालाई सम्मानित नजरले हेर्ने गरिन्छ ।
एनआरएनको उपस्थिति
प्रवासमा रहेका नेपालीहरूलाई एकबद्ध गरी देश निर्माण गर्न तथा प्रवासी नेपालीहरूका हक अधिकार सुरक्षित गर्नका लागि एनआरएनको स्थापना भएकोमा दुईमत छैन । बेलायतमा एनआरएन स्थापना भएको दशक नाघिसक्दा पनि कतिपय विषयमा एनआरएनले सबै नेपालीहरूलाई समेट्न सकेको छैन । भूपू गोर्खा परिवार र नेपाली विद्यार्थीहरुका विषयमा काम गर्न नसकेको कुरा बारम्बार उठिरहेको छ । कतिले एनआरएनलाई धनीमानीहरु, ब्यापारीहरुको सङ्गठन पनि भनेर मान्दछन् । एनआरएनले आफ्नो मातृभूमि नेपालका निमित्त जतिपनी काम गरिरहेको छ त्यस्ता कामहरुमा बेलायतमा रहेका सबै नेपालीहरूले अपनत्व कायम गर्न नसकेको कुरा उठेको छ ।
समस्या र चुनौतीहरू
भूपू गोर्खाहरुले समान पेन्सन र सुविधाको कुरा उठाउँदै आन्दोलन गरेको वर्षौ भईसक्दा एनआरएनले देखावटी समर्थन बाहेक कुनै कदम चाल्न सकेको छैन । यसले भूपूहरुमा एनआरएन भनेको व्यापारी र पहुँचवालाको मात्रै सङ्गठन हो भन्ने बुझाई बढ्दो छ ।
अर्को एनआरएनले यहाँका विद्यार्थीका विषयमा पनि आवाज उठाउन सकिरहेको छैन । खास गरी विश्वविद्यालय र कलेज तहमा धेरै नेपाली विद्यार्थीहरू समस्यामा परेका छन् । चर्को शुल्क वृद्धि, गैरकानुनी कलेज र उनीहरूले पाउने पार्ट टाइम जवको सुविधाका विषयमा समस्या छ । यो विषयलाई एनआरएनले जोडतोडका साथ उठाउन आवश्यक छ । बेलायतमा आएका भूपू ब्रिटिस आर्मीका परिवारमा यति बेला सामाजिक, सांस्कृतिक समस्या पनि देखापरेको छ । रिटायर्ड लाइफमा बेलायत आएका भुपू गोर्खाहरुमा भाषिक, सांस्कृतिक समस्या देखा परेको छ भने, उनीहरूलाई हेरचाह गर्ने व्यक्ति नहुँदा विभिन्न समस्या छ । यो कुरालाई दृष्टिगत गरी एनआरएनले उनीहरूलाई आफ्नै देश (नेपाल) मा समान पेन्सन पाउने सुविधा दिनका लागि पहल गर्न सकेमा धेरै ठुलो योगदान हुनेछ ।
साना व्यापारी र रोजगारीमा आबद्ध नेपालीहरू पनि एनआरएनमा आउन सकिरहेका छैनन् । यसको मूल कारण भनेकै एनआरएनमा आबद्ध हुनका लागि तिर्नुपर्ने चर्को शुल्क, आबद्ध भईसकेपछि हुने विभिन्न कार्यक्रममा दिनुपर्ने सहयोग पनि हो । एउटा सामान्य प्रवासी नेपालीले एनआरएनको सदस्यता लिन सक्ने वातावरण बनाएमा अहिले करिब तीन हजार ६ सयको हाराहारीमा रहेको सदस्यता दोब्बर वृद्धि हुन सक्थ्यो । यसका लागि सदस्यता शुल्क कम गरेर सङ्गठन विस्तार गर्न जरुरी छ ।
बेलायतमा रहेका नेपालीहरुमा देखिएको अर्को ठुलो समस्या भनेको कानुनी उपचार पनि हो । बेलायतमा पिआर लिनका लागि अपनाउनु पर्ने कानुनी प्रावधानका विषयमा अधिकांश नेपालीहरू अनविज्ञ छन् । उनीहरूलाई कानुनी सहायता दिनका लागि पनि एनआरएनले भूमिका खेलेको अवस्थामा धेरै नेपालीले राहत पाउने थिए ।
यसै गरी यहाँको ट्राफिक व्यवस्थापनका विषयमा पनि धेरै नेपालीहरू अनविज्ञ छन्, उनीहरूका लागि एनआरएनले समय–समयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । महाधिवेशनमा बेलायतभरी छरिएर रहेका एनआरएनका सदस्यहरूलाई सहभागी गराउन चुनौती छ । एनआरएनको निर्वाचनमा अनलाइन भोटिङ सिस्टमबाट निर्वाचनमा सहभागी हुने वातावरण सृजना गर्न सके त्यसले धेरै नेपालीहरूको सहभागिता बढ्ने थियो । यो विषयमा एनआरएन गम्भीर हुन जरुरी छ ।
एनआरएनले नेपालबाट आउने विद्यार्थी, उद्योगी व्यवसायी र भुपूहरुका समस्या समाधान गर्नका लागि नेपाली दूतावास र नेपाल सरकारसँग लविङ गर्न सक्नु पर्दछ । खास गरी नेपाल सरकारसँग प्रवासी नेपालीका समस्या समाधान गर्न कुटनितिक तवरबाट पहल थाल्न जरुरी छ । एनआरएन एउटा विशुद्ध सामाजिक संस्था भएकोले यसले देशको प्रतिनिधित्व गर्न सक्दैन, तर, बेलायत स्थित दूतावास र नेपाल सरकार, नेपाली राजनीतिक दलहरूसँग समन्वय गरेर काम गर्न भने अवश्य सक्छ । विगतमा एनआरएनले पद र पैसा भएकाहरुका लागि मात्र ग¥यो भन्ने ट्याग लागेको छ, अबको महाधिवेशनबाट आउने नयाँ कार्य समितिले त्यो ट्याग हटाउन जरुरी छ ।
पारदर्शिता
लामो समयदेखि एनआरएनलाई लाग्दै आएको आरोप यो पनि हो की एनआरएन पारदर्शी भएन । अर्थात्, एनआरएन भित्रको आर्थिक गतिविधि चुस्त भएन, सदस्यता वितरण र आर्थिक सहयोग सार्वजनिक गरिएन । नेपालमा आइपर्ने जस्तोसुकै विपत्तिमा एनआरएनले यहाँ सहयोग सङ्कलन गरिरहेको हुन्छ । एनआरएनको केन्द्रीय कार्यालय बनाउन समेत लाखौँ सहयोग उठाईएको छ तर, त्यस्ता सहयोग कसरी कहाँबाट आए, कसरी खर्च भइरहेका छन् स्पष्ट पार्नुपर्दछ । एनआरएन स्थापना देखि अहिलेसम्म यसको आम्दानी खर्च र कामका विषयमा स्पष्ट रूपमा सार्वजनिक नगर्दा पनि विस्वस्नीयता घटेको हो ।
सहकार्य
बेलायतमा एनआरएनसँगै अन्य विभिन्न नेपाली संगठनहरुपनि क्रियाशील छन् । यहाँ राजनीतिक दलका भातृ सङ्गठनदेखि विशुद्ध नेपाल र नेपालीका लागि खोलिएका विभिन्न सामाजिक संस्थाहरू छन् । तिनीहरूलाई एउटै संस्थामा आबद्ध गरी एनआरएन ‘माउ’ सङ्गठन बन्न सक्नुपर्दछ ।
युवाहरूको सहभागिता
हामी २१ औँ शताब्दीमा दौडिरहँदा एनआरएन भने अझैपनि पुरानै सोच र विचारबाट प्रभावित भएको छ । सङ्गठनलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम हुन सकिरहेको छैन । अथवा, अहिलेसम्मको नेतृत्वले बेलायतमा रहेका नेपाली युवाहरू विद्यार्थी र ब्यवसायीहरुलाई एकत्रित गर्न सकेको छैन । अबको महाधिवेशनले नयाँ सोच र विचार भएका सक्षम युवाहरूलाई नेतृत्व तहमा पु¥याउन आवश्यक छ । यसका लागि सामाजिक रूपमा सक्रिय युवाहरूलाई अगाडी आउने वातावरण बनाउन जरुरी छ ।
लेखक अधिकारी एनआरएनको महाधिवेशनका उपमहासचिवका उम्मेदवार हुन् ।
“








