प्रामाणिक मान्यता अनुसार मरणाशौच बार्ने र त्यसमा हलचल नगर्ने

भदाै १५, काठमाडाै । जन्म र मृत्यु सबै प्राणीमा अनिवार्य छ, यो सबैले स्वीकार गर्नै पर्दछ । मृत्युलाई टार्न सकिँदैन । मृत्यको कारण फरक फरक हुन सक्छ तर हरेक मानिसको मृत्युको स्वरूप चाहिँ एउटै हुन्छ । मानिसको मृत्यु आफैमा दु:खद घटना हो । यो दु:खद अवस्थामा मृतकका परिवार तथा आफन्तले मरेका मान्छेको माया स्नेहका कारण कुनै पनि मूल्य चुकाएर मन शान्त पार्न तयार हुनु स्वभाविक नै मानिन्छ । मृत्यु संस्कार मानिसको मृत्यु पश्चात् गरिने संस्कार भएकोले यसमा विभिन्न धर्म र संस्कृति अनुसार फरक फरक विधिहरू अपनाएको पाइन्छ ।
हिन्दु परम्परा अनुसार मृतकको लासलाई नदी किनारमा जलाउने परम्परा छ । हिन्दु शास्त्रमा मानिसको जन्मदेखि मृत्युसम्म १६ वटा अलग अलग संस्कार रहेको बताइन्छ । हिन्दुहरुका निम्ति जीवनको अन्तिम संस्कार अन्त्यष्टि संस्कार हो । मृतकका आफन्तहरुले मत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस भन्ने भावनाले यो अन्तिम संस्कार गर्ने गर्छन् । हिन्दु धर्ममा आत्मा र शरीर अलग हुनु नै भौतिक अर्थमा मृत्यु हो । प्रत्येक मृतकको आत्मा पारिवारिक मायाको कारणले आफ्नो गन्तव्य स्थानतिर नगएर घरको वरपर नै बसिरहन सक्ने र यसले हानि पुर्‍याउन सक्ने हुनाले उसको आत्मा सही स्थानमा पुगोस भनेर अन्त्येष्टि गर्ने गरिन्छ । अग्निद्वारा दाहसंस्कार गरेर मृतक आत्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरिन्छ । पितृलोक प्रस्थान गर्दा कुनै पनि कुराको अभाव नहोस भनेर खानेकुरा, लत्ताकपडा साथै मार्गदर्शनका लागि गाईदान पनि गर्ने गरिन्छ । मृत्यु भएको १३ दिन सम्म धार्मिक हिसाबले संस्कार गर्ने चलन रहेको छ ।

विश्व इतिहासको कालखण्डमा पछिल्लो दुई दशकले २ हजार वर्षदेखि चलिआएका विश्वास र मान्यतामा निकै ठुलो हलचल देखाएको छ । व्यक्तिका मागहरू आधुनिक जीवनशैलीसँगै विस्तार भएका छन् साथै अपेक्षाका धरोहरहरू चुलिएका छन् । अधिकारवादी चिन्तनले कर्तव्यप्रतिको मूल्यलाई दोस्रो श्रेणीमा फालिदिएको छ । सामूहिकताबाट व्यक्तिवादिता तर्फको यात्रा गति तीव्र रूपमा चलेको देखिन्छ । केही आशा लाग्दा र रहर लाग्दा आयामहरू थपिएका छन् । प्रविधिले निकै ठुलो फड्को मारिसकेको छ । व्यावसायिकताको संस्कार क्रमशः वयस्कतातिर उन्मुख छ । मान्छेले सुख, समृद्धि, शान्ति र सभ्यता एकैचोटि खोजेको छन् । यसै अनुरूप १३ दिन सम्म गरिने मृत्यु संस्कारलार्इ ३ वा ५ दिनमा झार्ने तयारी स्वरूप गत वर्ष अर्थात् ७३ सालको भदौमा नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालले एउटा कार्यक्रम आयोजना गरेको थियो । जसमा सहभागी धार्मिक क्षेत्रका विद्वानहरुले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दु धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्नुपर्नेमा जोड दिएका थिए । तर, देशभरका पण्डितहरु काठमाडौँ भेला भएर हिजो र आज गरेको पण्डित सम्मेलनले तीन वा पाँच दिने आशौचको हल्ला फैलाउनेलाई बहिस्कार गर्ने निर्णय गरेको छ ।

पण्डितहरूको भेला पश्चात् १५ बुदे घोषणा पत्र जारी गरिएको छ । घोषणापत्रको १ नम्बरमा नै बडो प्राथमिकताका साथ ‘सनातन धर्मानुयायीहरुले अनुसरण गर्दै आएको १५ बुँदे धर्मशास्त्रीय परम्परागत प्रामाणिक मान्यता अनुसार नै जननाशौच र मरणाशौच बार्ने र त्यसमा हलचल नगर्ने’ उल्लेख गरिएको छ । आजभोलि छोराछोरी विदेशमा रहने गर्छन् । त्यसले उत्पन्न सामाजिक समस्या, १३ दिनसम्म नुन नखाई किरिया बस्दा किरिया बस्नेको नै मृत्यु भएका केही घटनाहरू पनि छन्, वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि लामो दिनसम्म क्रिया बस्नु उपयुक्त नभएको भन्दै समय घटाउन भइरहेको पहलका बावजुद पण्डितहरुले हलचल नगर्ने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *