नेइमारको ठाउँमा आए डेम्बेले, विश्वको दोस्रो महंगो खेलाडी

काठमाडौं, भदौ १३ ।  बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गरेको छ । नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा नयाँ खेलाडीको खोजीमा रहेको बार्सिलोनाले डेम्बेलेलाई ल्याएको हो । बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा अनुबन्ध गरेको हो । यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्नेछ । उनी विश्वका दोस्रो महंगा खेलाडी बनेका छन् । २० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको हो । डेम्बेलेको मेडिकलपछि सोमबार सम्झौतामा हस्ताक्षर भएको हो । बार्सिलोनाले डेम्बेलका लागि रिलिज क्लज ३६ करोड ९६ लाख पाउण्ड राखेको छ । नेइमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्र्याउन निकै प्रयास गरेको थियो । तर तीनपटकको प्रयासमा पनि बार्सिलोना सफल हुन सकेन । बार्सिलोनाले डेम्बेले विश्वका उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएको छ । डेम्बेलेले ११ नम्बरको जर्सी लगाउने पनि बार्सिलोनाले जनाएको छ । बार्सिलोनामा ११ नम्बरको जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए । डेम्बेलेले बार्सिलोना आउनु आफ्नो सपना रहेको र यो सपना पूरा हुँदा आफू निकै खुशी रहेको बताएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *