भरतपुर अस्पतालमा निःशुल्क डायलासिस सेवा सुरु

किशोर खनाल, भरतपुर । भरतपुर अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । अस्पतालमा १२ बेडको सुविधासहित सेवा सुरु गरेको हो । नेपाल सरकारको नीति अनुसार भरतपुर अस्पतालमा निःशुल्क डायलासिस सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

धादिङ सल्यानटारकी ६२ वर्षीय धनकुमारी थपलियाको डायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए । निजी अस्पतालमा पालो नपाएपछि भरतपुर अस्पताल पुगेकी थपलियाको उपचार गरेर सेवा आरम्भ गरिएको हो ।

मृगौला फेल भएका बिरामीको रगत सफा गर्नका लागि डायलासिस गरिन्छ । एउटा बिरामीको हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने हुन्छ । डायलासिस सेवा निःशुल्क भए पनि डायलासिस गर्नका लागि आवश्यक आधारभूत बाहेकका ठुला परीक्षण र औषधिको भने शुल्क लाग्ने अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

डायलासिसको लागि आवश्यक १२ वटा उपकरणअस्पतालमा जडान गरिएको छ । डायलासिस सेवाका लागि नेपाल सरकारले उपकरण सहयोग गरे पनि त्यसको लागि आवश्यक व्यवस्थापन भरतपुर अस्पतालले गरेको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले जानकारी दिए । यो सेवा सुरुवातसँगै बिरामीलाई सरल र सहज रूपमा सेवा दिइने उनको भनाइ छ । सो सेवा सञ्चालनका लागि तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाको पालामा बजेट निकासा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =