क्षेत्र निर्धाणको काम सकियो, आयोग प्रतिवेदन बुझाउने तयारीमा
“
काठमाडौं, भदौ १२ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण गर्ने काम सकेको छ । आयोगले सरकारले समय दिने वित्तिकै प्रतिवेदन बुझाउने भएको छ । २१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण गर्न नसकेपछि आयोगले थपिएको १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।
आयोगका अनुसार सरकारले समय दिए आजै प्रतिवेदन बुझाइनेछ । आयोगले प्रदेश सभाका लागि ३३० र प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र निर्धारण गरेको छ । हरेक जिल्लाको निर्वाचन सीमा निर्धारण गरी नक्सासहितको प्रतिवेदन तयार भइरहेको छ ।आयोगले ७७ वटा जिल्लामा प्रतिनिधिसभाका लागि कम्तीमा एउटा निर्वाचन क्षेत्र हुने गरी प्रतिवेदन तयार गरेको छ ।
सोहीअनुसार ७७ जिल्लामा ७७ निर्वाचन क्षेत्र कायम भएपछि बाँकी ८८ वटा निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण भएको छ । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रदेश नम्बर ३ मा सबैभन्दा बढी अर्थात् ३३ वटा क्षेत्र हुनेछ । प्रदेश नम्बर २ मा ३२ र सबैभन्दा कम निर्वाचन क्षेत्र भने प्रदेश नम्बर ६ मा १२ वटा तय गरिएको छ । आयोगका सदस्य माधव अधिकारीले आयोगले सरकारले समय दिने वित्तिकै प्रतिवेदन बुझाउने तयारीमा रहेको जानकारी दिनुभयो ।
“