पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि

अर्घाखाँची, ११ साउन । प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बर भन्दा बढी छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार भक्तजन आउने गरेकामा अहिले दैनिक एक हजारदेखि दुई हजारजनासम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताउनुभयो ।

‘नेपाल मन्दिरै मन्दिरको देशको रूपमा चिनिन्छ र यहाँका कतिपय मन्दिरमा मासिक लाखौँ भेटी सङ्कलन भए पनि उपयोग भएको सुनिदैन तर जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको यस मन्दिरको भेटी भने विकास निर्माणका काममा उपयोग भइरहेको छ ।

मन्दिरमा चढाएको भेटीबाट खाँचीकोटस्थित आदर्श माविमा छ जना र सितापुरस्थित शान्ति निमाविमा चार शिक्षकलाई तलब उपलब्ध गराउन मासिक एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताउनुभयो । यस्तै, सन्धिखर्कमा रहेको पाणिनी वेद विद्याश्रमका लागि वार्षिक एक लाख २० हजार उपलब्ध गराउनुका साथै अन्य विकास निर्माणका काममा पनि सहयोग उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष सो मन्दिरमा रु. ६० लाख आम्दानी भएको थियो भने यसवर्ष रु ८० लाख पुग्ने अनुमान छ । वैशाख १ गते नयाँ वर्षको दिन १२ हजार भन्दाबढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा एक लाख नौ हजार आठ सय भेटी सङ्कलन भएको उहाँको भनाइ छ ।

मन्दिरको दर्शनका लागि अर्घाखाँची, कपिलबस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाटसमेत धार्मिक पर्यटक सुपादेउरालीमा दर्शन गर्न आउने गरेका छन् । विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले विद्यालय सञ्चालनमा सहज भएको आदर्श मावि प्रधानाध्यापक डिल्लीराज थापाले बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकम दुरुपयोग नगरी मन्दिर सञ्चालन विद्यालय सञ्चालन, विकास निर्माण, बिरामीको उपचारमा सहयोग गर्दै आएको छ । धेरै भेटी सङ्कलन हुने नेपालका अन्य ठुला मन्दिरमा पनि उठेको भेटी पनि यसै गरी सामाजिक काममा लगाउनुपर्नेमा समितिका उपाध्यक्ष गोवद्र्धन थापाले जोड दिनुभयो । सुपादेउराली नजिकै नरपानीको डाँडाको मनोरम दृश्यका साथै विभिन्न हिमाल देखिने भएकाले यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पुग्ने देखिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *