सामुद्रिक आँधीले अमेरिकाको टेक्सस प्रभावित

एजेन्सी । हार्वी नामको सामुद्रिक आँधीले अमेरिकाको टेक्सस राज्यको जनजीवन प्रभावित बनेको छ । आँधी २१५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको बताइएको छ । विगत १३ वर्षमा अमेरिकी तटमा आउने यो सबैभन्दा ठुलो आँधी भएको बताइएको छ । यद्यपि पछिल्लो समय केही सुस्त भएको छ। अहिलेसम्म तटीय क्षेत्रमा ४२ सेन्टिमिटर वर्षा भइसकेको छ ।

तीव्र बाढी आउने खतरा भने कायमै रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । हार्वी चक्रवातको हावाको स्तरको क्याटेगोरी–४ बाट कम भएर क्याटेगोरी १ गरिएको बताइएको छ । आँधीका कारण कतिपय नागरिक भवनहरुमा फसेको हुनसक्ने आशङ्का गरिएको छ । आँधीसँगै विद्युत् सेवा ठप्प छ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आपत्कालीन सेवाकर्मीको प्रशंसा गर्दै भनेका छन्–तपाईहरु महान् काम गरिरहनु भएको छ, संसार हेरिरहेको छ, सुरक्षित रहनुस् ।

आँधीबाट सबैभन्दा बढी प्रभावित करिब दश हजार जनसङ्ख्या रहेको रकपोर्ट सहरमा भएको छ । आपत्कालीन सेवाका अनुसार यहाँका कयौ भवनमा क्षति पुगेको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्वीरहरुमा ढलेका रुख र भवन देखिएका छन् ।

रकपोर्टमा आँधी आइपुग्दा हावाको गति २०० किलोमिटर प्रतिघण्टा मापन गरिएको छ । रकपोर्टका मेरले सहरमा ठुलो क्षति भएको बताएका छन् । उनले सहरमा कयौ घर भत्केको र त्यसको भग्नावशेषमा नागरिक फसेको हुनसक्ने बताएका छन् । सहरमा विद्युत् सेवा बन्द रहेको र चारैतिर भग्नावशेष रहेकाले खोजी र उद्धारमा समेत समस्या आएको उनले बताए ।

भारी वर्षाका कारण प्रान्तीय नदीहरुको जलस्तर तीव्रताका साथ बढिरहेको छ । एक अधिकारीका अनुसार एउटा जेलबाट करिब पाँच हजार कैदीलाई सुरक्षित निकाल्ने प्रयास भइरहेको छ । अमेरिकाको राष्ट्रिय चक्रवात केन्द्रका अनुसार हार्वी चक्रवातका कारण लाखौँ प्रभावित हुन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *