बाढीले विपन्न परिवारको विचल्ली

भदौ ११, मकालु खबर । बाढीको भेलले एकमात्र सहारा खरको छाप्रो बगाएपछि महोत्तरीको गौशाला नगरपालिका–४ की ३५ वर्षकी एकल महिला रवियादेवी चमार अहिले अलपत्र परेकी छिन् । उनले अहिले छिमेकीसँग मागेर छाक टार्दै आएकी छन् ।

श्रीमानको ७ वर्ष अगाडि निधन भएपछि आफ्ना कलिला तीन सन्तानको लालन पालनको जिम्मा उहाँको काँधमा थपियो । सन्तानलाई उज्यालो भविष्य दिने सपना सजाएको छाप्रो बाढीले बगाएपछि उहाँको सहारा टुटेजस्तै भएको छ । त्यस्तै, गौशाला नगरपालिका–६ विसहरपुरकी २३ वर्षकी अनितादेवी सदा अहिले गाउँमै रहेको सामुदायिक भवनको परिसरमा रात बिताउन बाध्य भएकी छन् । गएको साउन २८ गते राति भीषण वर्षासँगै आएको भेलले उहाँको फुसको घर बगायो । कमजोर घरले पानीको भार थेग्न नसकेपछि सम्पत्तिको नाममा रहेको एकमात्र छाप्रो भत्कियो । उहाँ बेघर हुनुभयो ।

जन्मजातै बाँया खुट्टा र हात कमजोर रहेको उहाँको दिन अहिले त्यही भवनमा बित्ने गरेको छ । त्यही भवनमा उहाँ १८ महिने छोराको साथमा बस्दै आएकी छन् । सदाका श्रीमान् पनि जन्मजात अपाङ भएतापनि अहिलेसम्म राज्यबाट कुनै किसिमको सुविधा पाउन नसकेको उहाँको गुनासो छ ।

गएको साउन २८ गते राति आएको बाढीले महोत्तरीका ४० हजार घर डुबानमा परेको थियो । अहिले बाढी प्रभावित खुला आकाशमुनि छन् । यस्तो अवस्थामा समेत राज्यको कुनै निकायले वास्ता नगरेको यहाँका पिडितहरुले गुनासो गरेका छन् ।  धेरै ठाउँमा अहिले सम्म राहत समेत प्रयाप्त मात्रामा नपुगेको स्थानीयको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *