वीपी प्रतिष्ठानका उपकूलपतिकै संरक्षणमा नक्कली प्रमाणपत्रधारी


“
भाद्र ९, काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही कर्मचारी र चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको छ । प्रतिष्ठानमा कार्यरत केही कर्मचारीहरुले जाँगिर खाँदा भारतबाट नक्कली प्रमाणपत्र पेस गरेको देखिएको छ ।
प्रतिष्ठानमा एक दशकदेखि कार्यरत सिनियर क्लर्क राजन कोइरालाको IA को सर्टिफिकेट नक्कली रहेको बुझिएको छ । उनले भारतको विहारबाट लिएको प्रमाणपत्र नक्कली रहेको देखिएको हो । कोइरालाले एक डेढ दशक देखि प्रतिष्ठानमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाइरहेका छन् । र, उनलाई प्रतिष्ठानकै उपकूलपति डा. राजकुमार रौनियारले संरक्षण गरेर राखेका छन् । डा. रौनियारले कोइराला प्रतिष्ठानका सिनियर क्लर्क भए पनि आफ्नो अघोषित सल्लाहकार नै बनाएका छन् ।
भारतको सुपौल विरपुर स्थित मिल्लत कलेजबाट आईए दोस्रो श्रेणीमा उत्तीर्ण भएको सर्टिफिकेटमा उनको जन्म मिति विक्रम सम्वत उल्लेख गरिएको छ । जबकि भारतका कुनै पनि राज्यका कुनै पनि कलेज, विश्वविद्यालयमा नेपालको विक्रम संम्वतलाई मान्यता दिएको छैन । भारतको विधान सभाले नेपाली भाषालाई मान्यता दिएपनि विक्रम सम्वतलाई मान्यता नदिएको अवस्थामा राजन कोइरालाले पेस गरेको प्रमाणपत्रमा देवनागिरी भाषामा विक्रम सम्वत्मा जन्म मिति उल्लेख गरिएको छ । भारतमा हिन्दी भाषालाई अनिवार्य भाषा मानिए पनि उनको प्रमाण्पत्रमा हिन्दी विषय समेत उल्लेख गरिएको छैन ।
कोइरालाले प्रतिष्ठानलाई बुझाएको कलेज लिभिङ् सर्टिफिकेटमा उनको जन्म मिति (2030-08-28 B.S) उल्लेख गरिएको छ । उनले पेस गरेको आइएको प्रमाणपत्रमा उनको Roll No 30044 Session 43-95 Ragistration No ss8362 उल्लेख छ । उनी १९९३ मा आइए दोस्रो श्रेणीमा पास भएको उल्लेख छ । उनले पेस गरेको Bihar Intermediate Educattion Council को Migration Certificate मा भने इस्वी सम्वत् उल्लेख गरिएको छ । उनको Migration Certificate को सिरियल नं. ५५७५१ रहेको छ । ‘एउटै स्टेटबाट आएको प्रमाणपत्रमा दुईओटा सम्वत् लागू हुन सक्दैन ।’ त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले भने ।
भारतमा अध्ययन गरेकाले नेपालमा अध्ययन गर्न तथा कुनै पनि सरकारी काम काजका लागि शैक्षिक पत्र पाठ्यक्रम विकास केन्द्रबाट इक्यूभ्यालेन्ट गर्नुपर्ने भए पनि कोइरालाको कुनै पनि प्रमाणपत्र प्रमाणित छैनन् ।
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका प्रमुख गोपेन्द्र पौडेलले भारतका कुनै पनि विश्वविद्यालयहरुबाट जारी शैक्षिक प्रमाण पत्रमा विक्रम सम्वत् उल्लेख नहुने बताए । ‘भारतका कुनै पनि निजी तथा सरकारी कलेजहरुमा विक्रम सम्वत उल्लेख गरिएको थाहा छैन । यो प्रमाणपत्र नक्कली हुनसक्छ ।’ उनले भने । पौडेलले नेपालमा नक्कली सर्टिफिकेट बनाउनेहरुको गिरोह नै रहेको भन्दै उक्त सर्टिफिकेट पनि नक्कली हुन सक्ने आशंका व्यक्त गरे । ‘यकिनका साथ भन्न नसकेपनि विगतमा यस्ता धेरै डकुमेण्ट आएका छन् । जुन नक्कली भएका पाएका छौँ ।’ उनले भने । उनले नेपालमा विक्रम सम्वत्सँगै नेपाल सम्वत् (नेवारी सम्वत्) लाई राष्ट्रिय सम्वत् मान्यता दिएपनि प्रशासकीय हिसाबले विक्रम सम्वत् नै प्रयोग गर्ने गरिए जस्तो भारतमा भने इस्वी सम्वत् बाहेक कुनै पनि सम्वत् प्रचलनमा नल्याइएको बताए ।
राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीका एक अधिकृतले पनि भारतमा कुनै पनि प्रदेशमा विक्रम सम्वत् प्रयोगमा नआएको जिकिर गर्दै विक्रम संम्वत् उल्लेख भएको डकुमेण्ट नक्कली हुन सक्ने जिकिर गरे । ‘हामी कहाँ विहारबाट आएका प्लस टुका कुनै पनि डकुमेण्टमा विक्रम सम्वत् लेखिएको पाएका छैनौँ । त्यहाँको राष्ट्रिय सम्वत् नै इस्वि सम्वत् भएकोले अन्य सम्वत् लेख्ने कुरा पनि हुन्न ।’ उनले भने ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले नक्कली प्रमाणपत्रका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले अनुसन्धान गर्ने भएकोले नक्कली सर्टिफिकेट भएको नभएको विषयमा आफूलाई केही थाहा नभएको बताए । उनले आफू नियुक्ति भएर आउनुअघि नै कोइराला कार्यरत भएकोले उनको प्रमाणपत्र आफूले नहेरेको बताए । ‘मलाई केही थाहा भएन, यदि अख्तियार र सिआइवीले फायल मगाउँछ भने हामी अनुसन्धानका लागि पठाउँछौं ।’ उनले मकालु खबरसँग भने । यस विषयमा कोइरालालाई फोन सम्पर्क गर्दा उनको मोबाइल उठेन ।
केही वर्ष अघि प्रतिष्ठानमा नक्कली चिकित्सक भएको भन्दै अनुसन्धानका लागि सिआइवीको टोली नै आएको थियो । भने, प्रतिष्ठानले समेत आन्तरिक रूपमा छानबिन गरेको थियो । त्यत्तिबेला प्रतिष्ठानका एक दर्जन कर्मचारी राजीनामा दिएर भागेका थिए ।
नक्कली प्रमाणपत्र धारी नै उपकूलपतिको सल्लाहकार
प्रतिष्ठानमा नक्कली प्रमाणपत्रधारी भनेर चर्चामा आएका राजन कोइरालालाई उपकूलपति डा. राजकुमार रौनियारले ‘अघोषित सल्लाहकार’ बनाएका छन् । अहिले कोइराला प्रतिष्ठानका अधिकांश फायलहरु स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा ल्याउने र मन्त्रालयका मन्त्रीसँग लविङ गर्ने काममा छन् । ‘उनी प्रतिष्ठानका सिनियर क्लर्क हुन्, तर, अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग निकट भएकाले डा. रौनियारले अघोषित सल्लाहकार नै बनाए ।’ प्रतिष्ठानका एक कर्मचारी भन्दछन् ।
सिनियर क्लर्कलाई प्लेन सुविधा
प्रतिष्ठानले राजन कोइरालालाई काजमा पठाउँदा प्लेन टिकट उपलब्ध गराउने गरेको छ । प्रतिष्ठानको नियमावली अनुसार अधिकृत तहका कर्मचारीले प्लेन सुविधा पाउने भए पनि कोइराला भाग्यमानी सिनियर क्लर्क हुन् जो प्रतिष्ठानको काममा काठमाडौँ आउँदा जाँदा प्लेनमा यात्रा गर्दछन् । र, राजधानीको महँगो होटेलमा रात विताउँछन् । प्रतिष्ठान स्रोतका अनुसार कोइराला काठमाडौँ आउँदा लाजिम्पाट स्थित होटेल मनासलुमा बस्छन् । होटेल मनासलु वीपी प्रतिष्ठानको पेयिङ गेष्ट हाउस हो ।
उनी प्रतिष्ठानमा सामान्य प्रशासनमा काम गर्दछन् । कुनै पनि स्थानमा काजमा जानुपर्दा होस् वा बिदामा बस्नुपर्दा कोइरालाले आफ्ना विभागीय प्रमुखलाई निवेदन दिनुपर्ने हुन्छ । तर, कोइरालाको हकमा यो नियम लागू हुँदैन । सामान्य प्रशासनका प्रमुख दीपक शाक्यलाई कोइराला कहाँ कहिले कसरी जान्छन् उनी के काम गर्दछन् थाहा हुँदैन । उनी डाइरेक्ट उपकूलपतिको कार्यालयबाट काजमा हिँड्ने गरेको प्रतिष्ठान स्रोतको दाबी छ ।
तलब प्रतिष्ठानको काम इन्सुरेन्सको
राजन कोइराला प्रतिष्ठानका सिनियर क्लर्क हुन् । तलब प्रतिष्ठानको बुझ्छन् काम भने, इन्सुरेन्सको गर्दछन् । उनी नेशनल लाइफ इन्सुरेन्स कम्पनीको पेशागत बिमा अभिकर्ता सङ्घको केन्द्रीय अध्यक्ष हुन् । भने, नेपाली काँग्रेसमा समेत आबद्ध छन् ।
चिकित्सक पनि निगरानीमा
प्रतिष्ठानमा कार्यरत कर्मचारी र चिकित्सकहरुका प्रमाणपत्र नक्कली हुन सक्ने भन्दै सिआइवी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार आयोगले प्रतिष्ठानमा कार्यरत केही चिकित्सकहरुको सर्टिफिकेटका बारेमा नेपाल मेडिकल काउन्सिलसँग सोधपुछ गरेको छ । भने, यता सिआइवीले समेत टोली पठाउने तयारी गरेको छ ।
“
