साधारण ग्राहकलाई कर्जामा विभेद, ठुला ऋणीले प्राथमिकता पाउने

भदौं ८, काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाबाट सेयरको धितोमा कर्जा लिनेमा ठुला ऋणीले प्राथमिकता पाउने गरेको आरोप पटक पटक लाग्ने गरेको छ । बैङ्कले पनि ‘प्रिमियम’ ग्राहकको तुलनामा साधारण ग्राहकलाई कर्जामा ४ देखि ५ प्रतिशत बढी ब्याज दर लिने गरेका छन् । यही विभेद सेयर कर्जामा पनि रहेको छ ।

सम्भवतः यही कारण बैंकहरुबाट ठुला ऋणीलाई नै बढी सेयर कर्जा गएको देखिन्छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार प्रतिव्यक्ति १ करोडबढि रुपैयाँ कर्जा लिनेले २४ अर्ब ७२ करोड रुपैयाँ कर्जा लिएका छन् । यो सेयर धितोमा गएको कुल कर्जा ४० अर्ब ४७ करोड रुपैयाँको ६१ करोड हो ।

अघिल्लो आवको तुलनामा भने बैङ्क तथा वित्तीय संस्थाले गत आव २०७३/७४ मा सेयर धितोमा ७.४८ प्रतिशतले बढी कर्जा जारी गरेका हुन् । अघिल्लो आवमा ३६ अर्ब ६५ करोड रुपैयाँको कर्जा सेयरको धितोमा जारी गरिएको थियो । ५० लाख देखि १ करोड रुपैयाँ सम्म कर्जा लिने ऋणीहरुले ६ अर्ब २३ करोड रुपैयाँको कर्जा लिने गरेका छन् । यसरी गएको कर्जा कुल सेयर कर्जाको १५ प्रतिशत हो ।

त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँ सम्म कर्जा लिनेले भने ४ अर्ब ४१ करोड रुपैयाँको मात्र कर्जा लिएका छन् । यो कुल सेयर कर्जाको १० प्रतिशत मात्र हो । २५ लाखभन्दा कम रकमको कर्जा लिनेहरुले ५ अर्ब १० करोड कर्जा लिएका छन् । यो कुल सेयर कर्जाको १२ प्रतिशत हो । नेपालमा सेयर धितोमा लिइने कर्जालाई नै मार्जिन कर्जा भनिने चलन छ । जबकि सेयर धितोमा लिएको कर्जा सेयर खरिद बाहेक अन्य कामको लागि पनि प्रयोग गर्न पाइन्छ । मार्जिन कर्जाबाट लिएको कर्जा सेयरमा नै लगानी गर्नुपर्छ ।

नेपालमा भने सेयर धितोमा लिइने कर्जाको बढी प्रयोग सेयरमा लगानी गर्ने प्रयोजनको लागि लिइने चलन छ । मार्जिन कर्जामा भने खरिद गर्न चाहेको सेयर नै धितोको रूपमा रहन्छ भने खरिद लागतको ५० प्रतिशतसम्म रकम आफूले हाल्नु पर्ने हुन्छ । अन्य देशहरूमा मार्जिन कर्जाको सुविधा ब्रोकर कम्पनीहरूले दिने भए पनि नेपालमा भने हालसम्म यस्तो सुविधा लगानीकर्ताले पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *