निषेधित क्षेत्रमा हर्न बजाउने १४० जनालाई कारबाही

किशोर खनाल, भरतपुर । हर्न निषेधित क्षेत्रमा सवारी साधनको हर्न बजाउनेलाई ट्राफिक प्रहरी कार्यालय भरतपुरले धमाधम समाउँदै जरिबाना तिराउँदै गरेको छ । भदौ १ गतेबाट भरतपुर महानगरको गोन्द्राङदेखि नारायणगढको नारायणी पुलसम्म र केन्द्रीय बसपार्कदेखि बाइपास हुँदै आँपटारीसम्मलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । ‘हर्न निषेधित क्षेत्र घोषणा गरेको ६ दिन भयो, ६ दिनसम्म १४० जनालाई हामीले कारबाही गरिसकेका छौँ’ जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख सन्तोष पन्तले भने । उनले हर्न बजाएर भाग्नेहरुको संख्या बढी भएको हुँदा त्यस्ता सवारी चालकलाई बढी निगरानी गरिएको बताए ।

चोकचोकमा ट्राफिक प्रहरीहरुले बसेर हर्न बजाउने मानिसहरुको निगरानी बढाएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार ६ दिनमा निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जनालाई ५०० को दरले जरिबाना तिराइएको छ । ‘५१० वटा प्रेसर हर्न नियन्त्रणमा लिएका छौँ’ ट्राफिक प्रमुख पन्तले भने, ‘अझै पनि पूर्णरुपमा हर्न निषेध भएको छैन, यस विषयमा अझै कडा रुपमा प्रस्तुत हुने योजना बनाएका छौँ ।’

नारायणगढ र भरतपुरको मुख्य राजमार्गमा हर्न निषेधित क्षेत्र घोषणा गरे पनि पूरा कार्यान्वयनमा आइसकेको छैन । ‘हामी प्रारम्भिक चरणमै छौँ, दैनिक प्रचारप्रसार अभियान चलाएका छौँ । कतिले बिर्सेर हर्न बजाएका छन्, कतिले थाहा नपाएर पनि हर्न बजाएका छन्’ प्रमुख पन्तले भने, ‘घोषणा भएको बल्ल ६ दिन बित्यो, एकैचोटी कडा कारबाहीमा जानु ठीक हुँदैन । विस्तारै हामी कडा बन्दै जान्छौँ ।’

ट्राफिक कार्यालय भरतपुरका अनुसार यो नियम ८० प्रतिशत कार्यान्वयनमा आइसकेको छ । ट्राफिकले हर्न बजाउनेलाई सुरूमा सम्झाउने र बुझाउने गरिरहेको छ । अटेर गर्नेलाई जरिबाना तिराएको छ ।

‘सुरुमा सम्झाउने गरेका छौँ, त्यसपछि पनि अटेर भएमा जरिबाना तिराएका छौँ । लामो हर्न बजाएर ध्वनी प्रदुषण गर्नेहरुको प्रेसर हर्न नियन्त्रणमा लिएका छौँ’ ट्राफिक कार्यालय भरतपुरका प्रहरी जवान विश्व नेपालले भने । निषेधित क्षेत्रमा हर्न बजाउनेलाई ट्राफिक कार्यालयले ५०० देखि १५ सयसम्मको जरिबाना तोकेको छ । निषेधित क्षेत्रमा हर्न बजाएमा यातायात व्यवस्था ऐनअनुसार पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सयसम्म जरिबाना गरिएको ट्राफिक कार्यालयको भनाइ छ ।

विभिन्न संघ संगठनले हर्न निषेध गर्नको लागि प्रचारात्मक कार्यलाई तीव्र पारेका छन् । ‘यो नियमलाई कार्यान्वयनमा ल्याउन हामीलाई विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेका छन्’ ट्राफिक प्रमुख पन्तले भने, ‘यसलाई व्यापक प्रचारात्मक सँगसँगै अटेर गर्नेलाई कारबाहीमा हामी हिँडिरहेका छौँ ।’ एम्बुलेन्स, सुरक्षाकर्मी, शवबाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा हर्न निषेध गरिएको छैन । आकस्मिक परेमा छोटा हर्न प्रयोग गर्न सकिने बताइएको छ ।

कुनकुन संघसंस्थाले के गरे ?
वीरेन्द्र क्याम्पस अगाडि रहेको पिजन इन्टरनेशनल एजुकेशन सेन्टरले ‘म हर्न बजाउँदिन’ भनेर लेखिएको २०० स्टिकर निकालेको छ । त्यो स्टिकर सवारी साधनमा टाँसेर प्रचार गर्ने काम भइरहेको ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै, स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाले हर्न निषेध गरेको तस्बिरसहितको ५० वटा साना बोर्डहरु बनाइदिएको छ । ती बोर्डहरु राजमार्गको मुख्यमुख्य ठाउँमा राखिएको छ ।

यसैगरी वे ग्रुपले हर्न निषेध गर्न सचेतना ¥याली निकालेको छ । रोट्याक्ट क्बल अफ नारायणी मिड टाउनले पनि हर्न निषेध गर्न सचेतना ¥याली निकालेको छ । सामथ्र्य नेपालले पनि सचेतना ¥याली निकालेर हर्न नबजाउन आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *