उपराष्ट्रपतिबाट तीजको अवसरमा सु–स्वास्थ्यको कामना सहितको शुभकामना


“
काठमाडौं, भदौ ८ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गरी उहाँले नेपालमा भएका परिवर्तनकारी संघर्षमा महिला दिदीबहिनीले पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
जस्तोसुकै दुःख कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा भएको उल्लेख गर्दै सन्देशमा उहाँले बाढी, डुबान तथा पहिरोबाट घरबारविहीन भएका र विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरोमै रहेका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज मनाउने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस्, तीज सिर्जनशील र उल्लासमय रहोस् भनी कामनासमेत गर्नुभएको छ ।”
