नक्कली सुन बेच्ने गिरोहलाई पक्राउ गरेपछि खुल्यो यस्तो रहस्य

भदाै ७, नेपालगन्ज । बाँकेमा लामो समय देखि नक्कली सुन बेच्दै आएको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेपछि पुराना मुद्दा र अभियोजनहरु पनि खुलेका छन् । ल्याब रिपोर्ट प्राप्त नभएपनि प्रहरीले दाबी गरेको नक्कली सुन बरामद प्रकरणमा पक्राउ परेका तीन जना मध्ये जाजरकोट सक्ला गाउँपालिका वडा नं.६ बस्ने २६ वर्षीय पूर्ण बहादुर बि क २०७१ माघ २२ गते बुद्ध मूर्ती सहित पक्राउ परेका थिए ।

अभियुक्त बिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरी प्राचीन स्मारक चोरी मुद्दा दर्ता गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यसअघि बिक दांग जिल्लामा पनि प्राचीन स्मारक मुद्दा खेपी सकेका थिए । शनिवार नेपालगन्ज स्थित एउटा होटेलमा सुनको अवैध खरिद बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले कारबाही गर्दा पूर्ण बहादुर बिक, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ बस्ने ४० वर्षीय कृष्णलाल श्रेष्ठ र बाँके राप्ती सोनारी गाउँपालिका वडा नं. ६ बस्ने २८ वर्षीय मङ्गल प्रसाद थारु पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरू सुन खरिद बिक्रीको कारोबारमा संलग्न रहेकै अवस्थामा होटेल रोयलको रुम नं. २०३ मा तीनै जनालाई रंगे हात पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले मङ्गलवार पत्रकार भेटघाट गरी बरामद भएको सुन र अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । अभियुक्तहरुले यसअघि बरामद भएको सुनको तौल ४ केजी रहेको दाबी गरे पनि प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बरामद भएको वस्तु सुन नभई फलाम, प्लास्टिक र सिसा मिश्रित सुनझै देखिने लेप लगाएको २ केजी ३०५ ग्राम ५ पिस वस्तु भएको दाबी गरेको छ ।

‘यद्यपि सुन व्यवसायी सङ्घको प्रारम्भिक जाँचबाट प्रहरीले बरामद भएको वस्तु सुन नभएको दाबी गरेको हो । ल्याब जाँच र रिपोर्ट आएपछि उक्त वस्तु बारे यकिनका साथ भन्न सकिन्छ’, पत्रकारहरु सँग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले भने, ‘सामान्य रूपमा हेर्दा पनि सुन नभएको देखिन्छ ।’

सर्व साधरणहरु झुक्याएर सुनको नाममा फलाम र सिसा बेच्ने गरेको अवस्थामै रंगे हात पक्राउ गरिएका अभियुक्तहरु यस अघि बाँकेमा विभिन्न व्यक्तिहरूलाई सुनको नाममा नक्कली धातु बिक्री गरिसकेको तथ्य खुलेका छ । ‘यिनीहरूको गिरोहले नयाँ र अनुभवहीन व्यक्तिहरूलाई सुनको नाममा ठगी गर्दै आएको हो’, एसपी तामाङले भने, ‘सुन बारे राम्रो जानकारी नभएको व्यक्तिलाई मात्रै गिरोहले सुन बेच्ने काम गरेको छ ।’

‘पर्दा भित्र धेरै व्यक्तिहरू छन्, बिस्तारै अनुसन्धान अघि बढाएका छौँ’, एक अनुसन्धान अधिकृतले भने, ‘हामी तह सम्म पुग्छौं ।’ ‘नक्कली सुन मात्रैको विषय होइन, यो ठगीको पनि सन्दर्भ हो’, उनले भने, ‘सामान्य नागरिकहरुलाई सुनको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको हो ।’ पक्राउ परेका तीनै जना माथि कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०५२ अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *