लापरबाहीको पराकाष्ट : एउटाको राहदानीमा अर्कोको स्वीकृति

भदौ ६, काठमाडौं । सरकारी निकायको चरम लापरबाहीका कारण एक व्यक्तिको राहदानी नम्बरमा अर्कै व्यक्तिले श्रम स्वीकृति लिएको फेला परेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट लिइएको ०७१०१९८० राहदानी नम्बरमा काभ्रेपलाञ्चोकका शिवप्रसाद पराजुलीले साउदी अरबको लागि श्रमस्वीकृति लिएको फेला परेको हो ।

राहदानी विभागले सो नम्बरको राहदानी २०७० फागुन ९ गते कञ्चनपुरकी मनीषा कुमारी अवस्थीको नाममा जारी गरेको थियो । उनले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयबाट उसै बखत राहदानी ल्याएकी थिइन् । तर, अवस्थीले राहदानी लिनुभन्दा एकवर्ष अघि नै पराजुलीले सो राहदानी नम्बरमा श्रमस्वीकृति कसरी लिए त ? कसैसँग जवाफ छैन । तर, लिएको भने देखिन्छ । पराजुलीले २०६९ माघ १२ गते नै वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएका हुन् ।

श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागको अनलाइनमा पराजुलीले काठमाडौं लाजिम्पाटस्थित हिमालयन लजिष्टिक एण्ड रिक्रुटमेन्ट कम्पनी मार्फत साउदी अरेबियाका लागि ००२०२७४१० को स्टिकर नम्बर (श्रम स्वीकृति) लिएको देखिएको छ । सो विषयमा ६ महिना अघि नै वैदेशिक रोजगार विभागमा उजुरी दिएको भएपनि त्यसबारे विभागले चासो नदेखाएको अवस्थीले बताइन् । विभागका कर्मचारीले यसबारे राहदानी विभागमा लेखापढी गरेको तर कुनै उत्तर नआएको भन्ने जवाफ दिए ।


यसैबीच, राहदानी विभागले यसमा आफ्नो गल्ती नभएको दाबी गर्दै रोजगार विभागको गम्भीर गल्ती भएको बताएको छ । राहदानी विभागका अनुसार, नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रणाली आएको सन् २०१० देखि यताको अभिलेख हेर्दा काभ्रेपलाञ्चोकबाट वितरण भएका राहदानीमा पराजुलीको नाम नभेटिएकोले निजले नक्कली राहदानी प्रयोग गरेको अनुमान गर्न सकिन्छ । त्यसो नभए एमआरपी आउनुभन्दा अगाडि नै हस्तलिखित राहदानी जारी हुन सक्छ ।

राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले एमआरपी प्रणालीमा यस्तो गल्ती हुन नसक्ने दाबी गर्दै वैदेशिक रोजगार विभागकै गल्ती भएको हनुपर्छ भन्ने जिकिर गरे । परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीले यस्तो समस्या पहिलोचोटी सुन्नमा आएको बताएका छन् । परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले हस्तलिखित राहदानी जारी हुँदाका बखत त्यस्ता समस्या फाट्टफुट्ट देखिए पनि एमआरपी आएपछि यस्ता समस्या सुन्नमा नआएको बताए । यसो नहुनुपर्ने हो भन्ने उनको जिकीर थियो ।

वैदेशिक रोजगार विभागले यसबारे गैरजिम्मेवार जवाफ दिएको छ । विभागका सूचना अधिकृत मोहन अधिकारीले उजुरी बारे आफूूलाई कुनै जानकारी नै नभएको बताए । यद्यपि विभागको मुद्दा शाखाका कर्मचारीले भने सो उजुरीका बारे सम्बन्धित निकायले समाधान सहितको जवाफ नपठाएको बताएका छन् । मुद्दा शाखाका अधिकृत गोविन्द उपाध्यायले सो विषयको अनुसन्धान जटिल भएकाले पीडितले समेत सहयोग गर्नुपर्ने बताउछन् ।

पराजुलीलाई साउदी अरेबिया पठाउने कम्पनी हिमालय लजिष्टिक रिक्रुटमेन्टले आफूसँग चार वर्ष भन्दा पुरानो अभिलेख नभएको बतायो । यस्ता, गैरजिम्मेवार जवाफले वैदेशिक रोजगारीमा जाने युवाहरूको बाध्यतालाई सम्बन्धित निकायले कति हलुका ढंगले लिँदा रहेछन् भन्ने स्पष्ट हुन्छ ।

वैदेशिक रोजगारीमा जाँदा मेनपावर कम्पनीहरूले वैदेशिक रोजगार विभागको अन्तर्गतको श्रम कार्यालयमा गएर श्रम स्वीकृति स्टीकर लिनुपर्छ । श्रम कार्यालयले श्रम स्वीकृति नम्बरको स्टीकर दिने गर्छ । त्यहाँ दर्ता भएको राहदानी नम्बरलाई अर्को श्रम स्वीकृति दिंदैन । पराजुली हालसम्म कुनै सरकारी निकायको सम्पर्कमा आएका छैनन् ।

यदि उनी अहिले पनि विदेशमा भएको भए कुनै दुखःद् दुर्घटनाको सामना गर्नुपरे पनि उनले बीमा लगायत अन्य सेवा सुविधामा दाबी गर्न पाउने अवस्था रहँदैन किनभने उनले श्रमस्वीकृति नविकरण गरेको देखिँदैन । अवस्थीको नाममा राहदानी भएपनि सो राहदानी नम्बरबाट उनी पनि कुनै पनि देशमा काम गर्नका लागि अनुमति पाउने सम्भावना रहँदैन ।

लोकान्तर खबरको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *