‘घरभाडा दर वार्षिक पाँच प्रतिशतभन्दा बढाउन नदिऔँँ’

किशोर खनाल, भरतपुर । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले घर तथा सटर भाडाको दर मूल रकममा वार्षिक ५ प्रतिशतभन्दा बढी वृद्धि गर्न नपाउने नियम बनाउन स्थानीय तहलाई आग्रह गरेको छ ।

‘अन्तर्राष्ट्रिय नियम अनुसार पनि घर भाडा तथा सटर भाडाको वृद्धिदर ५ प्रतिशतभन्दा बढाउन पाइँदैन’ नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको छैटौँ साधारण सभा तथा चौथो अधिवेशनमा अध्यक्ष दुर्गाप्रसाद गौतमले भने, ‘मूल रकममा वार्षिक ५ प्रतिशतभन्दा बढी घर भाडा तथा सटर भाडको दरमा वृद्धि नगर्न हामी सम्बन्धित निकायसँग निरन्तर पहल गरेर यसलाई जसरी पनि कार्यान्वयनमा ल्याउनेछौँ ।’

घरबहाल उपभोक्ता मञ्चका उपाध्यक्ष पवित्रा जोशीले अदालतमा घरबहाल विधेयक विचराधीन अवस्थामा रहेको हुँदा यो विधेयक पारित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘यस वर्ष विभिन्न व्यवसाय एवम् घरधनीका विषयमा परेका मौखिक र लिखित निवेदन गरी ९१ वटा समस्याहरू समाधान गरेका छौँ ।’

मञ्चका महासचिव पाण्डव ढकालले महानगरपालिकामा नारायणगढ बजारदेखि गोलाघाटसम्मको सटर भाडा दर एउटै हुन नहुने बताए । उनले भने, ‘घरबहाल कर घरधनीले नै तिर्नुपर्ने व्यवस्थाको लागि स्थानीय कानुन बन्न जरुरी रहेको छ ।’ उनले यसको लागि घरधनी तथा व्यवसायीलाई प्रशिक्षण तथा सूचनामूलक कार्यलाई निरन्तरता दिने बताए ।

घरबहाल उपभोक्ता मञ्चले भाडामा लिँदा र दिँदा सम्झौता पत्र अनिवार्य गर्न सबैमा आग्रह गरेको छ । व्यवसायीले कुनै कारणवस व्यवसाय छाड्नुपर्दा गुडविल सहित पसल विक्री गर्न पाइने मञ्चले जनाएको छ । यसै गरी घर धनीले भाडामा बस्नेलाई हटाउनु परेमा व्यवसायीलाई ३ वर्ष र आवासीय बसोबासलाई ३ महिना अगाडि नै सूचना दिएर हटाउनुपर्ने जनाएको छ ।

‘घर बहाल उपभोक्ता मञ्च घरधनी र बहालमा बस्नेबीच सधैँ समझधारी हुन जरुरी छ, मञ्चले धनी र बहालबीच समन्वयकारी भूमिका निभाउँछ’ मञ्चका कोषाध्यक्ष मोहनीलाल पाण्डेले भने । उनले अा व २०७२/७३ र २०७३/०७४ को वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष पाण्डेले २०७४/०७५ को अनुमानित आयव्यय पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल घरबहाल महासङ्घका अध्यक्ष तथा विशिष्ट अतिथि शङ्कर कोइरालाले घरवेटीसँगको सम्झौता पत्र हुँदाहुँदै पनि बहालमा बस्नेहरु हट्नु परेको बताए । उनले भने, ‘अब बन्ने स्थानीय कानुनले यस्तो दुखद अवस्थाको निराकरण गरोस् ।’ कोइरालाले बिजुली भाडा दर बढी लिने घरबेटीलाई समेत कारबाही हुने बताए । उनले भने, ‘कुनै पनि घरबेटीले एक युनिटको १३ रुपैयाँभन्दा बढी लिन पाउँदैनन् । बढी लिए उजुरी गर्नूस्, त्यो घरबेटीलाई कारबाही हुन्छ ।’

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष श्रीराम घिमिरेले घरबेटी र घरबहालको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए । ‘घरबहालको पक्षमा लागेर घरबेटीलाई मर्का पार्ने हाम्रो उद्देश्य होइन’ उनले भने, ‘हामी घरबेटी र घरबहालको सम्बन्ध अन्यन्तै गाढा बनाउन लागिपरेका छौँ, यसमा सबैको सहयोग चाहिन्छ ।’

त्यस्तै, मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार प्रभात ढुंगानाले भाडादर वैज्ञानिक हुन नसकेको बताए । कार्यक्रममा उवासंघ चितवनका तृतीय उपाध्यक्ष विष्णु कँडेलले घर बहाल उपभोक्ता मञ्च व्यावसायिक हकहितको लागि एक भएर लाग्नुपर्ने बताए ।

रुपन्देही नेपाल घर बहाल उपभोक्ता मञ्चका खगेन्द्र पौडेल, मकवानपुर मञ्चका अध्यक्ष नवराज न्यौपाने, तनहुँ मञ्चका अध्यक्ष विष्णु बराल, लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।

अध्यक्षमा पवित्रा जोशी
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको छैटौँ साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा पवित्रा जोशीलाई सर्वसम्मत रूपमा चयन गरेको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा हरि शर्मा पौडेल, प्रथम उपाध्यक्षमा मोहनीलाल पाण्डे, उपाध्यक्षमा दीपककुमार उप्रेती, महासचिवमा खेमनारायण पराजुली, सचिवमा रामप्रसाद पौडेल, कोषाध्यक्षमा कृष्ण कँडेल सहकोषाध्यक्षमा विमला अधिकारी चयन भएका छन् । सदस्यहरूमा बिन्दु अधिकारी, लक्ष्मी कार्की, गौरव ढकाल, विनोद अधिकारी, डिलाराम खरेल, कमला गुरुङ, रुक्माङ्गत पोख्रेल, नवराज सुवेदी, मोहनप्रसाद पाण्डे छन् । तीन सदस्यीय पछि थपिने जनाइएको छ ।

‘समस्या समाधान गर्छु’
भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले घरबहाल उपभोक्ता मञ्चका समस्याहरू समाधान गर्न पहल गर्ने बताइन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको छैटौँ साधारण सभा तथा चौथो अधिवेशनमा प्रमुख अतिथि बनेकी शाहले सबैको समझदारीमा एकआपसमा मिलेर हातेमालो गर्दै अघि बढ्ने बताइन् । उनले भनिन्, ‘छिटै बन्न लागेको स्थानीय कानुनमा घरबहालका समस्याहरू सम्बोधन गर्न पहल गर्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *