के नयाँ शक्ति पार्टी अवसान उन्मुख भएकै हो त ?

१० वर्षे सशस्त्र जनयुद्ध गरेर देशमा गणतन्त्र ल्याउन योगदान गरेको पार्टीलाई क्षण भरमै छोडेर आर्थिक क्रान्तिको नारा दिएर डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति पार्टीको अस्तित्व यति बेला जोखिममा छ । ‘समतामूलक समृद्धि, समानुपातिक र समावेशी लोकतन्त्र, सुशासन र सदाचार, स्वाधीनता र सार्वभौमिकता र समुन्नत समाजवाद’को सिद्धान्त लिएर आएको यो पार्टी स्थापनाको डेढ वर्ष नपुग्दै छिन्नभिन्न हुने क्रममा छन् ।

२०७३ चैत्रमा पूर्व अर्थसचिव रामेश्वर खनालले नयाँ शक्ति पार्टी त्याग्नु अघि नै मुमाराम खनालले पनि डा. भट्टराईको साथ छाडिदिएका थिए । ०७३ साउनमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले डा. बाबुराम भट्टराईको स्वेच्छाचारी नीतिका कारण पाटी अघि बढ्न नसक्ने भन्दै पार्टी परीत्याग गरे । यो सिलसिला यतिमै रोकिएन, बिस्तारै बिस्तारै गाउँगाउँ, नगर र देशभरिका धेरै कार्यकर्ताले डा. भट्टराईको साथ छाड्दै गए ।

यो साता त नयाँ शक्तिमा ‘भूइचालो’ नै गयो । पार्टीका प्रभावशाली नेताहरू रामचन्द्र झा, रामकुमार शर्मासँगै केन्द्रीय तहका सयौँ नेता कार्यकर्ताले एकैपटक विद्रोह गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न गएपछि डा. भट्टराईको ड्रिम प्रोजेक्ट (नयाँ शक्ति) छिन्न भिन्न भयो ।

भट्टराई एक्लिनुको कारणः

पार्टी स्थापनाको डेढ वर्षपनि नवित्तै टुक्रिनुमा धेरैले नेतृत्वकै कमजोरी औल्याएका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, प्रवक्ता खिमलाल देवकोटा, रामकुमार शर्मा, देवेन्द्र पौडेल, रामचन्द्र झा लगायतले पार्टीमा ब्यक्तिवाद हाबी भईदिँदा सिद्धान्त फेल खाएको बताएका छन् । उनीहरूले भट्टराईको कार्यशैली कमजोर र ब्यक्तिवादी भएको भन्दै चर्को आलोचना गरेका छन् ।

मुमाराम खनालले पार्टी परित्याग गर्ने बेलैमा ‘हामीले १७९ वटा दलहरूको बिचमा एउटा थपेर १८० औँ दल बनाउन खोजेका थिएनौं । तर, नयाँ शक्ति पार्टीको विकासक्रमले १८० औँ बन्नुवाहेक अर्को सम्भावना देखिएन ।’ भनेका थिए । यता पूर्व अर्थसचिवको भनाईपनि ‘अबको निकास आर्थिक विकास’ नारा सही भए पनि व्यवहारमा नेतृत्वले लागू गर्न नसकेको ठहर गरे । उनी पार्टीमा इमान्दार भन्दा अपराधीले प्रश्रय पाएको प्रति निराश भएका थिए । नयाँ शक्ति जन्मिनुमा पहिलो संविधानसभाले नयाँ संविधान जारी गर्न नसक्नु पनि मूल कारण हो । त्यत्तिबेला प्रधानमन्त्री डा. भट्टराईले ‘हिम्मत’ गरेर ०६९ जेठ १५ गते संविधान जारी गरेका भए, उनलाई कुनै दोष लाग्ने थिएन । उनी राजनेता हुने थिए ।

पछिल्लो चरणमा देवेन्द्र पौडेल, रामकुमार शर्मा, रामचन्द्र झा जस्ता बौद्धिक ब्यक्तित्वहरु बाहिरीनुले नयाँ शक्तिको आवश्यक्ता र कार्यदिशामा कुनै खोट छ भन्ने आशंका राजनीति वृत्तमा छ । पार्टीले अवलम्बन गरेको राजनीतिक कार्यदिशा, वैचारिक आधार, नेतृत्व पद्धति पार्टीको संरचना र उद्देश्य अनुरूप डा. भट्टराईले कार्यान्वयन गर्न नसकेकाले उनी एक्लिएका राजनीतिक विष्लेशकहरुको धारणा छ । यो विश्लेषण सही हो भने, डा. भट्टराईले सच्चिने बेला आएको छ ।

फुटको अर्को कारणः स्थानीय चुनावको पराजय

डेढवर्ष अघि नयाँ शक्ति पार्टी सार्वजनिक गर्दा ‘अबको निकास आर्थिक विकास’ यो नारा एकदमै पपुलर भयो । राजधानी देखि गाउँशहर हरेक टोलमा भट्टराईको फोटो राखेर पोष्टर, पर्चा स्टिकर टाँसियो । पार्टी सार्वजनिक कार्यक्रममा त्रिपुरेश्वर रङ्गशालामा लाखौँ मानिस आए । र, डेढ वर्षपछि त्यही मान्छेको भिडलाई नजर अन्दाज गर्दै पार्टीले सङ्गठन नै मजबुत नबनाई २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिए । तर, रङ्गशालामा आएका एक तिहाई मानिसले पनि नयाँ शक्तिलाई पल्याईदिएनन् । फलतः चुनावमा पार्टीको अवस्था निक्कै कमजोर भयो । यहाँसम्म की भट्टराईको आफ्नै गृह जिल्लामा समेत पछि प¥यो । यसले नयाँ शक्तिमा लागेका हज्जारौं कार्यकर्ता निराश भईदिए ।

धेरैले अनुमान गरेका थिए, नयाँ शक्तिले माओवादी केन्द्रको भोट काट्छ तर, अनुमान भन्दा ठिक विपरीत माओवादी केन्द्रले आफ्नो पोजिसन नगुमाएन । यही देखेर यति बेला नयाा शक्तिका नेता कार्यकर्ताहरू धमाधम पुरानै घरमा फिर्ता भएका हुन् । पार्टीका केही नेताले चुनावमा भाग नलिउँ सङ्गठन बनाउँ भन्दा भट्टराईले सुनेनन् । फलस्वरुप उनीहरूमा नैराश्यता बढेको हो ।

भिजन सफल, लिडरसिप असफल

पेसाले आर्किटेक्ट इन्जिनियर हुन् डा. भट्टराई । दुई दशक बढी प्रचण्डको ‘राइट हेण्ड’ बनेर सशस्त्र जनयुद्धको रेखा कोरेका उनी ‘सेकेण्ड म्यान’बाट पढाइमा जस्तै राजनीतिमा पनि ‘फस्ट’ हुन चाहन्थे । त्यही ‘फस्ट मेन’ हुने धृष्टताबाटै नयाँ शक्तिको पार्दुभाव भयो । ‘अबको निकास आर्थिक विकास’ भन्ने नारा तय त गरे तर, असल अभिभावक भएर त्यो नारा कार्यान्वयन गर्न सफल भने हुन सकेनन् । उनलाई धेरैले राम्रो भिजन भएका नेता मान्छन् । तर, नेतृत्व गर्ने सिलसिलामा उनी असफल भएकै हुन् । नत्र त पार्टी स्थापना भएको डेढ वर्षमै टुक्रा–टुक्रा हुने अवस्था आउने थिएन । कतिपय अवस्थामा राष्ट्र र राष्ट्रियताका सवालमा उनी कमजोर भईदिए ।

व्यक्तिगत ‘इगो’

डा. भट्टराईले व्यक्तिगत रूपमा प्रचण्डलाई आफ्नो ‘प्रधानशत्रु’ नै मानेका छन् । ०६३ सालपछि सार्वजनिक जीवनमा आएका प्रचण्डले हासिल गरेको विश्वतम् चर्चा उनलाई पाच्य भएन । यसलाई उनले व्यक्तिगत ‘इगो’ साँधेर पार्टीमा राजनीति गरे । वार्गेनिङ गरे । जवसम्म राजनीतिमा सिद्धान्त र विचार प्रधान हुन्छ व्यक्तिगत टकराव ‘गौण’ बस्छ । एउटा सच्चा राजनीतिज्ञले पार्टीमा कहिल्लै व्यक्तिलाई प्राथमिकतामा राख्दैन । उसले विचार र सिद्धान्तलाई आत्मसाथ गरेर निर्णय गर्दछ । नयाँ शक्तिमा भट्टराईले कतिपय निर्णयहरू सिद्धान्त र विचार विपरीत गरेका छन् । यसले पनि पार्टी भित्रका इमान्दार नेता कार्यकर्तामा ‘ठेस’ लागेको हुनुपर्छ ।

भट्टराईमा ब्यक्तिवाद हाबी छ । यसलाई नसच्याएसम्म जस्तो सुकै राम्रो सिद्धान्त र विचारधारा निर्माण गरे पनि त्यो कोरा कागज मात्र हुनेछ । यदि राजनीतिमा सधैंको शत्रु नहुने हो भने, भट्टराई कि, पुरानो घर (माओवादी केन्द्र) मा फर्कनु पर्छ, कि नयाँ शक्तिसँगै अन्य बैकल्पिक शक्तिलाई एउटै झण्डामा ल्याउने ढृढता गर्नुपर्छ ।

के अब नयाँ शक्ति सकिन्छ ?

राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन । यो समय र परिस्थितिले निर्धारण गर्दछ । डा.भट्टराईले नयाँ शक्तिको प्रधानशत्रु यथास्थितिवादी र जडशुत्रवादीलाई मानेका छन् । ०६३/०६४ यता यथास्थिति र जडशुत्रवादीको अवशेष मात्र बाँकी छ । यस हिसाबले नयाँ शक्तिको औचित्य र उद्देश्यमा कसैले ‘घेरा’ हाल्ने अवस्था पनि छैन । ०५२ साल र ०७२ साल यताको राजनीतिले १८० डिग्री भइसक्यो । हामीसँग व्यवस्था प्रणाली परिवर्तन भए तर, तीसँगै यथास्थितीमै रहन चाहने थोरै झुण्डका कारण परिवर्तन संस्थागत हुन नसकेको मात्रै हो ।

प्रचण्डले माओवादी पार्टी छोडेर गएका सबै मूल पार्टीमा नआए सबै सिद्दिने बताई सकेका छन् । प्रचण्डले बाबुराम भट्टराई, मोहन बैद्द्य किरण र नेत्रबिक्रम चन्द पुनः पार्टीमा नफर्के सिद्दिने खतरा रहेको बताउँदा माओवादीबाट टुक्रिएकाहरुको एकता हुन नसक्ने हैन । राजनैतिक विज्ञानले विचार र सिद्धान्त मिल्ने सबै ध्रुविकृत हुनु अनिवार्य भएकोले इतिहासको नियमले समेत भट्टराई, किरण र चन्द ढिलो चाडो माओवादी केन्द्रमा आउन सक्ने सम्भावना देखिएको छ ।

अन्तमा,

माथि नै भनी सकियो की राजनीति विचार र सिद्धान्तबाट परिचालित हुन्छ । यदि भट्टराईले सिद्धान्त र विचारलाई अघि सारेर सबैको अपनत्व हुने पार्टी बनाउने हो भने, आत्मकेन्द्रित राजनीतिलाई त्याग्नु पर्छ । आफ्ना विचार र उद्देश्य मिल्लेसँग सहकार्य, सम्झौता गरी अघि बढ्नुपर्छ । सामूहिक नेतृत्वको भावना जागृत गराउनु पर्छ । नत्र ढिलो चाँडो पतनको बाटो देखा परिसक्यो । देवेन्द्र पौडेल, मुमाराम खनाल, रामचन्द्र झा जस्ता नेतृत्वले बाटो तताईरहँदा भोलि नयाँ शक्तिको अवसानमा भट्टराईलाई काँध हाल्ने कोही पनि नहोलान् भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =