बाढी र डुबान प्रभावितले राहत अझै पाएनन्

भाद्र ५, मकालु खबर । सांसहरुले बाढी र डुबान प्रभावितमा अझै पनि राहत नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसद्को सोमबारको बैठककको विशेष समयमा बोल्दै सांसदहरुले सरकारले केन्द्रमा घोषणा गरेको राहत वास्तविक बाढी र डुबान प्रभावितले नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद शेषनाथ अधिकारीले चितवनमा पनि बाढीले अरबौ रुपैयाको क्षति पुर्याएको भन्दै विशेष राहतको व्यवस्था गर्न माग गरे । भविष्यमा बाढी नआओस भन्नका लागि नारायण, राप्ती, रिउ, कायर खोला लगायतमा तटबन्ध गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण समेत उनले गराए । माडीलाई संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष व्यवस्था गर्न माग गरे ।

एमाले सांसद माधव कुमार नेपालले प्राकृतिक प्रकोपका कारण गाउँका गाउँ सखाप हुने, व्यापारिक नाका ध्वस्त पार्ने गरेको भन्दै भु उपयोग नीतिका कुरालाई ध्यानमा राखी संचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । नेपालको दक्षिण तर्फ भारतद्धारा निर्मित बाँध र तटबन्धका कारण बाढी आएको र त्यसले अरबौको क्षति पुर्याएको भन्दै त्यसतर्फ गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेन्द्रराय यादवले विपत व्यवस्थापन ऐन बनाउनुको साथै चुरे संरक्षणमा विशेष पहल गरी सधैको लागि बाढीको समस्या समाधान गर्न तर्फ उद्त हुन सरकारको ध्यानाकर्षण गराए । बाढी प्रभावित मधेसको पुर्न निर्माणको लागि प्राधिकरण बनाउनुपर्ने माग समेत उनले राखे । सांसद यादवले भारतीय बाँध र तटबन्धका कारण बर्सेनि नेपाल र नेपालीलाई समस्या परेको हो भने जलस्रोत र तटबन्धका बारेमा ठोस नीति बनाउन प्रमुख दललाई आग्रह गरे । सधैँ भारतको नाममा आफ्नो राष्ट्रियता कमजोर पार्ने काम नगर्न पनि उनले सचेत गराए ।

सांसद कुन्ती शाहीले बाढी र डुबान प्रभावितलाई राहत वितरणको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन । साथै, बैठकको शून्य समयमा बोल्ने सांसदहरुले पनि पहाडमा पहिरो र तराईमा डुबानबाट प्रभावित जनताले अझै राहत पाउन नसकेको भन्दै तत्काल प्रभावितलाई राहत उपलब्ध गराउन माग गरे । सांसद शेरबहादुर तामाङले काठमाण्डौबासीले शुद्ध पिउने पानी हक प्रत्याभूति गर्न पानीको मुहान रहेको लामटाङ र शिवपुरी क्षेत्रबाट जंगली सुंगुर हटाउन माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *