लार्चास्थित तातोपानी नाका जोड्ने पुल भाँच्चिएपछि…


“
भाद्र ५, मकालु खबर । पाङ्सेर्पु पहाड झरेर लार्चा पुल भास्सिएपछि फुल्पिङकट्टी र तातोपानीबासी फड्के हालेर आउजाउ गरिरहेको साता दिन पुगिसकेको छ । पहिरो झरिरहेकाले बेलिब्रीज निर्माण कार्यले तीब्रता पाउन सकेको छैन । हाल तातोपानीका बासिन्दा अस्थायी फड्केमा जोखिम मोलेर आउजाउ गरिरहेका छन् । फड्केमा प्रयोग गरिएको ठूलाठूला ढुंगा र पाङ्सेर्पु पहाडको पहिरोको कारणले बेलिब्रीज निर्माणको काम चार दिनदेखि रोकिएको छ । सडक डिभिजन कार्यालयका अनुसार अहिले लार्चामा ५० मिटर लामो बेलिब्रीज निर्माणको लागि सबै सामाग्री ल्याउने काम भइरहेको छ ।
‘पहिरो र ढुंगाको अवरोधले फाउण्डेशन स्ट्रक्चरको काम तीन दिनदेखि रोकिएको छ,’ सडक डिभिजनकी इन्जिनियर शिला न्यौपानले भनिन्,‘ सामाग्री समयमै आइपुग्दा पनि ढुंगा हटाउने कामको तयारी भइरहेको छ ।’
लार्चा पुल ७० मिटर लामो छ । तर, यति लामो पुलको सामाग्री नेपालमा नभएपछि ५० मिटरको पुलको सामाग्री ल्याएर निर्माण थालिएको हो । लार्चास्थित तातोपानी नाका जोड्ने पुल भाँच्चिएपछि पारी नै रहेका बासिन्दा जोखिम मोल्दै तुइनबाट आवतजावत गरिरहेका छन् । सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिमल डाँगीका अनुसार प्रायः तुइनबीचैमा अड्किने डरले पाँच घण्टा पैदल हिँडेर वारी आउने गरेका थिए । तुइनको समस्याले नै बिरामी भेनपार्कीङबाट झोलुगें पुल तरेर पाङ्सेर्पु भएर नारानथान निस्कीएर खोकुण्डोल झर्ने गरेका थिए ।
‘अस्थायी फड्के पुल बनेपछि स्थानीयमा आशा पलाएको थियो,’ डीएसपी डाँगीले भने ,‘ बेलिब्रीजको काम रोकिएपछि स्थानीय निरुत्साहित भएका छन् ।’
भोटेकोसीमाथि रहेको ढुंगामा अड्याएर फलामे पुल बनाइएकोले पुल स्थायी नहुने स्थानीयको भनाइ छ । ‘बर्खा लगत्तै कोसीले बगाएर लैजान सक्छ , भत्किएको लार्चा पुलको अवशेष धेरै पारीपट्टी थुप्रिएकोले नदी बग्ने स्थान साँघुर्याएको छ,’ लार्चाका स्थानीय पदम श्रेष्ठले भने,‘ तत्काल बेलिब्रीज नबनेसम्म तातोपानीसँग सम्पर्क बलियो बन्न सक्दैन ।’
अस्थायी पुलको भाग थोरै भएकाले बिरामी, बृद्धबृद्धादेखि सुत्केरीलाई आउन जान समस्या बनेको छ । गाउँपालिकाको पहलमा वारिपारि दुई जना तुइन तान्न राखिएका छन् । ‘साँझ परेपछि तुइनको सुविधाबाट समेत बञ्चित हुनुपर्छ, ’ श्रेष्ठले भने,‘ फड्के बनेपछि स्थानीय आनन्दले आउजाउ गरिरहेका छन् ।’
२२ सयको बसोबास रहेको तातोपानीमा जोखिमको त्रासले अधिकाशंले घर छाडिसकेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बस्न बाध्य छन् । बाँकी रहेका खाद्यन्नले केही समय पुग्ने भएता पनि स्वास्थ्य, शिक्षा, विद्युत र टेलिफोन विहिन हुदाँ उनीहरु समस्यामा परेका हुन् ।
लार्चा पुल भत्कीएको भोलिपल्टै लार्चा पुगेका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल र सोमबार पुगेका भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेल , सहितको उद्योग वाणिज्य संघको टोलीले अस्थायी पुल बनाउन सुरु गरेका थिए । सातादिनमा पुगेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सातादिनमा बेलिब्रीज निर्माणको काम सुरु गरिने स्थानीयलाई आश्वसन दिएका थिए ।
‘केही दिनको लागि बलियो फड्के हालेर फुल्पिङकट्टी र तातोपानीलाई सम्पर्क गराइएको छ,’ प्रमुख पौडेलले भने,‘ अब चाँडै लार्चामा बेलिब्रीज बन्नेछ ।’
स्थानीयका अनुसार बेलब्रीज हाल्न सहज भने छैन् । पुलको दुबै तिरको भागको छेउ भीरमुनी भएकाले पहिरोको जोखिम छ । खसेको पुलको भू-भागले नदी बगिरहेको स्थानलाई साँघुरो बनाएको छ । यसले बाढीको जोखिम बढाएको छ ।
“
