चीनसँगको सीमा विवादमा आफूलाई समर्थन गर्न भारतको दबाब

भदौ ५, काठमाडौँ । सरकार परिवर्तन हुने बित्तिकै भारत भ्रमणमा जानै पर्ने राजनीतिक प्रथालाई कायम गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा यही बुधवारदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भदौ ७ गतेदेखि ११ गतेसम्म हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणको कार्यकतालिका परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भ्रमणमा निस्किन लागेका देउवाले बुधवारदेखि ५ दिन भारतमा बिताउनेछन् । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । भने, भ्रमण कार्यतालिका अनुसार प्रधानमन्त्री देउवाले राजकीय पाहुनाको हैसियत पाउनेछन् । भदौ ८ गते बिहीबार राष्ट्रपति भवनमा दिइने गार्ड अफ अर्नरमा सहभागी हुनेछन् । त्यसभन्दा अघि प्रधानमन्त्री देउवाले राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा गर्इ पुष्पगुच्छा अर्पण गर्नेछन् ।

बिहीबार नै देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नेछन् । भारतका नवनियुक्त राष्ट्रपति कोविन्दसँग भेट गर्ने दक्षिण एसियाली नेताहरूमा देउवा पहिलो हुनेछन् । यसै गरी, प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी र सरकारका वरिष्ठ मन्त्रीहरु एवं विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट गर्नेछन् । प्रधानमन्त्रीद्वयको भेटवार्ता पछि संयुक्त वक्तव्य समेत प्रकाशित हुनेछ ।

प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रि भोजमा समेत सहभागी हुनेछन् भने विभिन्न व्यावसायिक र बौद्धिक व्यक्तित्वहरुसँग समेत भेटघाट गर्नेछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, सरकारका अन्य मन्त्रीहरु, सांसद्हरु, सरकारका सचिव र अन्य उच्च पदस्थ सरकारी अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण अवधिमा प्रधानमन्त्री देउवा तेलङ्गना, आन्ध्र प्रदेश र विहार समेत पुग्नेछन् । प्रधानमन्त्री देउवा आगामी आइतबार स्वदेश फर्कनेछन् । यसपटको भ्रमणमा भारतले चीनसँग भएको सीमा विवादबारे आफूलाई समर्थन गर्न नेपाललाई दबाब दिने प्रस्ट छ । भारतीय सञ्चार माध्यममा आएका समाचारहरुलाई आधार मान्ने हो भने भारतले नेपालमाथि ठुलै दबाब दिएर संयुक्त वक्तव्य प्रकाशित गराउने छ । भारत र चीनबीच भुटान–चीन सीमामा रहेको दोक्लाम क्षेत्रलाई लिएर विवाद बढेको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहका सुरक्षा सल्लाहकार जयदेव रानादेले केही दिन अघि नेपाल आएको बेलामा एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘भारतले नेपालमाथि दोक्लामबारे प्रस्ट समर्थन माग्नेछ । नेपालले खुल्ला रूपमा नमानेको खण्डमा भने संयुक्त वक्तव्यमा यो विषय नपारेरै भए पनि भारतले दोक्लामलाई विवादित भूमिका रूपमा चिनाउन कुटनीतिक समर्थन खोज्नेछ ।’

चीनले दोक्लाम भूमि आफ्नो भएको र यो विवादित भूमि नरहेको भन्दै भारतीय सेनालाई त्यहाँबाट तत्काल हट्न चेतावनी दिँदै आएको छ । नेपाल सन् १९६२ को भारत चीन युद्धमा तटस्थ बसेको थियो । यस पटक पनि दुई देशबीचको विवादमा नमुछिन पूर्वप्रधानमन्त्रीहरु र कुटनीतिज्ञहरुले प्रधानमन्त्री देउवालाई सुझाव दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *