ला लिगामा बार्सिलोनाको विजयी सुरुवात


“
एजेन्सी । स्पेनिस ला लिगामा आफ्नो पहिलो खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिसलाई २–० ले पराजित गरेको छ । भावनात्मक रुपमा जोडिएको खेलमा बार्सिलोनामा भएको आतंकवादी हमालमा मारिएका १४ जना प्रति श्रद्धांजलि प्रकट गरिएको थियो ।
लियोनल मेस्सीको ला लिगामा ३ सय ५० गोल पुरा गर्ने मौकामा पोष्ट तीन पटक सम्म बाधक रह्यो । तीनै पटक उनको प्रहार पोष्टमा लागेर फर्केको थियो । उनले ३५ औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोष्टमा लाग्दै बाहिरिएको थियो । त्यस्तै, ६० र ८१ औं मिनेटमा गरेको प्रहार पनि पोष्टमा लागेको थियो ।
३६ औं मिनेटमा एलिन टोस्काको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । डेलोफ्यूको प्रहार टोस्कालाई लागेर गोलमा परिणत भएको थियो । सर्जी रोबर्टोको पहिलो लिग गोलको मद्दतमा बार्साको गोल अन्तर दोब्बर भएको थियो । डेलोफ्यूले दिएको पासलाई सदुपयोग गर्दै ३९ औं मिनेटमा रोबर्टोले गोल गरेका थिए ।
“
