सोमबारबाट इम्बोस्ड नम्बर प्लेटको सुरुवात, यसबाट हुने फाइदा के ?

भदौं, ४ काठमाडौं । सरकारले भोलि (सोमबार) बाट  सवारी साधनमा सरकारले (अत्याधुनिक नम्बरप्लेट) इन्बोस्ड नम्बर प्लेट अनिर्वाय रुपमा लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार इम्बोस्ड नम्बर नेपालमै पहिलो पटक प्रयोगमा ल्याइन लागेको हो । इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनको सम्पूर्ण तयारी भइसकेको र सोमबारबाटै यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालयबाट यसको औपचारिक उद्घाटन गरिने यातायात व्यवस्था विभागका प्रशासनिक निर्देशक डा. टोकराज पाण्डेले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गर्ने तय भएको विभागले जनाएको छ । पहिलो चरणमा कूटनीतिक र सरकारी सवारी साधनबाट सुरूवात गरिनेछ । सवारी तथा यातायात व्यवस्था ऐनको अनुसूची परिवर्तन भए पनि निर्धारित इम्बोस्ड नम्बर प्लेटको मूल्य मन्त्रिपरिषद् पास नगर्दा रोकिएको थियो । अब त्यो समस्या समाधान भएकाले आइतबार उद्घाटन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सरकारी सवारी साधनबाट सुरु गरी ५ वर्षभित्र सबै सवारीमा जडान गरी सक्ने सरकारी लक्ष्य रहेको छ । अर्थ मन्त्रालयले लागत स्वीकृत गरे पनि मन्त्रिपरिषद्बाट स्वीकृत नहुँदा केही ढिलाइ भएको थियो । इम्बोस्ड नम्बर प्लेटको लागत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिफारिस गरे अनुसार नै स्वीकृत भएको हो ।

पहिलो चरणमा सरकारी निकाय अन्तर्गत यातायात व्यवस्था विभागकै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने र यसपछि कूटनीतिक नियोग, निजी र सार्वजनिक सवारीमा इम्बोस्ड नम्बर जडान गरिने व्यवस्था मिलाइएको छ । सरकारीपछि कूटनीतिक नियोगका सवारीमा जडान गरिएको एक महिना भित्रमा नै निजी र सार्वजनिक सवारीमा पनि इम्बोस्ड नम्बर जडान गरिने छ ।

यातायात व्यवस्था विभागका अनुसार पहिलो चरण अन्तर्गत भदौ ५ मा सरकारी सवारी साधनबाट सुरु इम्बोस्ड नम्बर प्लेट जडान कूटनीतिक नियोगका दुईपाङ्ग्रे र चारपाङ्ग्रे समेतका ४० हजार सवारीमा जडान गरिने छ । यो व्यवस्थाका लागि विभागले मुलुक भरका सम्पूर्ण यातायात व्यवस्था कार्यालयलाई गत वर्षको फागुन सम्ममा दर्ता भएका कूटनीतिक र सरकारी सवारीको संख्या विभागमा पठाइसक्न निर्देशन दिएको थियो ।

कति खर्च लाग्छ ?

मन्त्रालयले न्यूनत २५ सयदेखि ३६ सय रुपैयाँ लागत राख्दै तीन तहको मूल्य सिफारिस गरेको थियो । अब मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २५ सय रुपैयाँ खर्च गर्नुपर्ने छ । यसैगरी कार/जिप/भ्यान तथा ट्र्याक्टरले ३२ सय र यस बाहेकका सबै प्रकारका ठूला सवारी साधनमा सवारी धनीले इम्बोस्ड नम्बर जडान गर्दा ३६ सय रुपैयाँ खर्चनु पर्नेछ । एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ ।

यसबाट हुने फाइदा के ?

यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु-बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेक जाँचमा सहज हुनेछ ।

यस्तै, शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिन सहितको गेट राखिने छ । जसलाई पार गर्न जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेत्रमा छन् भन्ने थाहा पाउन समय लाग्दैन । यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्नेछ ।

इम्बोस्ड नम्बरप्लेटका फाइदा
१. इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा आएपछि सवारी साधनको चोरी नियन्त्रण हुन्छ । किनकि एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही रहिरहन्छ ।

२. अहिले कतिपय सवारी साधन कर नतिरी सञ्चालन भइरहेका छन् । इम्बोस्ड नम्बर राखेपछि कर नतिरी सवारी साधन सञ्चालन गरेको खण्डमा तुरुन्तै नियन्त्रणमा लिन सकिन्छ । साथै प्रणालीबाट थाहा पाउन सकिन्छ ।

३. इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि चीन र भारतलगायत विश्वस्तरीय मापदण्ड अनुसार नेपाली सवारी साधन पनि हुनेछन् । संसारभर नै सवारी साधनको नम्बरमा एकरूपता आउनेछ ।

४. अहिले नेपालमा नौ थरीका सवारी साधनको प्रकारहरू रहेकामा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारी साधनको प्रकार चारवटामा सीमित हुनेछ । तिनीहरू सरकारी, निजी, कूटनीतिक र व्यावसायिक सवारी साधन हुनेछन् ।

के हो इम्बोस्ड नम्बर प्लेट ?
सवारी साधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारी साधनमा प्रचलनमा रहेको भन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।

प्लेटको लेभल भन्दा अक्षरको लेभल माथि उठेकाले इम्बोस्ड भनिने यस्तो नम्बर प्लेट आधुनिक र सुरक्षित मानिन्छ । इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टि फिकेसन नम्बर’ रहनेछ । यसले कति नम्बरको सवारी साधन कहाँ र कस्तो अवस्थामा रहेको छ पत्ता लगाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =