पार्टीकारिताबाट निस्कन नसकेको पत्रकारिता

यति बेला राष्ट्रका चौँथो अङ्ग मानिने सञ्चार जगत् आफ्नै महाधिवेशनमा होमिएको छ । व्यावसायिक र मर्यादित पत्रकारिताको रट लगाउनेहरु महासङ्घको टिकट पाउनकै लागि मात्रै भए पनि विभिन्न राजनीतिक दलको सिफारिस लिन लाइनमा लागेको देख्दा नेपालमा व्यावसायिक र मर्यादित पत्रकारिता बिक्दैन र चल्दैन भन्ने प्रस्ट भएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलले समेत प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप गरेका छन् । खास गरी सत्तारुढ नेपाली काँग्रेस र माओवादी तथा नेकपा एमाले निकट पत्रकारहरु टिकट नै पाउनका लागि बल्खु, पेरिसडाँडा र धुम्बाराही धाएपछि व्यावसायिक पत्रकारिता धर्मराएको प्रष्टिएको हो ।

यसरी पत्रकारितामा प्रत्यक्ष राजनीति हाबी भएपछि महासङ्घको २५औँ महाधिवेशन स्वच्छ, मर्यादित र पारदर्शी ढङ्गले हुुन्छ भनेर कसैले ठोकुवा गर्न सक्ने अवस्था भएन । हुन त विगतका महाधिवेशन पनि यही शैलीबाट भएका हुन् । तर, यस पटक सार्वजनिक रूपमै राजनीतिक दलका नेतृत्वले समर्थन र विरोधका स्वर निकालेपछि पत्रकारितामा राजनीति हाबी भएको कुुरा लुकाउनु परेन ।

यसपटकको महाधिवेशनमा अध्यक्ष पदका लागि नेकपा एमालेको प्रेस चौतारीबाट तीर्थ कोइराला र नेपाली काँग्रेसको प्रेस युनियन, माओवादी केन्द्रको प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घको गठबन्धनबाट गोविन्द आचार्यले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । माओवादी केन्द्रले आचार्यलाई टिकट दिँदा हालका महासचिव उजिर मगर ‘स्वतन्त्र’ उम्मेदवार बन्ने भएका हुन् । आचार्य महासङ्घका पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् भने कोइराला विगतको महाधिवेशनमा महासचिवमा तारानाथ दाहालसँग पराजित भएका उम्मेदवार हुन् ।

अहिलेसम्मको चुनावी गठजोडलाई हेर्दा यसपटकको चुनावी मैदानमा कोइराला र आचार्यबीच नै भिडन्त हुने देखिएको छ । हालका महासचिव मगरलाई प्रेस सेन्टरका पदाधिकारी र माओवादी केन्द्रले उम्मेदवारी दर्ता नगर्न लबिङ गरिरहेका छन् तर, उनी आफ्नो अडानबाट पछि हटेका छैनन् । कतिपयले भने आचार्यलाई हराउनकै लागि उनलाई उम्मेदवारी दिन लगाएको भन्नेछ । त्यसो त आचार्य गठबन्धनले मगरलाई ‘अध्यक्षमा उठे भोट दिने’ भनेर हौस्याएका छन् । तर, सङ्गठनले तीर्थ कोइरालालाई निर्णय गरिसकेपछि सङ्गठन नै लागेर उजीर मगरलाई भोट हाल्छ भनेर भन्नु हास्यास्पद कुरा हो । यस अर्थमा चौतारीको आश्वासनमा उजीर मगर पर्नु ‘बलिको बोको’ बन्नु हो ।

यस अघिको महाधिवेशनमा प्रेस सेन्टरबाट महासचिव बनेका मगरले यस पटक सेन्टरलाई धोका दिएको ‘सञ्चार जगत’ मा हल्ला व्याप्त छ । पत्रकारको चुनावमा पार्टीले उम्मेदवार चयन गरेपछि पार्टीकै निर्णय मान्नुपर्ने विगतको नजिरलाई मगरले तोड्नका लागि उम्मेदवारी घोषणा गरेका बताएका छन् । उनको उम्मेद्वारीमा कतिपय वरिष्ठ पत्रकारले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को इन्ट्रेस्ट पनि जोडिएको बताउँछन् ।

नेकपा एमाले र नयाँ शक्ति तथा मधेसी पार्टी निकट सङ्गठनका साझा उम्मेदवार बनेका तीर्थ कोइरालालाई अध्यक्ष बन्न पनि फलामको चिउरा चपाउनु सरह नै छ । नयाँ शक्ति र मधेसी पार्टी निकट पत्रकारको सङ्ख्या कम हुनु र चौतारीका वरिष्ठ पत्रकारले नै कोइरालाको उम्मेदवारीमा असन्तुष्टी जनाएको अवस्थामा उनको जित सहज छैन । उनको उम्मेदवारीमा काठमाडौँका सञ्चार गृहका प्रतिष्ठानका पार्षदहरु नै रुष्ट छन् । विशेषगरी कान्तिपुर छाडेर माओवादी निकट अजय सुमार्गीले सञ्चालन गरेको थाहा खबर डट कममा गएपछि कोइरालालाई धेरैले रुचाएका छैनन् । उनी कान्तिपुरबाट आन्तरिक कारबाहीमा परेका व्यक्ति भनेर भनिन्छ ।

राजनीतिक दलको हालिमुहाली

महासङ्घको महाधिवेशनमा तीन दल (काँग्रेस, एमाले र आवोवादी)लाई महाधिवेशन राम्ररी लागेको छ । यी दलका शीर्ष नेताहरूलाई जसरी हुन्छ आफ्ना निकटका पत्रकारले जित्नु परेको छ । काँग्रेस, एमाले र माओवादी पार्टीका शिर्षस्थ नेताहरूले पत्रकारको चुनावमा राजनीति हाबी भयो भनेर जतिसुकै फलाके पनि भित्रभित्रै टिकट दिने र कतिपय उम्मेद्वारलाई दारुपानीको व्यवस्था पनि गर्न सहयोग गरेका छन् । २४ औँ महाधिवेशनमा सुन्धारा स्थित लजहरुमा पत्रकारहरुको ‘दारुपार्टी’ चलेको धेरै पत्रकार माझ चर्चा अझै व्याप्त छ । यसै बेला तराईमा आएको बाढी पहिरोका कारण जनतामा राहत दिन र तेस्रो चरणको निर्वाचनमा जान पनि उनीहरूलाई चर्को परेको छ । सङ्कटको यो घडीमा भएको महाधिवेशनले दलहरू जनता प्रति कत्तिको जिम्मेवार रहेछन् भन्ने पनि देखिएको छ ।

राजनीतिक दलका शीर्ष नेताहरू जति व्यस्त छन् त्यो भन्दा दोब्बर व्यस्त महासङ्घका उम्मेदवारहरु छन् । यति बेला महासङ्घका अध्यक्ष देखि सदस्यसम्मलाई भेट्ने र फोन मै सम्पर्क गर्ने कोसिस ग¥यो भने ब्यर्थ हुन्छ । उनीहरू फोन पनि उठाउन सक्दैनन् । केही उम्मेद्वारले पिए (उम्मेद्वारको फोन उठाउने) समेत राखेका छन् । यस हिसाबले महासङ्घको यो महाधिवेशन हैन दलिय भातृ सङ्गठनको निर्वाचन हो ।

को हुन्, तीर्थ कोइराला ?

महासङ्घको अध्यक्ष पदमा तीर्थ कोइराला नसुहाउने एकथरी पत्रकारको विश्लेषण छ । कोइराला लोकप्रिय पत्रिका कान्तिपुर दैनिकका प्रधानसम्पादक भइसकेका व्यक्ति हुन् । वरिष्ठ उपसम्पादक हुँदा उनीमाथि पत्रकारितामा कमाउन धन्दा र ठुला दलहरूको अर्दली बनेर खेतीपाती गरेको आरोप थियो । त्यसपछि कान्तिपुरले कोइरालालाई सिधै निकाल्न नसकेर प्रधानसम्पादक बनाएर ‘पेन्डुलम’ बनायो । कान्तिपुरको प्रधानसम्पादक रहँदा बखत उनले बिहान हाजिर गरेर एसी कोठामा दिन काट्नुभन्दा अरू काम केही नदिइएपछि उनी त्यहाँबाट बाहिरिएको कान्तिपुरकै पत्रकारहरुले बताएका थिए । उनी कुन पार्टी निकटका हुन् अहिलेसम्म प्रस्ट खुल्न त सकेको छैन, तर उनलाई नजिकबाट चिन्नेहरु भन्छन् । उनी छेपारे प्रवृत्तिका पत्रकार हुन् । आफ्नो समयानुकुल रङ्ग बदल्छन् ।

अहिले उनलाई तिर्थ सुमार्गी पनि भन्ने हरू छन् । उनी व्यापारी अजय सुमार्गीले लगानी गरेको थाहाखबर मिडियामा कार्यरत छन् । सुमार्गी तिनै व्यक्ति हुन्, जसलाई अख्तियारले पछ्याइरहेको छ । सुमार्गी विदेशबाट स्रोत नखुलेको ३ अर्ब रकमका विषयमा अख्तियारको फन्दामा परेका हुन् । अहिले सुमार्गी कोइरालालाई महासङ्घको अध्यक्ष बनाएर पत्रकारिता क्षेत्रमा खेल्न खोजिरहेछन् ।

सुमार्गीले कोइरालालाई महासङ्घको सभापति बनाउन माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाल, नेता अग्नी सापकोटा, नारायणकाजी श्रेष्ठ र अन्त्यमा अध्यक्ष प्रचण्डलाई भेट्दा पनि समर्थन नपाएपछि एमालेको शरणमा पुगेका हुन् । कोइराला यसअघि काँग्रेस नेता डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाल कहाँ पनि पुगेका थिए । तर, दुवैले हुन्न भन्ने सङ्केत दिएपछि सुमार्गीमार्फत फेरि एमाले प्रचार प्रसार विभागका प्रमुख योगेश भट्टराई हुँदै अध्यक्ष केपी ओली कहाँ पुगेर अध्यक्षको उम्मेदवार बन्न सफल भएका हुन् । कोइरालाले योगेश भट्टराईसँग जिल्लाबासी भएको नाता गास्ँदै ‘मैले जित्नु भनेको तपाईँले नै जिते सरह हो’ भनेपछि भट्टराईले तत्काल अध्यक्ष केपी ओलीलाई भेटन आग्रह गरेसँगै ओलीले अध्यक्ष पदमा लड्नका लागि बाटो खोलिदिएका थिए ।

को हुन्, गोविन्द आचार्य ?

उनी पनि तीर्थ कोइरालाभन्दा सक्षम व्यक्तिमा गनिँदैनन् । नेपाल प्रेस सेन्टर र प्रेस युनियन र प्रगतिशील पत्रकार सङ्घबाट साझा उम्मेदवार बनेका आचार्य पूर्वप्रधानमन्त्री एवंम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख प्रेस सल्लाहकार, पार्टीको पोलिट ब्यूरो सदस्य नै भएर राजनीति गरेका व्यक्ति हुन् । अध्यक्ष प्रचण्डको पहलमा उनलाई नै महासङ्घको अध्यक्षको चाबी जिम्मा लगाउने गरी उम्मेदवारी चयन गरिएको उनी निकट पत्रकार बताउँछन् ।

जतिबेला उनी अध्यक्ष प्रचण्डको सल्लाहकार बनेका थिए, त्यति बेला उनले कसैलाई गन्दैनथे । आफूलाई प्रचण्डकै हैसियतमा अरूसँग भेटघाट गर्थे । आफू निकटका पत्रकारहरुसँग दिल खोलेर बोल्न हिच्किचाउने आचार्यलाई अहिले तिनै पत्रकारको सहयोग चाहिएको छ । अहिले उनलाई कसरी जिताउने र कोइरालालाई कसरी पाखा लगाउने भन्दै माओवादी नेताहरू पार्टी प्यालेसदेखि बारसम्म सक्रिय देखिन्छन् । संसदीय चुनावकै झल्को आउने गरी महासङ्घको चुनाव भइरहेको छ भने उनलाई जिताउन भोटरहरुलाई किनमेल गर्न थालिएको छ ।

उनी श्रमजिवी पत्रकारिताका विषयमा लडेका व्यक्ति भए पनि व्यावसायिक पत्रकारिता र दक्षताका विषयमा कमजोर छन् । उनमा नेतृत्व गर्ने क्षमता पनि कमजोर हुँदा भोलि महासङ्घको आवश्यक्ता र पत्रकारिताको विकासमा उनको योगदान रहने कुरामा शङ्का गर्ने ठाउँछ । उनी अहिलेपनि माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएकोले भोलि स्वतन्त्र पत्रकारिताको कुरा गर्दा उनले राजनीति प्रयोग नगर्लान् भन्ने सकिन्न ।

को चाहिँ स्वच्छ ?

यो पढिसकेपछि सजिलै अनुमान लगाउन सकिन्छ कि एउटा स्वच्छ पत्रकार हुनका लागि राजनीतिक आड भरोसा कति चाहिने रहेछ । आफूलाई स्वच्छ पत्रकारको ट्याग भिराएर राजनीतिक गर्ने र पत्रकारिताको औचित्य नै समाप्त पार्ने अध्यक्षका दाबेदारहरु तीर्थ कोइराला र गोविन्द आचार्य के स्वच्छ पत्रकार होलान् ? जबकि, मुलुकमा एउटा स्वच्छ पत्रकारिताको आगमन हुन जरुरी छ । त्यसका लागि दलीय ट्याग सदाका लागि त्याग्न सक्नुपर्छ । यी दलका नामबाट सिफारिस लिएर महासङ्घ पुग्ने पत्रकारले व्यावसायिक पत्रकारिता गर्न सक्लान् ? उनीहरूले राजनीतिक दलको हस्तक्षेपबाट महासङ्घलाई जोगाउन सक्लान् ?

उनीहरूको नाकमा तीन वटा नत्थी छन् । एउटा पत्रकारको, अर्काे राजनीतिक दलको र अर्को मिडिया सञ्चालकको । यस्तो अवस्थामा नेतृत्वले जति सुकै स्वतन्त्र पत्रकारिता र व्यावसायिक पत्रकारिताका चिल्ला आश्वासन दिएपनि ती ‘कोरा कागज’ मात्र हुने छ ।

कोइराला र आचार्यले महाधिवेशन अघि पत्रकारिताको विकास, श्रमजिवी ऐन, सुरक्षा, ब्यवसायीकताको कुरा उठाएपनि महाधिवेशन पछि त्यो बागमतीमा बगेर जानेछ । त्यसपछिको सम्झौतावादी ‘गुण’ त छँदै छ । आचार्यले सञ्चालक वा प्रकाशकलाई रिझाउन सके मिडिया टिक्न सक्छ र कान्तिपुरमा सम्पादक छँदै ‘श्रमजीवी पत्रकार ऐन लागू गर्नु हुँदैन’ भनेर कोइरालाको धारणा सार्वजनिक भएका नै हुन् । त्यसैले उनीहरू महासङ्घमा आइरहँदा उनीहरूले स्वतन्त्र पत्रकारिता र पत्रकारको पक्षमा नभई ‘सञ्चालक, प्रकाशक र दलहरुकै गुणगान गाउनेमा दुईमत छैन ।

फ्ल्यास ब्याकमा

विगतमा एकचोटी फर्केर हेर्ने हो भने नेपालको पत्रकारिताले निकै फड्को मारेको देखिन्छ । गोरखापत्रकालिन समय हुँदै आजसम्म आइपुग्दा मुलुकमा निजी क्षेत्र र सरकारी क्षेत्रबाट रेडियो, टेलिभिजन हुँदै अनलाइन संस्करण सम्म आइपुगेको छ । यो हिसाबमा हेर्दा नेपालमा सञ्चार जगतको विकास भन्दा अन्य क्षेत्रको विकास सुस्त छ । तथापि, हाम्रो पत्रकारिता गुणात्मक भन्दा पनि संख्यात्मक भएको छ । कुनै काममा सफल हुन सकिएन भने पत्रकारितामा लाग्नु पर्छ भन्ने गलत मानसिकता हाबी भएको छ । यस हिसाबले विगत र अहिलेको पत्रकारितामा प्रविधि फेरिएको छ, प्रवृत्ति र कार्यदिशा उही गोरखापत्रे छ ।

पत्रकारितामा राजनीति हाबी बन्दा कसैको चाकरी नगरी पत्रकारिता टिक्दैन भन्ने मान्यता व्याप्त छ । अर्कातिर पत्रकारहरु स्वच्छ पत्रकारिताका नाममा बार्गेनिङ गर्ने परिपाटी झन् झन् मौलाउँदो छ । पत्रकारिताको एउटा इथिक्सले प्रमाण विना र अदालतले दोषी करार नगरेसम्म कसैलाई अपराधी भन्न दिँदैन । तर, हामी कहाँ पहिले पत्रकारले दोषी ठह¥याएपछि अदालतले सजाय तोक्ने परिपाटी छ । जवसम्म यो प्रवृत्तिलाई महासङ्घले निमिट्यान्न पार्ने दृढता गर्दैन, जवसम्म महासङ्घ राजनीति दलको एउटा व्यक्तिबाट परिचालित नहुने हिम्मत राख्दैन, तब सम्म व्यावसायिक पत्रकारिता र श्रमजिवी ऐनका कुरा फगत चुनावी एजेण्डा मात्र बन्छन् ।

एक जमानामा महासङ्घमा काँग्रेस निकट प्रेस युनियनको हालीमुहाली थियो । अरू कम्युनिस्ट तथा वामपन्थी पत्रकारहरुको कुनै प्रतिनिधित्व थिएन । हुन त नेपालमा पत्रकारिता क्षेत्रमा नेपाली काँग्रेसको योगदानको कदर गर्नै पर्दछ । भलै उनले राजनीतिक स्वार्थका लागि पत्रकारलाई एउटा सङ्गठनमा ल्याए तर, पत्रकारितालाई स्वर्गिय कृष्ण प्रसाद भट्टराईले सङ्गठित भने गरेकै हुन् । त्यसपछिका दिनहरूमा उदाएमा माले, एमालेले पनि पत्रकारितालाई संस्थागत गर्न योगदान त गरे तर, सँगसँगै राजनीति पनि हाबी गराए । यो इतिहास हेर्दा हामी कहाँको पत्रकारिता पार्टीकारिता भएको छ । भनिन्छ संसारमा कुनै पनि सिद्धान्त, विचार र बस्तुबाट प्रभावित नहुने कुनै चिज छैन । पत्रकारिता पनि त्यसमा अछुतो त रहन्न । तर यत्ति सम्म हुनुहुन्न की पत्रकारिताले आफ्नै ‘धोती’ खुस्काएको पनि पत्तो नपाओस् ।

अन्तमा,

यति बेला महासङ्घ २५ औँ महाधिवेनको संघारमा छ, नेपालको पत्रकारिता हेर्दा अझैपनि हामीहरू कपी पेष्ट र ट्रान्सलेट पत्रकारिताबाट अगाडी बढेका छैनौँ । अझैपनि प्रेस विज्ञप्ति र पर्चाबाट समाचार लेख्नेहरुको हालिमुहाली छ । राजनीतिक दलबाट तलब थाप्ने संस्कार छ । ब्यवसायीकताका नाममा विज्ञापनलाई समाचार बनाएर चुल्हो बाल्ने संस्कार छ । संविधान भन्दा माथि गएर निर्णय गर्ने परिपाटी छ । राष्ट्रियता राष्ट्रका सवालमा व्यक्ति हाबी हुने मानसिकता छ । दलिय सिण्डीकेट छ । जवसम्म महासङ्घले स्वतन्त्र पत्रकारितालाई प्राथमिकता दिँदैन तवसम्म व्यावसायिक पत्रकारिता संस्थागत हुन्न । समाचार लेखेरै पत्रकारले जिवनयापन गर्न सक्दैन । हामी कहाँ ६ दशकमा धेरै पात्र फेरिए तर, प्रविृत्ति फेरिएनन् । यस पटकको महाधिवेशनले पात्रसँगै प्रवृत्ति फेर्न पनि सफल होस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *