गर्भवती महिलाले शिशु जन्मिनुुअघि के के कुरामा ध्यान दिनुपर्छ ? थाहा पाई राखौँ

महिलाले जीवनमा थुप्रै शारीरिक तथा मानसिक चुनौती पार गरेकी हुन्छिन् । यिनै चुनौतीमध्ये गर्भावस्था पनि एक हो । महिलाले आफ्नो कोखमा शिशुलाई हुर्काउने यो अवस्था निकै संवेदनशील मानिन्छ । यसैले यो अवधिमा गर्भवतीको रेखदेख र आहारविहारमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । खास गरी गर्भावस्थामा पोषणमा कमी भए जन्मिने शिशुमा पनि असर पर्ने भएकाले खानपानमा उचित ध्यान दिनुपर्छ । गर्भावस्थाको अवधि ३७ हप्ताको हुन्छ । यसलाई तीन वटा त्रैमासमा विभाजन गरिएको छ ।

– पहिलो त्रैमास : बसेको पहिलो हप्तादेखि १२औं हप्तासम्म
– दोस्रो त्रैमास :१३औं हप्तादेखि २८औं हप्तासम्म
– तेस्रो त्रैमास : २९औं हप्तादेखि ३७औं हप्तासम्म

गर्भावस्थामा शरीरमा हुने परिवर्तन

-विभिन्न अध्ययनले देखाए अनुसार गर्भावस्थामा पाचन प्रणालीमा विभिन्न समस्या देखा पर्छ । पाचन प्रक्रियामा चाहिने विभिन्न इन्जाइमको उत्पादनमा गडबडी आउने भएकाले असहजता महसुस हुनु सामान्य मानिन्छ ।

-यो समयमा शरीरलाई अत्यावश्यक पर्ने विभिन्न पोषक तत्त्व जस्तैः क्याल्सियम, आइरन, भिटामिन ‘बी’ १२ र साथै अन्य तत्वहरु सोस्ने प्रक्रिया बढ्छ । यसका साथै शरीरबाट विभिन्न हानिकारक तत्त्व जस्तैः क्रियाटिनाइन, युरिया, युरिक एसिड आदि हट्ने क्रम बढ्छ ।

-गर्भावस्थाको मध्य समयमा शरीरबाट पानीको निष्कासन तुलनात्मक रूपमा बढ्छ र गर्भावस्था परिपक्व हुँदै जाँदा यो दर कम हुन्छ । एमिनो एसिड र आयोडिन पिसाबको माध्यमबाट निस्किने कार्य बढ्छ । तर, क्याल्सियम र भिटामिन बी को निष्कासनमा भने कमी आउँछ ।

-रगतको सम्मिश्रणमा पनि विभिन्न परिवर्तन देखा पर्छन्, जसअन्तर्गत प्लाज्माको आयतन ५० प्रतिशतले र रातो रक्तकोष २० प्रतिशतले बढ्छ । तर, रगतमा हेमोग्लोबिन, भिटामिन ए र एस्कर्भिक अम्लको मात्रामा भने कमी आउँछ । यसका साथै रगतमा फेराटिन, टोकोफेरोल र कोलेस्टेरोलको मात्रा बढ्छ ।

-गर्भावस्थामा महिलाको शरीरमा पानीको मात्रा ७ लिटरसम्म बढ्छ । पर्याप्त मात्रामा पोषिला खानेकुरा खाएका स्वस्थ गर्भवतीको तौल ११ देखि १३ किलोसम्म बढ्न सक्छ ।

गर्भावस्थामा पोषणमा ध्यान दिनुपर्ने कुरा

-गर्भावस्थामा महिलाले आफ्नो मात्र नभई कोखमा हुर्किरहेको नयाँ जीवनको पनि विशेष ख्याल राख्नुपर्छ । खास गरी यो अवधिमा सन्तुलित भोजन र थप पौष्टिक खानेकुरामा जोड दिनुपर्छ । किनकि आमाले खाएको खानाले नै गर्भमा रहेको बच्चाको शारीरिक तथा मानसिक विकासको निर्धारण गर्छ ।

-गर्भावस्थामा शरीरमा दैनिक चाहिने पोषक तत्वको माग बढ्ने भएकाले गर्भवतीलाई थप पोषणको आवश्यकता पर्छ । गर्भवतीको शरीरमा आउने वृद्धि, भ्रुणको तीव्र विकास र शरीरमा विभिन्न मातृ तन्तुहरुको विकासका साथै स्तनको आकारमा हुने वृद्धिका कारण अतिरिक्त पोषण जरुरी हुन्छ । त्यसैले यो अवधिमा दैनिक थप ३५० किलो क्यालोरी र ८२।२ ग्रामका दरले प्रोटिन चाहिन्छ ।

-त्यसका लागि दैनिक भोजनमा पर्याप्त मात्रामा पोषिला र प्रोटिनयुक्त खानेकुरा जस्तैः माछा, मासु, अण्डा, दूध, दही, गेडागुडी, दाल आदि समावेश गर्नुपर्छ ।

-गर्भवतीलाई सामान्य अवस्थामा भन्दा थप मात्रामा खनिजको आवश्यकता पनि उत्तिकै पर्छ । भ्रुणमा हुने हड्डीको विकासका लागि क्याल्सियम, फस्फोरस र भिटामिन ‘डी’ को आपूर्ति गराउन क्याल्सियमयुक्त खानेकुरा दूध, दहीका साथै हरिया सागपात र फलफुल प्रशस्त खानुपर्छ । यसका साथै आइरन, सोडियम, आयोडिन, जिन्क र भिटामिनहरु पनि उत्तिकै आवश्यक हुन्छ ।

-गर्भवती भएको बेला रगतमा हेमोग्लोबिनको मात्रामा कमी आउँछ । यसैले पोषिला खानेकुराका साथै चिकित्सकको सल्लाह अनुसार थप आइरन चक्की पनि खानुपर्छ । शिशुलाई ‘स्पाइना बाइफिडा’ हुन नदिन र उसको मानसिक विकासका दैनिक रूपमा ४ सय माइक्रोग्राम डाएटरी फोलेट (फोलिक एसिड) खानुपर्छ । फोलिक एसिड पाइने खानेकुरा हरिया सागसब्जी, गेडागुडी, सुन्तला, भटमास, गहुँ, बदाम, केराउ आदि हुन् ।

-पाठेघरमा भ्रुणको तीव्र विकास हुने क्रममा तल्लो आन्द्रामा दबाब सिर्जना गर्ने भएकाले कब्जियतको समस्या देखापर्छ । त्यसैले गर्भवतीले फाइबरयुक्त खानेकुरामा जोड दिनुपर्छ । हरिया सागसब्जी, गहुँको पिठो, केरा, अनार, अम्बा, अङ्गुर, अमला जस्ता फलफुलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । पोषणमा ध्यान दिनुका साथै गर्भवतीले ३७औं हप्तासम्म नै स्वास्थ्यकर्मीसँग नियमित रूपमा परामर्श लिइरहनुपर्छ ।

( कार्कीले न्युट्रिसन एन्ड डाइटेटिक्समा बिएससी गरेकी हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *