बाढीपहिरोबाट कृषिमा साढे १४ करोडको क्षति

“
भाद्र २, भरतपुर । यस वर्षको भीषण बाढीपहिरोबाट चितवन जिल्लामा कृषि क्षेत्रमा झन्डै १५ करोड बराबरको क्षति भएको छ । बाढीपहिरोले १६ सय २३ बिघा ११ कठ्ठामा लगाइएको कृषिबालीमा क्षति पु¥याएको हो ।
जिल्ला कृषि विकास कार्यालय भरतपुरले शुक्रवार चितवनमा यसपटकको बाढीपहिरोले कृषिमा १४ करोड ४८ लाख ६४ हजार बराबरको क्षति भएको यथार्थ विवरण सार्वजनिक गरेको छ । जिल्ला कृषि विकास कार्यलयका प्रमुख सुधिर श्रेष्ठले बाढीपहिरोबाट सबैभन्दा बढी क्षति माछामा भएको बताए । उनले भने, ‘यस वर्षको बाढीपहिरोले चितवनमा माछामा मात्र ७ करोड, २८ लाख ६५ हजार बराबरको क्षति गरेको छ ।’ प्रमुख श्रेष्ठका अनुसार चितवनमा ३१६ बिघा २ कठ्ठामा पालिएको माछा बाढीपहिरोले नष्ट गरेको थियो । माछामा सबैभन्दा बढी क्षति माडी नगरपालिकामा भएको छ । माडीमा १०० बिघामा पालिएको माछा बाढीले बगाएको थियो ।
| ठाउँ बाली क्षति अनुमानित (रु) भरतपुर (मपा) धान ५०० बिघा २ करोड |
‘यसपटकको बाढीले चितवन जिल्लामा सबैभन्दा बढी क्षति माडी नगरपालिकामा पु¥याएको छ’ कृषि कार्यालयका प्रमुख श्रेष्ठले भने, ‘माडीमा २ करोड रुपैयाँ बराबरको ५०० बिघाको धान नष्ट भएको छ ।’
चितवन जिल्लाभर ५ करोड ४८ लाख ९६ हजार बराबरको धानखेती नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । चितवनको माडी, भरतपुरनगरपालिका पूर्वीचितवनका विभिन्न भाग गरी १२ सय ८ बिघा १० कठ्ठाको धान खेती नष्ट भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोधनाथ लामिछानेले जानकारी दिए ।
त्यस्तै, चितवनमा रत्ननगरलगायत विभिन्न ठाउँमा गरी १४ बिघा ११ कठ्ठामा ३१ लाख २५ हजार बराबरको केराखेती नोक्शान भएको छ । जिल्लाभर १३ बिघा ३ कठ्ठाको तरकारी नष्ट भएको प्राविधिक सहायक लामिछानेले बताए । उनका अनुसार २४ लाख २० हजार बराबरको तरकारी नोक्शान भएको छ ।
चितवनको पहाडी क्षेत्रहरूमा लगाइएको सुन्तलामा पनि यस वर्षको बाढीले धेरै क्षति पु¥याएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिरोले चितवनका पहाडी क्षेत्रका ७० बिघा सुन्तलामा क्षति गरेको छ । करिब ५२ लाख ५० हजार बराबरको सुन्तला नष्ट गरेको कृषि विकास कार्यालयको भनाइ छ ।
त्यस्तै मासखेती, बेसारखेती, च्याउखेती, रहरखेतीलगायतमा पनि बाढी पहिरोले ठुलै क्षति पु¥याएको छ । १५२ वटा मौरीका घारहरु पनि बाढीले बगाएको छ ।
‘यो विवरणमा घरमा भण्डार गरेर राखेको खाद्यान्नको क्षति समावेश गरिएको छैन’ जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधिर श्रेष्ठले भने, ‘घरमा भण्डार गरेर राखेको क्षतिको मूल्याङ्कन गर्ने हो भने चितवनमा करिब २० करोडबराबरको कृषिमा क्षति हुने देखिन्छ ।’
बाढीपहिरोको असरले यस वर्ष चितवनको पहाडी क्षेत्रमा सुन्तलाको उत्पादन र समथर फाँटहरुमा धानको उत्पादन घट्ने पक्का छ । ‘बाढीका कारण ५ देखि १० प्रतिशतसम्म धानको उत्पादन घट्ने अनुमान गरिएको छ’ प्रमुख श्रेष्ठले भने, ‘क्षतिको विवरण आउनेक्रम दिनहुँ बढिरहेको छ, अहिलेको क्षतिको विवरणमा १/२ प्रतिशत अझ बढ्ने देखिन्छ ।’
“








