धरानमा कालोबजारी बढ्यो

भरतराज शर्मा ‘गोपाल’, धरान । बाढीको मौकामा चौका हान्नेहरु बजारमा बढेका छन् । अहिले बाढीले प्रभावित परेको भन्दै मौका छोपेर कृत्रिम अभाव खडा गरी कालोबजारी गर्नेहरू बढ्दै गएका छन् । पूर्वको विराटनगर, इटहरी, धरान लगायतका व्यवसायीहरु मनपरी गर्न थालेका छन् । अहिले तरकारी बजारमा पुग्यो भने तरकारी छोइन नसक्नु भएको धरान–१० की विनिता चेम्जोङको भनाई छ ।

उनले तरकारी किन्न जाँदा एकमुठा सागको ४५ रुपैयाँ तिर्नुपरेको गुनासो पोखिन् । उहाँले टमाटर पनि किनी नसक्नु भएको समेत बताइन् । अहिले सुनसरीको धरानमा टमाटर १ सय ३० रुपैयाँभन्दा बढी रहेको उनले बताइन् । पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको कोसी लोकमार्ग अन्तर्गत धरान–भेडेटार सडक खण्डमा सवारी आवागमन सुचारु भए पनि तरकारीको भाउ आकासिएको हो ।

‘सडक सुचारु नहुँदा त ठिकै थियो तर अहिले सडक खुलेपछि भाउ उस्तै छ’, धरान–१६ का विशाल क्षत्रीले भन्नुभयो ।

वर्षायाममा धरानमा अधिकांश तरकारी पहाडी क्षेत्रबाट आउँछ । पहाडी भेगबाट आउने अधिकांश तरकारीको भाउ छोइ नसक्नु छ । पहाडी क्षेत्रबाट आउने टमाटरको मूल्य त्यँहा स्थित व्यापारीसँग खरिद गर्दा ५५ रुपैयाँ पर्ने व्यवसायीहरु बताउँछन् तर धरान आइपुग्दा दोब्बर बढी पर्ने गरेको छ ।

चामल व्यापारीहरुले पनि चामलको भाउ बढाउन थालेका छन् । यस्तै, दैनिक जनजीवनसँग सम्बन्धित जुनसुकै वस्तुको भाउ पनि अहिले बढेको व्यापारीहरु नै बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *