राना थारुको ‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सव
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
तिलकराज ओझा, कैलाली । सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी आदिवासी राना चौधरीको सामूहिक रूपमा गरिने ‘हरेरी पूजा’ धनगढी उपमहानगरपालिका–५ को जाइँमा एक महोत्सवका रूपमा बिहीबारदेखि सुरु भएको छ । हरेरी महोत्सव मूल आयोजक समिति धनगढीद्वारा आयोजित उक्त महोत्सवको उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले गर्नुभएको छ । उद्घाटनका क्रममा प्रमुख वडले कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायबीचको सद्भावलाई नखल्बल्याउने किसिमको वातावरण सिर्जना गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
उहाँले विभिन्न धर्म संस्कृति, वेषभूषा, भाषा, रीतिरिवाजको जगेर्ना गर्नका लागि यो महोत्सवको आयोजना गरिनु महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । त्यसै गरी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले हरेरी पूजाले वातावरणीय एवं पर्यावरणीय सन्तुलन कायम राख्ने कुरा वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेकाले यो पूजाकोे संरक्षण तथा सम्वद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो ।
हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक कुलवीर डँगौरा थारुले अति महत्त्वपूर्ण मानिने यो पूजा राज्यको उदासीनता, आधुनिक संस्कृति, संस्कारले गर्दा संरक्षण एवं सम्वद्र्धन हुन नसकी दिन प्रतिदिन लोप भइरहेकाले यस पूजाको संरक्षण एवं सम्वद्र्धन गर्नका लागि थारु जाति र सम्बन्धित सबैको कर्तव्य, जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्ने देखिएको बताउनुभएको छ ।
“भाषा संस्कृति, कला, भेष हमार, पहिचानः हरेरी महोत्सव मनैना सक्कु किसानक अभियान”, उक्त महोत्सवको मूल नारा रहेको छ । संस्कृतिका धनी आदिवासी थारुको सामूहिकरुपमा गरिने चार पूजा (धुरिया पूजा, हरेरी पूजा, लवाङ्गी पूजा, निकासी पूजा) मध्ये हरेरी पूजा एक महत्त्वपूर्ण पूजा हो ।
हरियो खेती, हरियो वन, हरियो मैदान बनाई राख्ने हरेरी पूजाको मुख्य उद्देश्य रहेको छ । हरेरी पूजा गरेपछि लगाइएको बालीनालीमा लाग्ने रोगब्याध (दहिया, महिया, किराकाटी, गांधी, फटिङ्गा) लाग्दैन र बालीनाली सप्रन्छ भन्ने धार्मिक जनविश्वास रहिआएको छ । उक्त महोत्सवमा मुख्य आकर्षणका रूपमा थारु समुदायको लोपोन्मुख मंग्रहवा नाच, लाठी नाच, साखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहेका छन् ।
त्यसै गरी, महोत्सवमा राखिएका विभिन्न स्टलमा विभिन्न थारु समुदायका खानाका परिकार जस्तै ढिक्री, अण्डीको चामलको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी, राना थारु समुदायको खाना, डोटेली समुदायको खानाका परिकार आकर्षणका रूपमा राखिएका छन् । गत वर्षदेखि सुरु गरिएको हरेरी महोत्सवलाई निरन्तरता दिनका लागि यस वर्ष पनि उक्त महोत्सव भाद्र १ गतेदेखि ५ गतेसम्म चल्नेछ । रासस
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)