स्वास्थ्य परीक्षणका नाममा गाम्का नेपालको लुट धन्दा

भाद्र १, काठमाडौँ । खाडीका सात देशमा जाने कामदारलाई स्वास्थ्य परीक्षणका नाममा फेरि आर्थिकभार थप्ने चलखेल सुरु भएको छ । गाम्का नेपालले स्वास्थ्य परीक्षण गर्नु पहिले अनलाइन फारम भर्नुपर्ने भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घमा पत्रचार गरेको हो । अनलाइन फारम भरेर कामदारले १० डलर गल्फ हेल्थ काउन्सिलको खातामा जम्मा गर्नुपर्ने नियम लगाएको छ ।

अनलाइन फारम भर्नु पर्ने र बैङ्कमा रकम जम्मा गरेर मात्रै तोकिएका स्वास्थ्य संस्थामा जानु पर्ने नियम ल्याउन काम्काले चलखेल गरेको हो ।
गएको साउन १५ गतेबाटै यो नियम कार्यन्वयन गर्न गाम्काले पत्रचार गरिसकेको छ । गाम्का नेपालका पब्लिक रिलेसन म्यानेजर मोहन चौलागाईंले साउदी, बहराइन, ओमन, एमन, युएई, कतार र कुवेत जाने कामदारले अब थप रकम तिर्नुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाने युवाले गामका नेपालमा आबद्ध १२ वटा मेडिकल संस्थामा नै पुगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने सिन्डिकेट लगाइएको छ । स्वास्थ्य परीक्षणका नाममा अहिलेपनि यी देशमा जाने कामदारले ५ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन् ।

गामका नेपालले सात महिना पहिले नै नाम दर्ता गरेबापत १० डलर लिने तयारी गरेको थियो । तर म्यानपावर व्यवसायीले त्यसको विरोध गर्दै दुई हप्तासम्म कामदारको स्वास्थ्य परीक्षण रोकेका थिए ।

सरकारले पनि जथावाभी शुल्क नउठाउन गाम्कालाई निर्देशन दिएपछि तत्काल निर्णय कार्यन्वयन नगरेको गाम्काले फेरि गल्फ हेल्थ काउन्सिलसँग मिलेर रकम उठाउन लागेको हो । गाम्काको यो चलखेल सफल भए वैदेशिक रोजगारीमा खाडीका देश जाने कामदारले स्वास्थ्य परीक्षणका नाममा झन्डै ७ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

चौलागाईंले नयाँ नियम लागु नभए स्वास्थ्य परीक्षण गर्न सम्स्या हुने समेत बताउनु भएको छ । उहाँले अहिले गाम्काले प्रयोग गरिरहेको सफ्टवेयर गल्फ हेल्थ काउन्सिलले जुनसुकै बेला बन्द गराउन सक्ने बताउनुभयो ।

वैदेशिक रोजगार व्यवसायीले मानेनन्

गाम्काले निर्णय कार्यन्वयनका लागि सबै म्यानपावर कम्पनीमा जानकारी गराइदिन भन्दै साउन ११ गते वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पत्र पठाएको थियो । तर सङ्घले काम्काको यो निर्णय मान्न नसकिने जनाएको छ । सङ्घका अध्यक्ष रोहन गुरुङले कामदारलाई आर्थिकभार थपिने कार्य नमान्ने भन्दै साउन १३ गते काम्कालाई पत्रको जवाफ पठाउनु भएको छ । गल्फ हेल्थ काउन्सिलले नेपालको श्रम तथा रोजगार मन्त्रालयमा अनुमति नलिएको भन्दै पुरानै प्रक्रियाबाट स्वास्थ्य परीक्षण गर्न सङ्घले काम्कालाई अनुरोध गरेको छ । उज्यालो अनलाईन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *