बाढी पीडित बस्तीमा स्वास्थ्य शिविर र राहत सामाग्री

विपीन शर्मा, मकालु खबर । बाढीबाट प्रभावित क्षेत्रमा भरतपुर अस्पतालले बुधवार स्वास्थ्य शिविर गरी स्थानीयको स्वास्थ्य जाँच गरेको छ । बाढी पश्चात् हुन सक्ने रोगको महामारीलाई मध्यनजर गर्दै जिल्ला दैवि प्रकोप उद्धार समितिको निर्देशनमा भरतपुर अस्पतालले रत्ननगरका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

भरतपुर अस्पतालका डाक्टर कृष्ण पौडेलको नेतृत्वमा रत्ननगर ८ स्थित सुकुमवासी बस्ती रहेको रमाइलो टोल र वगर टोलका बाढी प्रभावित मानिसको स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य जाँचको क्रममा उनीहरू केहीमा ज्वरो आउने,झाडापखला लाग्ने,टाउको दुख्ने समस्या देखिएको डाक्टर पौडेलले बताए ।

मङ्गलवार रत्ननगरका बाढी प्रभावितहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली आएपनि सम्बन्धित क्षेत्रमै नपुगी फर्किएको थियो । बाढी प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य जाँच र अवस्था बुझ्न आएको टोली त्यसै फर्किएपछि बुधवार कायाकैरन दैनिकमा समाचार प्रकाशित भएको थियो । बुधवार स्वास्थ्य जाँच पछि निःशुल्क औषधी समेत वितरण गरिएको डाक्टर पौडेलले बताए ।

बाढीका कारण वगर टोल र रमाइलो टोलका स्थानीय बिरामी परेका छन् । सोही दुई वटा टोलमा भरतपुर अस्पताल,सहिद स्मृति प्रतिष्ठान नेपाल,मन्जु श्री असहायक संरक्षण केन्द्र र मानव अधिकार संरक्षण मञ्चले स्वास्थ्य जाँचसंगै राहत सामाग्री वितरण गरेका छन् । टोलीले बाढी पीडितलाई भुजा,चाउचाउ,झुल,महिलालाई सेनेटरी प्याड लगायतका सामाग्री वितरण गरिएको सहिद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष संगिता भट्टराईले जानकारी दिइन् । २० घरपरिवार रहेको सो टोल शनिवार राती आएको बाढीबाट प्रभावित भएको थियो । ३ घर पूर्ण रूपमा नष्ट भएको र बाँकी घरमा आशिंक क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *