मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एउटाले उत्कृष्ट युवा प्रतिभा भत्र्याइरहँदा, अर्कोले मेसीको उत्तराधिकारी गुमाइरहेछ

साउन ३२, बार्सिलोना– नेइमारलाई पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवाको बाटो खोल्नु परेपछि धरमराएको बार्सिलोना अझै राम्ररी सम्हालिन भ्याइसकेको छैन । मनोबल उच्च पार्न सुखद नतिजा आवश्यक रहेका बेला नेइमारको अनुपस्थितिमा बार्सिलोनाको नयाँ सिजनको सुरुआत निराशाजनक रह्यो । जहाँ चिर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग बढ्दो दूरी टोलीका लागि थप चिन्ताको विषय बनेको छ ।

स्पेनिस सुपर कपको पहिलो लेगमा रियालले आइतबार बार्सिलोनामाथि ३–१ को विजयी नतिजा निकाल्यो । जिनेदिन जिदानको नेतृत्वमा गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगामा गरी दोहोरो उपाधि जितेको रियालले पहिलो खेलमै बार्सिलोनामाथि रबाफ जमाएर आउँदो सिजन पनि सुखद हुने सङ्केत गरेको छ । बुधबार घरेलु सान्टियागो बेर्नाबेउमा हुने दोस्रो लेगमा बार्सिलोनालाई सनसनीपूर्ण पुनरागमनबाट रोक्न सके जिदान नेतृत्वको रियालले दुई वर्षभन्दा कम समयमा सातौं उपाधि उचाल्नेछ ।

गत सिजन रियालले दुई मुख्य प्रतियोगितामा प्रभाव जमाउँदा टोलीमा रहेको प्रतिभाको गहिराइलाई मुख्य कारण मानिएको थियो । रियालसँग बेन्चमा पनि थुप्रै स्तरीय प्रतिभाको विकल्प हुनुले अन्य टोलीसँगको फरक सिर्जना गरेको थियो । आइतबार पनि रियालले त्यही प्रमाणित ग¥यो । क्रिस्टियानो रोनाल्डो र मार्को एसेन्सियोले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर अन्तिम समयमा गोल गरेपछि रियालले बार्सिलोनालाई निरीह साबित गरेको थियो ।

रोनाल्डोले समय सकिन आठ मिनेट बाँकी रहँदा सामना गरेको विवादास्पद रातो कार्डले पनि रियालको प्रभाव कम गर्न सकेन । बरु एसेन्सियोले अन्तिम मिनेटमा गोल गरेर दोस्रो लेगका लागि आधार थप बलियो बनाए । जिदानले विश्व वर्ष खेलाडी रोनाल्डोलाई पहिलो रोजाइमै खेलाउने हतार गर्नुपर्ने कारण पनि देखेनन् । यसले उनी आफ्नो टोलीका अन्य खेलाडी प्रति कति विश्वस्त छन् भन्ने प्रमाण दिन्छ ।

रोनाल्डोले बडो सनसनीपूर्ण पारामा गत सिजनको अन्त्य गरेका थिए । उपाधिसँगै सिजनको अन्त्य गरेपछि उनी धेरैबेर मैदानमै प्रशिक्षक जिदानको अँगालोमा बाँधिएका थिए । यसपालिको लागि पनि जिदान, रोनाल्डो र उनको टोलीको योजना उस्तै छ । सुरुआती दिनमा कर विवादको कारण तनावमा रहेका रोनाल्डोलाई जिदानले मैदान भित्र धेरै उपयोग गर्ने भन्दा पनि ३२ वर्षे सुपरस्टारलाई पुनर्ताजगी दिनेमा जोड दिएका छन् ।

सफल विगतसँगै आगामी दिनका लागि पनि रियालले राम्रो सङ्केत गरिरहँदा बार्सिलोना भने ठीक उल्टो अवस्थामा छ । नेइमार पिएसजी गएपछि पूरै टोली अर्जेन्टिनी फरवार्ड लियोनेल मेसी माथि भर पर्ने अवस्थामा पुगेको छ । जेरार्ड पिकेको आत्मघाती गोलबाट रियालले अग्रता लिए पनि मेसीले पेनाल्टीमा गोल गर्दै आइतबार बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

क्लब व्यवस्थापन माथिको दबाब बढाउने क्रममा मिडफिल्डर सर्जियो बुस्केटसले टोलीमा शीर्ष स्तरका खेलाडीहरू भित्र्याउनुपर्ने बताएका छन् । बढ्दो उमेरका खेलाडीबाट शीर्ष स्तरमा सफलता पाउन नसकिने भन्दै उनले नयाँ खेलाडी ल्याउन दबाब दिएका हुन् । यसै गरी टोलीका नयाँ प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले पनि अगस्ट ३१ मा सरुवा बजार बन्द हुनु भन्दा अघि आफूले पनि ‘उत्कृष्ट टोली’ चाहेको बताएका छन् । बार्सिलोनाबाट निस्कने खेलकुद पत्रिकाहरूले पनि बार्सिलोनाले तत्काल नयाँ खेलाडी भित्र्याउनु पर्ने भन्दै क्लब व्यवस्थापनलाई दबाब दिइरहेका छन् ।

पछिल्ला वर्षहरूमा बार्सिलोना सरुवा बजारमा खास सक्रिय थिएन । सरुवा बजारमा निरन्तर सुस्ताउनुको मूल्य बार्सिलोनाले आइतबार चुकाउनु प¥यो । रियालका लागि इन्जुरी समयमा एसेन्सियोले गोल गरेपछि बार्सिलोना निराश भएको थियो । तीन वर्षअघि रियाल मायोर्कालाई किस्ताबन्दीमा ४० लाख युरो तिर्न असहमति जनाउँदा स्पेनिस फुटबलका उदीयमान स्टार एसेन्सियोलाई भित्र्याउन सकेको थिएन । रियालले त्यही मौकामा एसेन्सियोलाई सान्टियागो बेर्नाबेउ लगेको थियो । हाल भर्खर २१ वर्ष भएका एसेन्सियोले जुनमा सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा पनि गोल गरेका थिए । बार्सिलोना विरुद्ध सम्पन्न पछिल्ला दुई अवे खेलमा एसेन्सियोले गोल गरेका छन् ।

‘एसेन्सियोका कारण रियाल र बार्सिलोनाबीच ठूलो अन्तर सिर्जना भएको छ,’ मड्रिडबाट प्रकाशित हुने खेलकुद दैनिक मार्काले छापेको छ, ‘एउटा उपाधि जिति रहेको छ, अर्को लगातार हारिरहेको छ । एउटाले विश्वकै उत्कृष्ट युवा प्रतिभाहरुलाई भत्र्याइरहेको छ, अर्को मेसीको उत्तराधिकारी गुमाइरहेको छ ।’

स्पेनिस फुटबलको बदलिँदो तरंग क्याम्प नोउको प्यारापिटमा पनि प्रस्तुत हुन थालेको छ । रियाल र बार्सिलोनाबीच हुने कुनै पनि ‘अल क्लासिको’ विश्वभरका समर्थकका लागि आकर्षणको विषय बन्ने गरेको छ । विश्वभरबाट अल क्लासिको हेर्न समर्थकहरू स्पेन भ्रमणमा निस्कने गर्छन् । क्याम्प नोउमा हुने अल क्लासिकोमा रियालले दर्शकबाट स्वाभाविक रूपमा न्यानो माया पाउँदैन । तर, आइतबार भएको खेलको दृश्य फरक थियो । रियालको टोलीले विगत जस्तो रूखो व्यवहार सामना गर्नु परेन । बरु हजारौंको संख्यामा सेतो जर्सी लगाएका समर्थकले भ्रमणकारी टोलीलाई हौस्याइरहे । रियालले गोल गर्दा बार्सिलोनाको रंगशाला खुसीले झुम्यो ।

‘समर्थकको बदलिएको व्यवहार हाम्रा लागि चिन्ताको विषय हो । हामीले समर्थकलाई धेरै निराश बनाएका हौं । आफ्नो रंगशालामा आफ्नै समर्थकले विपक्षी टोलीको समर्थन गरेको देख्नु एउटा खेलाडी र टोलीका लागि प्रिय कुरा होइन,’ बार्सिलोनाका कप्तान आन्द्रियास इनियस्टाले भने ।

क्याट्लान टेलिभिजनका एक कमेन्टेटरले खेलको प्रत्यक्ष प्रसारण गर्ने क्रममा भनेका थिए, ‘क्याम्प नोउ अहिले बेर्नाबेउजस्तो भइरहेको छ ।’ रोनाल्डोले गोल गर्दै रियालको अग्रता पुनस्र्थापित गरेपछि प्यारापिटका दर्शकले खुसी मनाइरहँदा कमेन्टेटरले यस्तो भनेका थिए ।

प्रतिकृयाहरु
Loading...