नेपाल–चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर
“
साउन ३१, मकालु खबर । नेपाल–चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मङ्गलवार काठमाडौँमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा चीनले तातोपानी नाका खुलाउन करिब १५ अरब आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहित ३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । अरनिको राजमार्गलाई स्तरोन्नति गरेर तातोपानी नाका खुलाउन चीन सरकारले करिब १५ अरब आर्थिक सहायता उपलब्ध गराउने समझदार पत्रमा हस्ताक्षर गरिएको अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए । सो रकम रसुवाको टिमुरेमा पुल निर्माणमा खर्च गरिनेछ ।
बैठकमा नेपालको हिमाल, पहाड र तराईमा पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्न चीनले सवाँ २ अरब आर्थिक सहायता उपलब्ध गराउने समझदारी पनि भएको छ । त्यसै गरी, नेपालको पूर्वाधार विकासमा जोड दिएर लगानी भित्र्याउने समझदारी पत्रमा चीन र नेपालबीच हस्ताक्षर भएको छ । नेपालको सडक मार्ग, रेलमार्ग, वन, पर्यटन, जलविद्युत क्षेत्रको विकासका लागि चीनले लगानी भित्रयाउन खोजेकाले सोको प्रारुप तय गर्न समझदारी गरिएको अर्थ सचिव सुवेदीले बताए । समझदारी छिटो कार्यान्वयनमा लैैजान पनि दुवै मुलुक सहमत भएका छन् । समयको सीमा नतोकी भएका समझदारी छिटो कार्यान्वयनमा लैजाने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।
बैठकमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको स्थायित्व र विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यता, नेपाली पक्षले पनि तातोपानी नाका खुलाउन चिनियाँ पक्षको पुनः ध्यानाकर्षण गराएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गरेका थिए । बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
“