विद्युत् सेवा अवरुद्ध

बझाङ, ३१ साउन । विदेशी दाताको सहयोगमा झण्डै रु ८६ करोडको लागतमा डोगडीस्थित सुर्मादेवी साना जलविद्युत् आयोजना मर्मत सम्पन्न भएको एक वर्ष नबित्दै पुरानै अवस्थामा पुगेको छ । यति ठूलो रकम लगानी गरेर २०० किलोवाट क्षमताको उक्त आयोजना मर्मत गरिएको थियो । यति नै रकममा अर्को आयोजना निर्माण गर्न सकिने प्राधिकरणका कर्मचारी बताउँछन् ।

सदरमुकाम चैनपुर आसपास क्षेत्रका बासिन्दाका लागि २०४९ सालमा जापान सरकारको सहयोगमा निर्माण गरिएको सुर्मादेवी साना जलविद्युत् आयोजनाको मर्मत पनि जापान सरकारको अनुदान सहयोगमा नै भएको हो । जापानी निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको केही महिना नबित्दै विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो ।

सो कम्पनीले तोकिएको समयमा सबैकाम सम्पन्न नगरी बिचैमा काम छोडेको थियो । मर्मत योजनामा नै त्रुटी रहेका कारण पानी प्रवाहमा समस्या देखिएको हो । बाँधबाट इन्टेकसम्म पानी लैजाने नहर विभिन्न ठाउँमा चुहिने र बर्खाको समयमा बाँध नै भत्काउँदा समस्या भएको विद्युत् प्राधिकरणका प्रमुख लक्ष्मण जाग्रीले बताउनुभयो ।


“हिउँदमा पानी कम भएर विद्युत् अनियमित हुने गर्छ, बर्खामा बाउली खोलामा बाढी आउँदा बाँध भत्काउने भएकाले विद्युत् अनियमित हुन्छ,” उहाँले भन्नुभयो । विद्युत् अनियमित हुँदा यहाँका सरकारी कार्यालयको कामकाज, व्यापार र उद्योग व्यवसाय नराम्ररी प्रभावित बनेको थियो । समस्या समाधानका लागि पहल गरिरहेका प्रमुख जिल्ला अधिकारी केशवबहादुर थापाको सरुवा भएपछि अन्योलता देखिएको नागरिक समाजका अगुवा धर्मजंग सिंह बताउनुहुन्छ ।

“प्राधिकरण र निमार्ण कम्पनीलाई जानकारी गराउँदै आएका छौँ, सुनुवाइ भएको छैन,” उहाँले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतिकरण विभागका निर्देशक रामेश्वर कल्वारले समस्याबारे प्राधिकरण जानकार रहेको र यस विषयमा निर्माण कम्पनीसँग छलफल गरिरहेको बताउनुभयो । निर्माणमा त्रुटी भएको विषयमा परामर्शदाता निकाय जापान सहयोग नियोग र निर्माण कम्पनीलाई जानकारी गराइसकेको उहाँको भनाइ छ । सांसद चन्द्रादेवी जोशीले जिल्लालाई राष्ट्रिय प्रसारण लाइनसँग जोड्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *