रोनाल्डो पाँच खेलको लागि प्रतिबन्धित, बर्नाबाउमा दोश्रो लेगको खेल गुमाउने पक्का

एजेन्सी – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन् । रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए ।

उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो । स्पेनिस फुटबल एसोसिएसनको नियम अनुसार रेफ्री माथी हात लगाउदा ४ खेलदेखी १२ खेलसम्म गुमाउने निश्चित हुन्छ । रेफ्री डी बुर्गोसले आफ्नो खेलपछिको प्रतिवेदनमा रोनाल्डोले धकेलेको पनि खुलाएका कारण उनले सजाय पाएका हुन् । ‘रातो कार्डको सामना गरेपछि रोनाल्डोले मलाई असहमतिमा धकेले’, रेफ्रीको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

आइतबार रातिको खेलमा पहिलो रोजाइमा नपरेका कारण ५८ औं  मिनेटमा मैदान प्रवेश गरेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ८० औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियलले खेलमा पुन: अग्रता लिएको थियो । रोनाल्डोले इस्कोको पास लिएर पिकेलाई छक्याउँदै बक्स बाहिरबाट गरेको प्रहार टप कर्नरमा उत्कृष्ट ढंगले छिरेको थियो । उनले उक्त गोलको खुशी मनाउने क्रममा जर्सी उतारेपछि पहेंलो कार्ड पाएका थिए ।

त्यसको १ मिनेटपछि रोनाल्डो अर्को आक्रमणका क्रममा बक्सभित्र बार्सिलोनाका स्यामुएल उम्टिटीले फल हानेको जनाउदै बक्सभित्र लडे । तर, रेफ्रीले रोनाल्डोलाई फल नहानेको र उनले डाइभ दिएको आरोपमा दोश्रो पहेंलो कार्ड देखाउँदै रातो कार्ड दिए । रेफ्रीले दोहोरो पहेंलो कार्ड देखाएपछि रोनाल्डोले रेफ्रीलाई हातले पेलेका थिए ।

यस प्रतिबन्धसँगै रोनाल्डोले रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुने दोश्रो लेगको खेल गुमाउने पक्का भएको छ । यद्दपी उनले बाँकी ४ खेलको प्रतिबन्धका लागि भने १० दिनसम्ममा अपिल गर्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *