बार्सिलोनाको घरेलु मैदानमा रियल म्याड्रिड विजयी

एजेन्सी – स्पेनिस सुपर कप अन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको पहिलो लेगको खेलमा रियल म्याड्रिड ३-१ ले विजयी भएको छ। रियलका रोनाल्डोले दोहोरो पहेंलो कार्ड पाएपछि अन्तिम समयमा १० खेलाडीमा सिमित रियलले पहिलो लेगमा राम्रो अग्रता बनाएको छ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोश्रो हाफको ५ मिनेट नबित्दै रियलले खेलमा अग्रता लियो । लेफ ब्याक मार्सेलोले क्रस गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लियर गर्न खोज्दा आफ्नै पोष्टतर्फ गोल हुन् पुगेको थियो । त्यसपछि खेलको ७७ औं मिनेटमा गोलरक्षक कलर नाभासले बार्सिलोनाका फरवार्ड लुइस सुआरेजलाई लडाएपछि रेफ्रीले बार्सालाई पेनाल्टी दिए । लिओनेल मेस्सीले उक्त पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो रोजाइमा नपरेका कारण ५८ औं  मिनेटमा मैदान प्रवेश गरेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ८० औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियलले खेलमा पुन: अग्रता लियो । रोनाल्डोले इस्कोको पास लिएर पिकेलाई छक्याउँदै बक्स बाहिरबाट गरेको प्रहार टप कर्नरमा उत्कृष्ट ढंगले छिरेको थियो । उनले उक्त गोलको खुशी मनाउने क्रममा जर्सी उतारेपछि पहेंलो कार्ड पाएका थिए ।

त्यसको १ मिनेटपछि रोनाल्डो अर्को आक्रमणका क्रममा बक्सभित्र बार्सिलोनाका स्यामुएल उम्टिटीले फल हानेको जनाउदै बक्सभित्र लडे । तर, रेफ्रीले रोनाल्डोलाई फल नहानेको र उनले डाइभ दिएको आरोपमा दोश्रो पहेंलो कार्ड देखाउँदै रातो कार्ड दिए । १० खेलाडीमा सिमित रियलका लागि ९० औं मिनेटमा मार्को एसेन्सियोले गोल गरेका थिए । उनले लुकास भाज्केजको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए ।

पहिलो लेगमा ३-१ को अग्रता लिएको रियलले दोश्रो लेगक लागि बार्सिलोनालाई घरेलु मैदान सान्टियागो बर्नाबाउमा आमन्त्रण गर्नेछ । त्यस खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डो भने उपस्थित हुने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =