उत्तर कोरिया र अमेरिकाबीच होला त संवाद ?

काठमाडौं, साउन ३० । बीबीसीमा डा.जोन निल्सन राइटले उत्तर कोरिया र अमेरिकाबीच अहिले चलिरहेको विवादलाई विषय बनाएर एउटा लामै विश्लेषणात्मक लेख लेखेका छन् ।

राइट लेख्छन्– उत्तर कोरियाले गरिरहेको क्षेप्यास्त्र परीक्षणलाई लिएर लामो समयदेखि चलिरहेको तनाव त्यतिखेर चरमोत्कर्षमा पुग्यो, जब उसले गत जुलाईमा दुईवटा अन्तर महाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण गर्यो । उत्तर कोरियाको यो परीक्षणपछि संयुक्त राष्ट्र संघले नयाँ प्रतिबन्ध लगायो भने अमेरिका र उत्तर कोरियाबीच युद्धको भाषामा कुराकानी हुन थाल्यो । अहिले पनि दुवैतिरबाट वक्तव्य र चेतावनीको क्रम जारी छ ।

लेखमा राइटले प्रश्न उठाएका छन्– आखिरमा उत्तर कोरियाका नेता किम जोङ ऊनको चाहना के हो ? के अमेरिकाले उत्तर कोरियालाई परमाणु र मिसाइल परीक्षण कार्यक्रम छोड्ने हो भने केही सहुलियत दिन सक्छ ?

अनेकौं चेतावनी दिँदा पनि उत्तर कोरियाको शैलीमा परिवर्तन नआएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि क्रुद्ध बन्दै भनेका थिए– उत्तर कोरियाले त्यस्तो हमलाको सामना गर्नुपर्नेछ, जसलाई दुनियाँले अहिलेसम्म देखेकै छैन ।

तर ट्रम्पको यो चेतावनीपछि उत्तर कोरिया हच्किनुको साटो झनै ज्याद्रो बन्यो । उसले प्रत्युत्तरमा अमेरिका अधीनस्थ गुआम टापुमा हमला गर्ने आफ्नो योजना सार्वजनिक गर्यो र सँगै अमेरिकाको मुख्य भूमिमा समेत आक्रमण गर्ने चेतावनी दियो । यो स्थितिमा अब कुन चाहिँ राजनीतिक उपायले यी दुई देशको अहङ्कार मत्थर पारेर सम्भावित नोक्सानीबाट दुवै देशलाई र सँगै विश्वसमुदायलाई नै बचाउन सकिन्छ भन्ने गम्भीर प्रश्न उठेको छ । यद्यपि त्यस्तो उपाय अहिलेसम्म स्पष्ट छैन । अमेरिकी विदेशमन्त्री र ट्रम्प प्रशासनका अन्य अधिकारीहरूले राजनीतिक प्रक्रियामार्फत यो तनाव कम गर्नुपर्छ भनेर जोड दिइरहेका भए पनि तत्काल त्यस्तो सम्भावना देखिँदैन ।

राइटका अनुसार विगतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च शासक किम जोङ ऊनसँग कुराकानी गर्ने इच्छा प्रकट गरेका थिए । तर उत्तर कोरियाले कहिल्यै पनि संवादका लागि रुचि र उत्सुकता देखाएन । मनिलामा भएको एसियाली मञ्चको बैठकमा दक्षिण कोरियाले राखेको कुराकानीको प्रस्तावमाथि पनि उ्रत्तर कोरियाले कुनै चासो दिएन । विगतमा भएका राजनीतिक सम्झौताहरूलाई उत्तर कोरियाले निरन्तर उल्लङ्घन गर्दै आएको सन्दर्भमा अब संवाद र सम्झौता हुने नै भयो भने पनि अमेरिकाले कुन विश्वासको जगमा टेकेर उत्तर कोरियालाई विश्वास गर्ने भन्ने टड्कारो प्रश्न विश्व राजनीतिक वृत्तमा उठिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *