चितवनका खोलाहरु नै डरलाग्दो बन्यो


चितवनको सौराहामा हात्तीबाट बाढी पिडितलाई उद्दार गरिँदै, तस्विरः मकालु खबर

किशोर खनाल, भरतपुर । तीन दिनको अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा चितवनमा दुई जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– ३ स्थित बारबाङ खोलाले बगाएर स्थानीय २२ वर्षीय कमल भनिने समनबहादुर प्रजाको मृत्यु भएको हो । शनिवार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव आइतबार बिहान फेला परेको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै, राप्ती नगरपालिका–८ स्थित पम्फाखोलाले बगाउँदा ३५ वर्षीया गुमकुमारी रानामगरको निधन भएको चितनव प्रहरीले जनाएको छ । त्यस्तै राप्ती ६ प्यारी ढापमा गए राति बाढीका कारणले घर भत्कँदा ७४ वर्षीय फूलमती प्रजाको च्यापिएर मृत्यु भएको छ । चितवनको माडी र पूर्वीचितवनमा प्रशस्त खोलाहरु छन् । ती खोलाहरु नै डरलाग्दो भएर निस्केका छन् । चितवनमा खोलाले बगाएर २ को मृत्यु भएपछि बर्सेनि आउने बाढीहरुमा चितवनका खोलाहरु डरलाग्दो भएर निस्केका हुन्छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख एसपी दीपक थापा, भरतपुर महानगरकी मेयर रेणु दाहाल, स्थानीय विकास अधिकारीलगायतले आइतबार चितवनमा बाढीबाट प्रभावित स्थानहरूको अनुमगन गरेका छन् । अनुगमनका क्रममा उनीहरूले चितवनका खोलाहरु नै बाढीमा डरलाग्दो हुने गरेको बताए । माडी नगरपालिकामा पर्ने रिउ, पूर्वीचितवनको लोथर, कयरलगायतका खोला बढेर बस्तीमा पसेपछि त्यहाँको जनजीवन प्रभावित भएको हो ।

चितवनका अन्य खोलाहरु उर्लेर मानिसको मृत्यु नै भए पनि यहाँको ठुलो नदी नारायणी उग्र देखिएको छैन । अघिल्लो वर्षहरूमा अन्य नदी तथा खोलाको तुलनामा नारायणीमा उच्च बहाव रहने गरेकोमा यस पटक अर्लट लेभलबाट तल नै रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

राप्तीमा आएको बाढीको डुबानमा परेका बालबालिकाहरुलाई सेनाको हेलिकप्टरले उद्धार गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरमा रहेको आशा बालगृह डुबानमा परेपछि हेलिकप्टर मगाइ उनीहरूको तत्कालै उद्धार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भरतपुर माहानगरकी मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापासहित सुरक्षाकर्मीको टोली त्यहाँ पुगे पनि उद्धार गर्न नसकेपछि हेलिकप्टर मगाइएको थियो ।

बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम

बाढी प्रभावित क्षेत्रहरूमा विभिन्न किसिमका महामारी फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । तीन दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारणले देशको तराई भूभागमा भीषण बाढी आएको छ । धेरै जनधनको क्षति भएको छ ।

बाढीबाट चितवनका बस्तीहरु पनि प्रभावित भएको छ । माडी, सौराहा, जगतपुर, पटिहानी, पूर्वीचितवन र पश्चिमचितवनका केही भूभाग बाढीबाट धेरै प्रभावित भएका छन् । जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले बाढीका कारणले विभिन्न रोगको महामारी फैलिन सक्ने सम्भावना बढी हुने बताए । उनले बाढी प्रभावित क्षेत्रमा पानी र किटजन्य महामारी फैलिन सक्ने बताए । यसपटकको बाढीबाट चितवन, नवलपरासी, मकवानपुरलगायत तराई मधेसका सहरी तथा ग्रामीण क्षेत्र प्रभावित छ । ‘बाढीको पानी सुकेपछि पानी र खाद्यजन्य महामारी एकदिनमै फैलिन सक्ने सम्भावना हुन्छ’ प्रमुख झाले भने, ‘झाडापखाला, हैजा, टाइफाइड, जण्डिस हेपाटाइटिसलगायतका रोगहरू फैलिन सक्छ ।’ उनको भनाइअनुसार खाना र पानीजन्य रोग देखिने सम्भावना बढी हुन्छ ।

बाढीबाट चितवनको माडी, सौराहा, पूर्वीचितवनका विभिन्न भागमा बाढी बढी आएको हुनाले सो क्षेत्रमा महामारीको जोखिम उच्च रहने चिकित्सकहरुको भनाइ छ । यति बेला आँखा पाक्ने रोग बढी देखिन सक्छ । बाढी प्रभावित क्षेत्रमा पानीका कारणले रोगको महामारी फैलिन सक्छ । बाढी प्रभावित क्षेत्रमा शुद्ध पौष्टिक खाना र शुद्ध पानी पिउनुपर्ने जनस्वाथ्य कार्यालयका भेक्टर कन्टोल निरीक्षक राम केसीले बताए । ‘बाढी प्रभावित जनताले पानी उमालेर खानुपर्छ । चर्पीमा मात्र दिसापिसाब गर्नुपर्छ’ जनस्वास्थ्य प्रमुख झाले भने ।

उनले स्वास्थ्यकर्मीहरुलाई टोलटोलमा गएर सचेतना दिन आफूले निर्देशन दिएको बताए । उनले भने, ‘हामीले महामारी फैलिन नदिन सचेतना अपनाएका छौँ, औषधिहरु वितरण गरिरहेका छौँ । जिल्लाभर महामारी फैलिन नदिन औषधि वितरण गरिरहेका छौँ ।’
एक दशकअघि बाढीको ६ सातापछि बाँकेमा औंलोको महामारी फैलिएको उदाहरण दिँदै झाले भने, ‘त्यस्तो महामारी यहाँ पनि फैलिन सक्छ, त्यसैले सबैपक्ष निकै सजग हुनुपर्छ ।’

बाढी प्रभावित क्षेत्रमा झाडापखाला र औलो फैलिने क्रम विगतमा समेत देखिएको छ । करिब ३ वर्षअघि बाँके, बर्दिया र सुर्खेतका बाढीपीडितमा झाडापखालाको समस्या देखिएको थियो । बाढी र पहिरोका कारण खानेपानीको मुहान दुषित हुने गर्छ । दुषित पानी सेवन गर्नु हुँदैन । ‘यस्तो बेलामा सरुवा रोगको जोखिम उच्च हुने गर्छ । बाढी प्रभावित क्षेत्रमा रुघाखोकी, ज्वरो, हैजा, झाडापखाला, जण्डिस, टाइफाइडको जोखिम उच्च रहन्छ’ प्रमुख झाले भने, ‘हामी यस विषयमा गम्भीर छौँ र स्थलगत अवलोकन गरी औषधि बाँडिरहेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *