बाढी-पहिरोपछि फैलिन सक्ने रोग र जोगिने उपाय

‘धेरै रोग त अशुद्ध पानीकै कारण लाग्ने र फैलिने भएकाले पानी शुद्धीकरण गरेर मात्रै पिउनु जरुरी हुन्छ। सकेसम्म उमालेर पिउने, तर यसो गर्न सकिने अवस्था भएन भने पियूषजस्ता पानी शुद्ध बनाउने औषधि हालेर पिउने गर्नुपर्छ’

डा. अनुप बाँस्तोला

यतिबेला देशका विभिन्न भागका बासिन्दा बाढी-पहिरोको चेपटामा छन्। खासगरी तराईका बासिन्दा डुबानमा परेपछि घर छाडेर सुरक्षित स्थानमा सरेका छन्। बाढी-पहिरोबाट विस्थापित भएकाहरुको सामूहिक बसाइ हुने भएकाले खाना, शुद्ध पिउने पानी, उचित शौच जस्ता अत्यावश्यक कुरामा समस्या पर्छ। यस्तो बेलामा लामखुट्टे, मुुसा र सर्पका कारण पनि रोगको जोखिम बढ्नेगर्छ। त्यसैले प्रकृतिक प्रकोपपछि विभिन्न रोगले महामारीकै रुप लिने गरेका उदाहरण छन्।

के–के रोग फैलिन सक्छन् ? 

प्रकोपपछि खाने पानीका मुहान दूषित हुन्छन्। शुद्धीकरण तथा निर्मलीकरणका विकल्प पनि कम हुन्छन्। जसले गर्दा पानीजन्य रोग बढ्ने सम्भावना अधिक हुन्छ। अशुद्ध पानीका कारण धेरै फैलिने रोग डायरिया हो। हेपाटाइटिइटिस ए र ई को जोखिम पनि बढ्न सक्छ। ज्वरो आउने, बान्ता हुने, खान मन नलाग्ने आदि हेपाटाइटिस ए र ई का लक्षण हुनसक्छन्।  यो कहिलेकाहीँ जन्डिसकै तहसम्म पनि पुग्न सक्छ।

कीटजन्य रोगको जोखिम पनि यस्तै बेला बढी देखिने गरेको छ। बाढीले जताजतै फोहोर पानी जमेको हुनाले यो समय लामखुट्टेको वृद्धि हुन्छ। लामखुट्टेका कारण डेँगु, कालजार, मलेरिया, चिकनगुनियाँ जस्ता रोग लाग्छन्।

बाढीका कारण मुसाहरु मर्छन्। मुसाहरुमा रहेको एक प्रकारको ब्याक्टेरियाका कारण लेप्टोस्पाइरोसिस भन्ने रोग लाग्छ। मुसा मरेपछि यी ब्याक्टेरिया पानीमा मिसिन्छिन् र घाउ वा अन्य माध्यमबाट मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ।

बाढी पहिरोका कारण सर्पहरु दुलोबाट निस्केर सुरक्षित ठाउँतिर लाग्छन्। सुरक्षित ठाउँ निकै कम हुने भएकाले घर वा विस्थापित भएर मानिसहरुले अस्थायी बसोबास गर्ने ठाउँमा सर्पको बिगबिगी हुन सक्छ। जसका कारण सर्पदंशको जोखिम पनि बढ्न सक्छ।

कसरी जोगिने ?

धेरै रोग त अशुद्ध पानीकै कारण लाग्ने र फैलिने भएकाले पानी शुद्धीकरण गरेर मात्रै पिउनु जरुरी हुन्छ। सकेसम्म उमालेर पिउने, तर यसो गर्न सकिने अवस्था भएन भने पियूषजस्ता पानी शुद्ध बनाउने औषधि हालेर पिउने गर्नुपर्छ।

सामूहिक बसोबासमा शौचालयको व्यवस्था हुने गरेको पाइँदैन। खाद्यान्य र अन्य कुरामा ध्यान दिँदादिँदै शौचालयबारे सोच्ने फुर्सद धेरैलाई हुँदैन। तर, शौचालयको उचित व्यवस्था नहुँदा पनि रोग फैलिने डर हुन्छ। त्यसैले सामूहिक बसोबासका बेला पनि शौच गर्ने ठाउँको व्यवस्थापन सँगै गर्नुपर्छ। किनभने जथाभावी शौच गर्दा फोहोर बढेर मात्रै होइन, पानीमा मिसिएर पनि रोग लाग्ने गर्छ।

यस्तै, लामखुट्टेबाट जोगिने उपाय अपनाउनुपर्छ। यसका लागि राति अनावश्यक बाहिर ननिस्किने, झुल टाँगेर सुत्ने, लामो बाहुला भएको लुगा लगाउने आदि उपाय छन्।

यसैगरी, सर्पबाट जोगिन सर्प हुने सम्भावित ठाउँतिर जानु हुँदैन। आफू बस्ने ठाउँ वरिपरि सरसफाई गर्नुपर्छ।

यस्तो बेला खानाको समस्या हुन्छ। त्यसैले जस्तो पायो त्यस्तै खाने गरेको पाइन्छ। बासी, सडेगलेका खानेकुरा सकेसम्म नखाने र नखुवाउने गर्नुपर्छ।

स्वास्थ्य खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *