लाखे नाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो


“
नुवाकोट, २९ साउन । नेवार समुदायको परम्परागत लाखे नाचको संरक्षण र प्रचारका लागि भन्दै नुवाकोटको बट्टार बजारमा आयोजित संगम लाखे नाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो भएको छ । संगम बचत तथा ऋण सहकारी संस्थाले १३ औँं वार्षिकोत्सवका अवसरमा शनिबार सञ्चालन गरेको प्रतियोगितामा पीपलटार लाखे समूह कोलनी दोस्रो तथा गंगटे लाखे समूह तेस्रो भएका छन् । प्रतियोगितामा बट्टार लाखे समूह र विदुर लाखे समूहले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगितामा बगुवा लाखे समूहले उत्कृष्ट मुखुण्डोको पुरस्कार पाएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार र सान्त्वना हुनेलाई रु दुई हजार नगदसहित पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए । विजयीलाई विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले पुरस्कार वितरण गर्दै नेवार समुदायको लाखे नाच सबै नेपालीको पहिचान जनाउने संस्कृति भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले जिल्लामा नेवार समुदायको बस्ती बाक्लो भए पनि लाखे नाचको प्रचलन सदरमुकाम र वरपर मात्र सीमित हुन थालेकाले नाचको महत्व दर्शाउनका लागि पनि प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो ।
नेवार संस्कृतिविद् नरेन्द्र प्रधानले जिल्लामा लाखे समूह २० भन्दा धेरै भए पनि अहिले प्रतियोगितामा थोरै मात्र सहभागी भएको बताउँदै लाखे नाच सञ्चालन गर्न खर्चिलो भएकाले नाच प्रदर्शन कम हँुदै गएको बताउनुभयो । “सरकारी तवरबाट लाखे नाच संरक्षणको कुनै कार्य नभएपछि एउटा संस्थाले यसलाई प्राथमिकता दिनु राम्रो हो” उहाँले भन्नुभयो, “संस्कृति संरक्षणमा सबै संघसंस्था र व्यक्ति सक्रिय हुनुपर्छ ।”
जिल्लामा बट्टार, बेत्रावती, देवीघाट, त्रिशूली, दुईपीपल, नुवाकोट, खरानीटार, रालुका, तारुकालगायत स्थानमा गाईजात्राका अवसरमा लाखे नाच प्रदर्शन गरिन्छ । पछिल्लो समय भने नाच लोपोन्मुख अवस्थामा रहेको छ । रासस
“
