खोज तथा उद्धारमा सबै सुरक्षा निकाय परिचालन
“
काठमाडौं, साउन २८ । सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको जनाएको छ ।
गृहमन्त्रालयले आज एक सार्वजनिक अपिल जारी गर्दै प्रभावितको खोज तथा उद्धारका लागि तालीम प्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्तिहरूको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको हो । मन्त्रालयले झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके जिल्लाका विभिन्न स्थान बाढी र डुबानबाट बढी प्रभावित भएको भन्दै सरकारका सबै निकायबीच आवश्यक समन्वय गरी प्रतिकार्य अगाडि बढाइएको उल्लेख गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले देशका विभिन्न नदीको जल सतह बढिरहेको र केही नदीको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नोतर्फबाट उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभयो ।
“