बाढीले सप्तरीमा तीन हजार घर डुबायो, एक हजार परिवार विस्थापित

(सुरेश झा÷ अरुण यादव)

राजविराज (सप्तरी), साउन २८। चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् ।

अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । साथै सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी नजिकका बासिन्दा त्रसित भएका छन् ।

जिल्लाको खाँडो, बिगुल, जिता, मोहुली, खडक र बलान खोलामा आएको बाढीले जिल्लाको दक्षिण पूर्र्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिका आज डुबानमा परेका छन् ।

बाढीका कारण यातायात, कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । राजविराज लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा रहेका सरकारी कार्यालयको परिसरमा तीन फिटसम्म पानी पसेको छ ।

राजविराजको मुख्य सडकमा तीन फिट भन्दा माथि पानी जमेको छ भने राजविराजको वडा नं १, २, ३, ४, ५ देखि १५ वडासम्म डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लाको पूर्वी भेगको मोहुली खोलामा आएको बाढीले कंचनरुप नगरपालिका– ७ र ८ वडा, तिरुहुत गाउँपालिकाको भेडिया, मैनाकडेरी, गोइठी पिप्राहीलगायतको ठाउँ डुबानमा परेको स्थानीय विनाइ तिवारीले बताए । हनुमाननगर कंकालनी नगरपालिका– १ देखि १४ वडाको पोर्ताहा, भारदह, मधुवापुर, बेरवा, सकरदही, जोगीनीयाँ, हनुमानगर र सप्तरीकै अति विकट मानिएको कोशी टप्पुमा अवस्थित कोशी नदीबाट आएको पानीले गोवरगाढाको बस्ती पूर्णरुपमा जलमग्न भएको छ ।

त्यस्तै सोही नगरपालिका– २ स्थित सकरदही र भारदहको बीचमा रहेको पश्चिमी नहरमा पानी निकासी बन्द हुँदा सयौँ घर डुबानमा परेको हनुमानगर कंकालनी नगरपालिकाका श्यामसुन्दर खड्काले बताए ।
यसैगरी जिल्लाको पश्चिममा रहेको बलान खोलामा आएको बाढीले डाकनेश्वरी, बोदेवरसाइन नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् ।

खडक नदीमा आएको बाढीले बोदेवरसाइन नगरपालिका–६ स्थित जोगीयाटोलमा कटान सुरु भएको र त्यहाँ त्रासको अवस्था रहेको स्थानीयवासीले जनाएका छन् ।

सो नदीले करिब दुई सय मिटर गाउँकोसमेत जमिन कटान गरेको स्थानीयवासी रोशन गोइँतले बताए । यसैगरी कोशी नदी र खाँडो नदीमा अत्यधिक बाढी आएका कारण जिल्लाको दक्षिणी भेगका देउरी भरुवा, तोपा, कजोली, लोनीया, सकरपुरा, रम्पुरा मलहनीया, इनरुवा र तिलाठी गाउँ पूर्णरुपमा डुबानमा परेको र त्यहाँका बासिन्दा गाईभैँसी, बाख्रालिएर सुरक्षित स्थान र सडकमा आएर खुला आकाशमुिन पानीमा भिज्दै बसेका छन् ।

उनीहरुलाई खाद्यान्न र त्रिपालको आवश्यकता रहेको छ । यसैबीच सप्तरीको इनरुवामा रहेको एउटा मुगा फर्मलाई बाढीले बगाएको छ । राजविराज– ७ स्थित पाँचवटा घर र कारागार छेउमा रमियादेवी मेहतरको दुईवटा घरसमेत बाढीले क्षतिग्रस्त भएको छ ।

त्यस्तै राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्णरुपमा जलमग्न भएको छ, भने कम्पाउण्डवालसमेत भत्केको छ र उद्योगको काम ठप्प भएको त्यहाँको प्रशासनले जनाएको छ ।
त्यहाँ रहेका मलेठ, रायपुर, रुपनी, पोवापिप्राही, शम्भुनाथ , तैरोहता वीरेनबजार बर्दाही बनैनीया पूर्णरुपमा जलमग्न भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालका प्रमुख जिल्ला अधिकारी कृषबहादुर कटुवालले पानीको बहाव नहुने क्षेत्रमा डोजर लगाएर पानी निकासको लागि बाटो काटने, नदी कटान क्षेत्रमा बोरामा बालुवा हालेर राख्ने र सुरक्षा निकाय तथा गैर सरकारी संस्थालाई सञ्चालन गरिएको जानकारी दिए ।

साथै क्षतिको विवरण समेत संकलन कार्य भइरहेको र उद्धार र राहत वितरणको कार्यसमेत भइरहेको छ, भने । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *