कलेजोमा मदिराको प्रभाव : महिलामा मदिराको गम्भीर असर

मदिरा सेवनका कारण संसारमा प्रतिवर्ष २.५ देखि ३ लाखको ज्यान जाने गरेको तथ्यांकले देखाएका छन् । यो समस्या १५ देखि ६० वर्षसम्मका पुरुषमा धेरै पाइएको छ । मदिराले शरीरका सम्पूर्ण अंग र प्रणालीलाई असर गर्छ । विशेष गरी रक्तसञ्चार, स्नायु तथा पाचन प्रणालीमा यसको असर बढी हुन्छ ।

कलेजो शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो । मदिराको मेटाबोलिज्म पनि यसैमा हुने गर्छ । अत्यधिक मात्रामा मदिरा सेवनले एसिटलडिहाइड जम्मा भएर कलेजोका कोषिकामा क्षति पुगेर अल्कोहोलिक लिभर डिजिज हुने गर्छ । नेपालमा कलेजो रोगको एक प्रमुख कारक मदिराको सेवन हो । कलेजोको रोग भएर अस्पताल पुगेको ६० प्रतिशत वयस्कले मदिरा सेवन गरेको देखिन्छ ।

एउटा अध्ययनले केसम्म देखाएको छ भने विकसित देशमा मदिराको प्रयोग र यसबाट हुने रोग घट्दो क्रममा छ भने विकासोन्मुख देशमा बढ्ने क्रममा । महिलामा मदिराको असर पुरुषमा भन्दा अझ गम्भीर हुने गर्छ । थोरै मात्राले पनि महिलामा छोटो समयमै मदिराका असर देखिन्छन् ।

मदिराबाट हुने कलेजो रोग
मदिराको सेवनबाट सुरुमा कलेजोको कोषमा चिल्लो जम्मा हुन थाल्छ । त्यसपछि अल्कोहोलिक हेपाटाइटिस, सिरोसिस र अन्त्यमा कलेजोको क्यान्सर हुने गर्छ ।

१.अल्कोहलले गर्दा हुने चिल्लो कलेजो

कलेजोको कोषिकामा बोसो दुई प्रकारले जम्मा हुने गर्छ– माइक्रोभास्कुलर स्टेटोसिस र म्याक्रो भास्कुलर स्टेटोसिस । यो समस्यामा कलेजोको एकदमै न्यून मात्रामा सुजन भएर आकारमा वृद्धि हुन्छ र बिरामीमा प्रायः कुनै लक्षण देखिँदैन । कलेजोमा रहेका इन्जाइमहरु अलिकति मात्रामा बढेका हुन सक्छन् । तर, बिलिरुबिन, प्रोथ्रोम्विन टाइम र एल्बुमिनको मात्रा सामान्य नै हुन्छ । मदिरा सेवन छोडेन भने अल्कोहोलिक हेपाटाइटिस र सिरोसिसमा परिणत हुने सम्भावना धेरै हुन्छ ।

२. मदिराबाट हुने अल्कोहोलिक हेपाटाइटिस

मदिराका कारण कलेजोको कोषहरु क्षय हुन्छन् । जन्डिस ९कमलपित्त०, ज्वरो आउने, वान्ता हुने, अस्वाभाविक रुपमा तौल घट्ने, कलेजोको आकार बढ्ने तथा छुँदा दुख्ने र कुपोषण हुनेजस्ता लक्षण देखा पर्छन् । साथै रगतमा एएलटी, एएसटी, जिजिटी र डब्लुबिसी काउन्ट बढ्ने हुन्छ एएसटीको मात्रा एएलटीभन्दा दुई गुणा बढी हुन्छ । प्रोथ्रोम्बिन टाइम बढी भएको र जन्डिस गाढा भएको बिरामीको उपचार सहज हँुदैन । तर, कहिलेकाहीँ अल्कोहोलिक हेपाटाइटिसमा कुनै लक्षण नदेखिन पनि सक्छन् । रगतमा जिजिटीको मात्रा बढ्दा पनि मदिराले कलेजोको क्षति गरेको बुभm्नुपर्ने हुन्छ ।

३.अल्कोहोलिक सिरोसिस

धेरै लामो समयसम्म मदिराको सेवनबाट कलेजोका कोषहरुको क्षति भई उक्त ठाउँमा खत बन्ने तथा कलेजोमा स–साना गिर्खा पैदा हुन्छन् । कलेजोको आकार पनि अनियमित भई भद्दा र खुम्चिने गर्छन् । आठ वर्षसम्म दैनिक १ सय ६० ग्राम मदिरा पिउनेमा सिरोसिस भएको पाइएको छ । कलेजोभित्रको रगतको प्रवाहमा अवरोध भएर कलेजोभित्र जाने रगतको चाप बढेर जान्छ, जसलाई पोर्टल हाइपर टेन्सन भनिन्छ । पोर्टल हाइपर टेन्सन भएको बिरामीमा स्पेलिनको साइज बढ्ने हुन्छ । खाने नलीको तल्लो भागको भित्री धमनीहरु फुटेर आउँछन् । यसलाई ओसो फ्यागेल भ्यारिसेस भनिन्छ । यिनीहरु फुट्न गएमा आन्द्रामा रक्तस्राव भई रक्तवमन वा कालो दिंसा हुने गर्छ । सिरोसिसमा देखिने अन्य चिह्नमा कमलपित्त, पेटमा पानी भरिने, खुट्टा सुन्निने, छालामा नीलडाम आउने, टेस्टेस सुक्ने, यौनेच्छामा कमी आउने हुन्छ । लोग्ने मानिसमा स्तन बढ्ने हुन्छ । पछि गएर बिरामीको मस्तिष्कमा पनि असर देखिन सक्छ, जसलाई हेपाटिक इन्सेफालोप्याथी भनिन्छ ।

४. कलेजोको क्यान्सर

लामो समयसम्म सिरोसिस भएको बिरामीमा कलेजोको क्यान्सर हुन सक्छ । क्यान्सर सुरु भएपछि बिरामीको अवस्था एकाएक बिग्रिन्छ । तर, कुनै अवस्थामा क्यान्सरको लक्षण नदेखिन पनि सक्छ । अल्ट्रासाउन्डबाट र रगतको परीक्षण पनि सिरोसिसका बिरामीमा क्यान्सर भएको यकिन गर्न सकिन्छ । सिरोसिस भएका बिरामीमा हेपाटाइटिस बी र सी पनि छ भने कलेजोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

मदिराबाट हुने कलेजोको रोगको शृंखला

बढी मात्राका जाँडरक्सीको प्रयोग बोसोयुक्त कलेजो अल्कोहोलिक हेपाटाइटिस सिरोसिस क्यान्सर
निको हुने रनिको नहुने

उपचार र व्यवस्थापन
प्रमुख उपचार मदिरा छोड्नु नै हो । यो नै उपचारको मुख्य आधार पनि हो । व्यवस्थापनको क्रममा निम्न कुरालाई विशेष ध्यान दिनु आवश्यक छ ;
१. मदिरा छोड्नका लागि प्रेरित गर्ने ।
२ .पोषणयुक्त खानेकुरा खानका लागि प्रोत्साहित गर्ने ।
३ .रोगको जटिलता आउन नदिने र जटिलता आएमा तुरुन्त उपचार गर्ने ।
४ .कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने ।

पोषक तत्वको उचित प्रयोग एवं खानपानबाट पनि यसको व्यवस्थापन गर्न सकिन्छ । लामो समयसम्म मदिरा सेवन गर्ने व्यक्तिहरुमा भोक नलाग्ने समस्या हुन्छ र यिनीहरु कुपोषणको सिकार हुन सक्छन् । प्रत्येक व्यक्तिलाई उनीहरुलाई प्रशस्त पोषक तत्व खुवाउनुपर्छ । जसले गर्दा शरीरमा सन्तुलित पौष्टिक तत्वको मात्रा पुग्न गई मांसपेशीको क्षतिलाई नियन्त्रण गर्न सकिन्छ । परापूर्वकालदेखि नै चल्दै आइरहेको आयुर्वेद उपचार पद्धति अल्कोहलिक लिभर डिजिजमा ज्यादै प्रभावकारी भएको पाइन्छ । चिराइतो, भुइँ अमला, पुननर्वा, कुट्की, गुडुची आदि जडीबुटीले कलेजोको कोषलाई रक्षा गर्छन् । चिकित्सकको सल्लाहबिना जथाभावी औषधि प्रयोग गर्नु अहितकर हुन सक्छ । तसर्थ बिरामीहरुले चिकित्सकको सल्लाहबमोजिम नै औषधि प्रयोग गर्नु राम्रो हुन्छ ।

डा. खगेन्द्रबहादुर बम,आयुर्वेद चिकित्सक, नरदेवी आयुर्वेद चिकित्सालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *