कृषि मन्त्रीको चुनाव जित्ने यस्तो छ दाऊ

साउन २७, काठमाडौं । मनसुन सक्रिय नहुँदा तराई–मधेसका केही जिल्लामा रोपाइँ हुन सकिरहेको छैन । समयमै रोपाइँ हुन नसक्दा यस वर्ष धानको उत्पादन घट्ने अनुमान गरिँदै छ । तर कृषिमन्त्री रामकृष्ण यादवले भने प्रदेश नम्बर २ को आसन्न स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने गरी किसानहरूलाई राहत दिने बताएका छन् । मन्त्री यादवले निर्वाचन हुन लागिरहेको २ नम्बर प्रदेशका ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालाई मात्र सुक्खाग्रस्त घोषणा गरेर सवा २० करोड राहत घोषणा गरेका हुन् ।

केही दिनअघि मात्रै मन्त्री यादवले २ नम्बर प्रदेशको ८ जिल्लाका किसानहरूलाई मात्रै राहत दिने घोषणा गरेका थिए । मन्त्री यादवले उक्त घोषणा आगामी असोज २ गते हुन लागिरहेको सो प्रदेशको स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने मनशायले आएको देखिएको छ । निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा कृषि मन्त्री यादवले मधेसका अरू सुक्खाग्रस्त जिल्लाका किसानहरूलाई राहत दिनेतिर कुनै चासो नदेखाई २ नम्बर प्रदेशका आठ जिल्लालाई मात्र सुक्खाग्रस्त ठहर गरेर किसानलाई राहत बाँड्ने कार्यक्रम ल्याएपछि त्यसले विवाद उत्पन्न गराएको छ ।

कृषि विकास मन्त्रालयका तथ्यांकअनुसार २ नम्बर प्रदेशका ४ जिल्लामा मात्र अपेक्षाकृत रूपमा रोपाइँ हुन सकेको छैन । त्यसरी कम रोपाइँ भएका जिल्लाहरूमा सिरहामा ५० प्रतिशत, धनुषामा ५०, महोत्तरीमा ४५ र सर्लाहीमा ५० प्रतिशत मात्र रोपाइँ भएको छ । तर सोही प्रदेशको पर्सामा ९९ प्रतिशत, बारामा पनि ९९ प्रतिशत र रौतहटमा ९० प्रतिशत रोपाइँ भइसकेको छ । तर कृषिमन्त्री यादवले भने चुनावलाई लक्षित गरेर पर्सा, बारा र रौतहटका किसानहरूलाई पनि स्यालो ट्युबेल जडान गर्न राहत दिने घोषणा गरेका छन् ।

पानी नपरेका कारण २ नम्बर प्रदेशबाहेक मधेसको मोरङमा ६५ प्रतिशत, बाँकेमा ८५ प्रतिशत र दाङमा ७५ प्रतिशत रोपाइँ हुन सकिरहेको छैन । मन्त्री यादवले रोपाइँ कम भएका यी जिल्लाका किसानका लागि राहतको कार्यक्रम घोषणा नगरेर ९० प्रतिशतभन्दा बढी रोपाइँ भएका २ नम्बर प्रदेशका रौतहट, बारा र पर्साजस्ता जिल्लाका किसानहरूलाई राहतको कार्यक्रम घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *