विदेशबाट फर्किएका युवाद्वारा सामूहिक कृषि पेशा शुरु

लमजुङ, २६ साउन । विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि पेशा शुरु गरेका छन् ।इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका युवाले सामूहिक कृषि व्यवसाय शुरु गरेका हुन् । उनीहरुले सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरमा आरभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी सञ्चालनमा ल्याई सामूहिक कृषि पेशा शुरु गरेका हुन् ।

कम्पनीका अध्यक्ष विनोद घिमिरेका अनुसार इजरायलमा सिकेको सीपले नेपालमा फर्किन प्रेरित गरेको र त्यहीँको प्रविधि अपनाउँदै नेपालमा नमूना कृषि परियोजना सञ्चालन गरिएको हो । “हामीसँग मरुभूमिमा फल फलाएको अनुभव छ, अब आफ्नै माटोमा त्यसको प्रयोग गछौँ,” उहाँले भन्नुभयो ।


तरकारी खेतीका साथै गाई, बाख्रा, कुखुरा, हाँस, माछापालन कृषि तालिम केन्द्र सञ्चालन गर्ने योजना रहेको घिमिरेले बताउनुभयो । व्यावसायिक र सामूहिक कृषिसँगै कृषि पर्यटनको विकास गर्ने लक्ष्य उनीहरुको छ । करिब रु १७ करोड लगानी गर्ने सो व्यवसायका लागि रु तीन करोडभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ । कृषिका लागि २२० रोपनी जग्गा खरिद गरी भौतिक संरचना निर्माण गरिएको हो ।

कृषि फार्ममा १०० वटा गाई पाल्न सक्ने गोठ, ३०० बाख्रा पाल्न सक्ने आधुनिक खोर, १० हजार कुखुरा पाल्न सक्ने कुखुराको खोर निर्माण गरिएको सञ्चालक कृष्णप्रसाद बजागाईंले बताउनुभयो । अझै जग्गा खरिद गर्ने योजना छ । नेपाल फर्किएपछि देशका लागि कृषि क्षेत्रमा केही नमूना काम गर्ने लक्ष्यसहित इजरायलमा कृषि अध्ययनकै क्रममा सो परियोजनाको खाका तयार पारिएको सञ्चालक देवराज आचार्यले बताउनुभयो । पछिल्लो समय स्थानीयवासीले जग्गा उपलब्ध गराएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *