उत्तर कोरियालाई अमेरिकाको चेतावनी: ‘सत्ताको पतन तथा देशको विनास हुनसक्छ’

काठमाडौं, साउन २६ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले आफ्नो विनासको बाटो आफैं नबनाउन उत्तर कोरियालाई चेतावनी दिएका छन् ।

रक्षामन्त्री म्याटिसले उत्तर कोरियाले गरिरहेका पछिल्ला गतिविधि उसकै लागि घातक हुनसक्ने चेतावनी दिएका हुन् ।

उनले उत्तर कोरियाको यस्तै गतिविधि कायमै रहेमा उसको शासन सत्ताको पतन तथा देशको विनास हुन सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रक्षा मन्त्री म्याटिसले युद्धको अवस्था आएमा अमेरिका र अमेरिकाका सहयोगीसँग संघर्ष गर्न सक्ने अवस्था उत्तर कोरियाको नरहेको भन्दै अवस्था निकै घातक बन्ने भएकाले सचेत रहन चेतावनी दिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले आगो तथा आक्रोशसँग खेलिरहेको र यो उसका लागि घातक हुने चेतावनी दिएको भोलिपल्टै रक्षामन्त्री म्याटिसको कडा चेतावनी आएको हो ।

एक महिनाको अवधिमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले अमेरिकाका सबै मुख्य क्षेत्रमा आफूले आक्रमण गर्न सक्ने बताएपछि तनाव बढेको छ ।

यस्तै प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा क्षेप्यास्त्र आक्रमण गर्नेबारे तयारी भइरहेको उत्तर कोरियाको भनाई छ । यसले गर्दा दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *