इलाममा ६ करोडको लगानीमा चिया कारखाना स्थापना

साउन २५, इलाम । उन्नति समावेशी परियोजनाको सहयोगमा ६ करोड रुपैयाँ लगानीमा सिद्धदेवी टिस्टेट कम्पनी प्राइभेट लिमिटेडले चिया प्रशोधन गर्ने कारखाना निर्माण सुरु गरेको छ । आउँदो असोज महिनादेखि सन्चालनमा अाउने कारखानाले हरियो पत्ति प्रशोधन गर्ने लक्ष्य लिएको प्रबन्धक लोचन खत्रीले जानकारी दिए । कारखानाबाट दैनिक ५०० किलो शुद्ध अग्र्यानिक चिया उत्पादन हुने अपेक्षा गरिएको छ । कारखानामा १०० जना कामदार रहने कम्पनीले जनाएको छ ।
वि सं २०४८ साल देखि यस क्षेत्रका विभिन्न स्थानबाट बिरुवा संकलन गरी चियाखेती सुरुवात गरिएको थियो । हाल धेरै जसो आफ्नै बगानको बेर्ना उत्पादन हुने र अपुग बिरुवा इलाम पानीटार बगानबाट ल्याउने गरिएको म्यानेजर खत्रीले बताए ।
फाकफोकमा तक्दा, बेनेकबोन, गुप्ती, चाइनिज चियाका बिरुवा लगाइएको छ । यो बगानले कञ्चनजंघा टिस्टेट प्रा लि पाँचथरलाई हरियो चियापत्ती बिक्री गर्दै आएको थियो । आगामी दिनमा यस बगानबाट उत्पादित चियालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग समन्वय गरी अग्र्यानिक परीक्षणपछि जर्मनी, अमेरिका, जापानलगायत मुलुकमा बिक्रीका लागि पहल गरिने खत्रीले बताए ।
एक हजार २०० रोपनी क्षेत्रफलमा रहेको चिया बगानको केही ओसिलो ठाउँमा अलैँचीसमेत लगाइएको छ । सडक वरिपरि सल्लो तथा बगानको छेउमा अर्गेली लगाइएको छ । सीमावर्ती पाँचथरको फाल्गुनन्द ४ कृषक चन्द्रकुमार नेम्वाङले निजी लगानीमा ४५ रोपनी क्षेत्रफलमा चिया लगाएका छन् । उनले यहाँबाट अग्र्यानिक चिया उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन् । यस अघि ग्रामीण क्षेत्रमा कारखाना नहुँदा किसानले हरियो पत्ती उत्पादनमा घाटा व्यहोर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *